अडानमा अडिग धानुकलाई ‘भ्याली कमाण्ड’

दुई वर्षदेखी खस्किएको शान्तिसुरक्षामा आउला त सुधार?


काठमाडौं – सरकारलेमुलुककै सबैभन्दा संवेदनशील र महत्वको ठाउँ मानिएको संघीय राजधानी काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र धानुकलाई सुम्पिएको छ । सोमबार बसेको मन्त्री परिषद्ले एआईजीहरुको बढुवा र पदस्थापनासँगै धानुकलाई ‘भ्याली कमाण्ड’को जिम्मा लगाएको हो ।

संगठनमा ‘काबिल’ अधिकृतका रुपमा परिचित धानुकमा  बढुवासँगै उपत्यकाभित्रको सुरक्षा व्यवस्थाको चुस्तता र आपराधिक क्रियाकलापलाई निमिट्यान्न पार्ने जिम्मेवारीसमेत थपिएको छ ।

पछिल्लो समय राजनितिक अस्थिरतासँगै प्रहरी संगठनमा निर्वतमान आईजी शैलेश थापा क्षेत्रीको कमजोर कमाण्डका कारण संगठनको साख गिर्ने क्रममा रहेको अवस्थामा प्रहरी संगठनमा एकपछि अर्को उत्कृष्ट बढुवा र पदस्थापनको निर्णय गरेसँगै सरकार शान्तिसुरक्षा, अमनचयन र संगठनप्रति सरकारले ठूलो आशा राखेको प्रष्ट भएको छ ।

संगठनको नेतृत्व लिएका थापाको कमजोर कमाण्डका कारण संगठनमा राजनीतिक हस्तक्षेपसँगै उपत्यकामाअपराधिक क्रियाकलाप पनि मौलाउँदै गएको अवस्थामा सरकारले संगठनका साथै उपत्यकाका लागि पनि नयाँ कमाण्ड खटाएको छ ।

तत्कालिन आईजी सर्वेन्द्र खनालको अवकाशसँगै राजधानीलगायत देशैभर आपराधिक गिरोह सल्बलाएका थिए । विगत दुईवर्ष यता राजधानीमा मौलाएको अपराधलाई निर्मूल पार्ने जिम्मेवारी एआईजी रविन्द्र धानुकले पाएका छन् । संगठनको निवर्तमान नेतृत्वका कारण लथालिंगर अस्तव्यस्त भएको संगठनको साख जोगाउने वर्तमान नेतृत्वको अभियानमा साथ दिनेगरी धानुकले जिम्मेवारी पाउनु संगठनभित्र कम राजनीतिक हस्तक्षेप र मुलुकको शान्तिसुरक्षाको अवस्थामा सुधारको संकेत पनि हो ।

यसअघि ललितपुर परिसर र काठमाडौं परिसरको जिम्मेवारी लिई उत्कृष्ट कार्यसम्पादन गरिसकेका धानुक उपत्यकाको वस्तुस्थितिबारे पूर्ण जानकार छन् । नेपाल प्रहरीको इतिहासमा उपत्यकाका प्रमुख जिल्ला ललितपुर र काठमाडौं परिसरको जिम्मेवारी सम्हालेका धानुक पहिलो प्रहरी अधिकृत पनि हुन् । यसैबाट पनि उनको क्षमता, दक्षता अनि कमाण्ड पुष्टी हुन्छ ।

तत्कालिन डिआईजी नवराज सिलवाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले हिरासतमा लिएर कारवाही गर्न निर्देशन दिँदासमेत धानुकले प्रधानमन्त्री कै आदेश मानेका थिएनन् । सिलवाललाई हिरासतमा लिनुभन्दा अगाडि संगठनकै कर्मचारी प्रशासनका एसपी विश्वराज पोखरेललाई हिरासतमा लिनुपर्ने उनले जवाफ दिएका थिए । धानुकको उक्त अडानकै कारण काठमाडौं परिसरबाट सरुवा भएको थियो ।

उक्त समयमा धानुकले हिरासतमा लिइनु पर्ने भनिएका पोखरेललाई उल्टै सरकारले पुरस्कारका रुपमा काठमाडौं परिसरको जिम्मेवारी दिएको थियो । ‘पहिलो मिसन’का रुपमा सिलवाललाई कारबाही गर्ने बाचा गर्दै पोखरेल धानुकलाई हटाउँदै काठमाडौं परिसर आएका थिए ।

प्रधानमन्त्री कै भएपनि गैरकानुनी आदेश नमान्ने एआईजी धानुकको अडानले त्यसबेला राजनीतिक वृत्तदेखी प्रहरी संगठनभित्र राम्रै भुँईचालो गएको थियो ।

एआईजी धानुकलाई पछिल्लो समय उपत्यकामा संगठीत रुपमै अवैध जुवा, मिटरब्याज, सहकारीको नियोजित ठगी, संगठित रुपमा सुुन तस्करी, वेश्यावृत्तिको र्याकेट, क्लब र डिस्कोथेकमा दिनहुँ बाउन्सरबाट गेस्टको रामधुलाई, वृत्तका प्रहरी असुलीमा व्यस्त जस्ता संगठीत अपराधको जालो च्यात्न चुनौति पनि देखिएको छ ।

त्यस्तै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा एआईजी उत्तम सुवेदीका पदस्थापना गरिएको छ । संगठनभित्रका अर्का सफल अधिकृत सुवेदीले सबैभन्दा महत्वपूर्ण मानिएको संगठनको विभाग सम्हाल्दै गर्दा नेपाल प्रहरीमा सुधारको संकेतसँगै अपेक्षा पनि गर्न सकिन्छ ।

नेपाल प्रहरी संगठनभित्र एआईजीको यी दुई विभागलाई महत्वका साथ हेर्ने गरिन्छ । उपत्यकाको शान्तिसुरक्षालाई मजबुत बनाउन र देशभरका अपराध अनुसन्धान तथा रोकथाम गर्ने विभागको रुपमा स्थापित सिआईबीले प्रहरी संगठनको मात्र नभई सरकारकै साख जोगाउँदै आएको छ ।

अतः पछिल्लो नेतृत्व र केही ‘अवशसरवादी’ अधिकृतहरुका कारण गिर्दै गएको संगठनको साख जोगाउने अभियानमा लागेका वर्तमान नेतृत्व र मुलुकप्रति बफादार रही सरकार र संगठनले दिएको जिम्मेवारीमा पूर्ण सफल हुने अपेक्षा समेत यी दुई सफल र अडानमा अडिग अधिकारीसँग गर्न सकिन्छ ।

प्रतिक्रिया