‘हजुर ! मलाई कठिन यात्रा गर्न मन छ’


खै किन किन मलाई जीवनमा कठीन यात्रा गर्न मन छ
दुःख सारा संसारको लिएर मलाई दुःखसँग हाँस्न मन छ ।

उक्त हरफ आजभन्दा ५ वर्ष अघि एउटा कागजको टुक्रामा ‘कठिन यात्रा गर्न मन छ’ लेखेर सामाजिक सञ्जालमा पोस्ट गरिएको कविताको एक हरफ हो । उक्त कविताकी रचयिता राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी डा. तोसिमा कार्की यतिबेला चर्चाको शिखरमा छिन् ।

‘जनता जनार्दन हुन्’ भन्ने सत्यतालाई गत स्थानीय निर्वाचनमा काठमाडौं महानगर, धरान उपमहानगर, धनगढी उपमहानगरका जनताले पुष्टी गरिसकेका छन्, र त्यही मेसोमा यसपटक ललितपुर-३ का मतदाताहरु रहेका देखिन्छन्, तोसिमाप्रतिको उनीहरुको माहौल देखेर ।

एकल बलबूताले निर्वाचनमा होमिने घोषणा गरेकी तोसिमाले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएसँगै सोही पार्टीमा समाहित हुने निर्णय गरिन् र उम्मेदवारी दिइन् । उनको उम्मेदवारीसँगै ललितपुर-३ को चुनावी माहौलमा थप सरगर्मी थपियो । जसले गर्दा त्रिपक्षीय भिडन्त हुने निश्चित देखियो ।

ललितपुर-३ मा कांग्रेस एकल बहुमत नजिक रहेको अवस्थामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रले टिकट लियो, र उम्मेदवारी दिइन् उर्जामन्त्री पम्फा भुषालले । ललितपुर महानगरका २० र गोदावरी नगरपालिकाका २ वटा वडा रहेको निर्वाचन क्षेत्र नं. ३ मा विशेष गरी नेवारी समूदायका मानिसहरुको बाहुल्यता रहेको छ । तर, यसपटकको निर्वाचनमा गठबन्धनका साथै नेकपा एमालेले पनि गैर-नेवार उम्मेदवारलाई टिकट दिएका छन् । नेवारी समूदायको निर्णायक मत रहेको उक्त क्षेत्रमा प्रमुख उम्मेदवारहरु सबै गैर-नेवार रहेकोले यसपटक नेवारी समूदायको मत कसले तान्ने भन्नेमा प्रतिस्पर्धा देखिएको छ ।

गत स्थानीय निर्वाचनमा उक्त क्षेत्रको महानगरका २० वटा वडामध्ये गठबन्धन दलले १० वटा वडामा जित हात पारेका छन् भने ८ वटामा एमाले र २ वटामा स्वतन्त्र वडाध्यक्षले जित हात पारेका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी पम्फा भुषाल कांग्रेसकै मतले जित्ने आशा राखेकी छिन् । तर, उनी यही क्षेत्रबाट २ पटक सांसद र ४ पटक मन्त्री भइसकेको अवस्थामा पनि खासै ललितपुरबासीले प्रभावशाली काम भने देख्न नपाएको गुनासो गरिरहेका छन् ।

त्यस्तै स्वतन्त्रले कांग्रेसको मत काट्ने अड्कल गर्दै एमालेबाट उम्मेदवारी दिएका अमृत खड्का पनि साविक सैंबु गाविसका पूर्वअध्यक्ष हुन् भने पछिल्लो समय म्यानपावर व्यवसायी पनि हुन् । पछिल्लो समय व्यापार व्यावसायमा लागेका खड्कालाई विरोधीहरुले म्यानपावरको आडमा पैसा लिएर टिकट पाएको आरोप पनि लगाउने गरेको पाइएको छ ।

तर, विद्यार्थी कालदेखि नै समाजमा फरक छाप छाड्नुपर्ने लक्ष्यका साथ अगाडि बढेकी तोसिमाले हुँदा छँदाको जागिर छाडेर समाज परिवर्तनका लगि राजनीतिमा होमिइन् । सर्जनको रुपमा पाटन अस्पतालमा जागिर खाँदा खाँदै राजनीतिमा होमिएकी तोसिमाको पक्षमा विस्तारै जनमत बढ्दै गइरहेको सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा भरिएको उनको समाचारले प्रस्ट्याएको छ ।

उनको क्षेत्र अधिकांश ललितपुरको सहरी क्षेत्र परेको हुनाले यसपटक ललितपुर सहरबासीहरुले धरान र काठमाडौंका जनताले जस्तै ‘विद्रोह’ गर्ने लक्षण देखिएको छ । विद्रोह यस मानेमा कि परम्परागत राजनीतिक दलहरुलाई पाखा लगाएर उम्मेदवार हेरेर मतदान गर्ने लय समात्ने देखिएको छ । हुन तः उनले पनि एउटा राजनीतिक दलबाट उम्मेदवारी दिएको भए पनि उनी राजनीतिक दलभन्दा पनि ललितपुर–३ की उम्मेदवार बनेर चिनिएकी छिन् ।

‘हामी सधैं एमालेलाई मत दिने हौं, तर यसपटक हाम्रो पुरै परिवारसहित दाजुभाई समेतको १७ मत तोसिमालाई जाने भयो, विदेशबाट छोराछोरीले ‘कसम’ नै खुवाएका छन्, के गर्नु ?

यसपटक उनले ५ वर्षअघि नै ‘कठिन यात्रा गर्न मन छ’ भनेर लेखेकी थिइन्, त्यस्तै यात्राका लागि उनले लेखेजस्तै यात्राका लागि अगाडि बढेकी छिन् । राजनीतिमा जे पनि सम्भावना छ भन्ने यथार्थतालाई अँगाल्दै ललितपुर–३ बासीले यसपटक तोसिमालाई अत्याधिक मत दिए भने अनौठो मान्नुपर्ने देखिँदैन, किनभने पूर्वको धरान, छिमेकी काठमाडौं र सुदूर पश्चिमको धनगढीले ताजा उदाहरण पेश गरिसकेको छ ।

उनले आफ्नै मेयर चिरीबाबु महर्जनसँग भेट गरेर राजनीतिक संस्कार सिक्न चाहेको खण्डमा उनलाई चुनाव अघि र निर्वाचित भइसकेपछि काम गर्नलाई सहज हुनेछ भन्ने आँकलन आम जनताको बुझाई रहेको छ । उनले निर्वाचन जिते पनि वा नजिते पनि चिरीबाबु महर्जनसँग सहकार्य गर्नुपर्ने स्पष्ट नै छ, किनकी उनको क्षेत्रको मेयर भनेकै चिरीबाबु हुन् । यदि चिरीबाबु महर्जनले एकपटक तोसिमालाई शुभकामना मात्रै दिए भने पनि त्यो शुभकामना तोसिमाका लागि संसद् छिर्ने शुभकामना बन्न सक्छ ।

डा. तोसिमालाई यसपटकको निर्वाचनमा थोरै सहायक निर्वाचन आयोग र सर्वोच्च पनि बने । किनकी विभिन्न प्रसंगमा उनी सञ्चारमाध्यममा छाइरहने अवसर पाइन् । जसले गर्दा उनलाई जनतासम्म चिनाउनका लागि धेरै मेहेनत गर्नुपरेन । कुनै पनि उम्मेदवार दिन चाहेको व्यक्तिले उम्मेदवारी दिनुपूर्व नै लिखित निवेदन दिएर आफू निर्वाचनका लागि योग्य छु÷छैन भनेर योग्यताको पूर्वपरिक्षण गरिसकेको अवस्थामा उजुरीको समयावधिपछि निर्वाचन आयोगले तोसिमाविरुद्ध गरेको कारबाहीले उनको चुनावी अभियान थप सशक्त बनेको आभाष हुन्छ ।

उम्मेदवारी कायम रहेको सर्वोच्चको आदेशपछि पुनः आयोगले सर्वोच्चको आदेशविरुद्ध पुनः सर्वोच्च नै गएपछि उनलाई थप बल पनि पुग्यो । आफ्नै आदेशविरुद्ध परेको निवेदनमा सर्वोच्चले अन्तिम निर्णय गरेसँगै सोमबारदेखि  तोसिमाको उम्मेदवारी पक्का भइसकेको छ । यतिका दिनसम्म आइपुग्दा तोसिमालाई ललितपुर क्षेत्र नं. ३ का मतदाताले मात्र नभई देशैभरका मतदाताहरुले चिन्ने अवसर पाएका छन् ।

उनको क्षेत्र सहरी क्षेत्र परेको र अधिकांश मतदाताका सन्तानहरु विदेश रहेकाले यसपटक पनि काठमाडौं महानगर मेयर बालेनलाई जस्तै विदेशबाट छोराछोरीहरुले आफ्ना अभिभावकलाई प्रेसर’ दिएको जनाइएको छ– जसरी पनि एक भोट तोसिमालाई भनेर । उनको निर्वाचन क्षेत्र धापाखेलका एक मतदाता भन्छन्, ‘हामी सधैं एमालेलाई मत दिने हौं, तर यसपटक हाम्रो पुरै परिवारसहित दाजुभाई समेतको १७ मत तोसिमालाई जाने भयो, विदेशबाट छोराछोरीले ‘कसम’ नै खुवाएका छन्, के गर्नु ?

प्रतिक्रिया