


भारतीय नागरिकको हत्या प्रकरणपछि दार्चुलामा नेपाल–भारत सीमा पुल बन्द

दार्चुला- नेपाल–भारत सिमानामा पर्ने महाकाली नदीमाथिको झोलुंगे पुल भारतीय पक्षले बन्द गरेपछि दार्चुला सदरमुकाम र भारतको धारचुलाबीचको आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार एक जना भारतीय नागरिकको हत्या घटनासँग सम्बन्धित व्यक्तिहरू नेपाल भागेको आशंकामा भारतीय नागरिकहरूले दबाबस्वरूप पुल बन्द गरेका हुन्। “भारतको धारचुलामा भएको हत्यामा संलग्न दुई व्यक्ति नेपाल आएका छन् भन्ने अपुष्ट जानकारी छ। हामी पनि खोजीमा छौं तर अहिलेसम्म पत्ता लागेको छैन,” प्रमुख जिल्ला अधिकारी पौडेलले भने।
उनका अनुसार बाटो बन्द गर्ने निर्णय भारत सरकारको हैन, धारचुलाका स्थानीय नागरिकहरूले आफ्नै सरकारलाई दबाब दिने उद्देश्यले गरेको आन्दोलन हो। भारतीय धारचुलाका डिस्ट्रिक्ट मजिस्ट्रेटसँग पुल पुनः खुलाउने विषयमा समन्वय भइरहेको उनले बताए।
भारतीय नागरिकहरूले आज बिहान ११ बजेदेखि प्रदर्शन गर्दै आएका छन्। केहीबेरका लागि खोलिएको पुल फेरि बन्द गरिएको छ। घटनाको पृष्ठभूमिमा, जुन ७ तारिख धारचुलाका कमलेश दानुको चक्कु प्रहार गरी हत्या भएको थियो।
हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनुवाल समुदायका अध्यक्ष गुमान सिंह विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पिथौरागढका उपजिल्ला अधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाएको थियो। साथै, उनले धारचुला बन्दको साथै नेपाल–भारत सिमाना बन्द गर्ने घोषणा गरेका थिए।

