प्रहरीका पूर्वअसई केसीसँग ‘अकुत सम्पत्ति’


काठमाडौं– नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरिक्षक (असई) ध्रुव केसीसँग अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।

उनी र परिवारका नाममा विभिन्न ठाउँमा रहेका लगानीको स्रोतबारेको विवरणले पनि यो आरोपलाई पुष्टि गरेको छ । ७ बर्षअघिसम्म सामान्य आर्थिक हैसियतमा रहेका केसीसँग अहिले अकुत सम्पत्तिका स्रोत रहेको बताइन्छ ।

काठमाडौं र पोखरामा रहेको किंग्स लङमा पनि उनको ठूलो हिस्सेदारी रहेको खुलेको छ । लामो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेका उनी हालै मात्र सेवाबाट स्वेच्छिक अवकास लिने मध्येका हुन् ।

केसीले ठूलो रकम मिटरव्याजमा लगानी गरेका छन् । कतिपयलाई रकम लगानी गरी केसीले दुख दिने गरेको स्रोतले बतायो । स्रोतको दाबीअनुसार काठमाडौंका केही व्यापारीलाई केसीले मिटरब्याजमा पैसा लगाई उठिबास नै बनाउने तयारी गरेका छन् ।

अलाइभ उपनामले चिनिने किसन राई र उनका दाजु संगम राईलाई रकम दिएर एक करोड भन्दा बढीको चेक केसीले राखेका छन् । यी दाजुभाईसँगबाट मात्रै मिटरव्याजमा लगाएको पैसाको करोडौं ब्याज नै असुल गरिसकेको बताइन्छ ।

राई दाजुभाईको पोखरामा रहेको किंग्स लङको शेयर पनि केसीले ब्याजका नाममा नै हडपेको बताइन्छ । केसीले यस्ता शेयर पत्नी रोजीना भण्डारी केसीका नाममा राखेका छन् । केसीले किंग्स लङ काठमाडौंको १६ प्रतिशत र पोखराको २६ प्रतिशत शेयर लिएका छन् । किंग्स लङ ठूलो लगानीको त्यहि स्थान हो जहाँ अकास्मात पूर्वराजा ज्ञानेन्द्र शाह र परिवार पुगी नाचेको थियो ।

राई दाजुभाई मध्येका एलाइभ रिचार्जर वेभका सञ्चालक तथा न्युरोड युवा विकासका अध्यक्ष हुन् । न्युरोडमा सिटीभी मोबाइलका मालिक दाजुभाईको उक्त व्यापार दरबारमार्ग र चाबहिलमा पनि छ ।

उच्च स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त पदबाट हालै अवकाश पाएका नवीन घिमिरको संरक्षणमा केसीले ‘आर्थिक उत्पात’ मच्चाएका हुन् । घिमिरेको अवकाशसँगै केसीले पनि प्रहरी सेवाबाट अवकाश लिएको बताइन्छ

करोडको गाडी, झापा चितवनमा जग्गा !

एउटा पूर्वअसई साधारण जीवनयापन भन्दा कयौं माथिल्लो आर्थिक हैसियतमा रहेको उदाहरण हुन् केसी । यस्तो आर्थिक हैसियत बनाउने स्रोतका रुपमा प्रहरीमा हुँदा गरेका कतिपय संगत र ‘अवैधानिक आर्थिक सम्बन्ध’को परिणाम रहेको बताइन्छ ।

केसीले बर्षैपिच्छे करोड भन्दा बढी पर्ने गाडी फेर्ने गरेका छन् । हालै मात्र झापाको विर्तामोड र चितवनमा महँगो मूल्यमा जग्गा खरिद गरेका केसीको कारोबार भने नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकमार्फत हुने गरेको विवरणमा उल्लेख छन् ।

काठमाडौं बनस्थलीमा नर्सरी चोकमा आलिसान महल बनाएर बसेका केसीले प्रहरीका हाकिमदेखि सबैलाई आफूले मिलाएको भन्दै मिटरब्याजको धन्दालाई तिव्रता दिने गरेको बताइन्छ ।

उच्च स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त पदबाट हालै अवकाश पाएका नवीन घिमिरको संरक्षणमा केसीले ‘आर्थिक उत्पात’ मच्चाएका हुन् । घिमिरेको अवकाशसँगै केसीले पनि प्रहरी सेवाबाट अवकाश लिएको बताइन्छ ।

अस्वभाविक आम्दानीकर्ताका समानान्तर

सरदरमा एउटा सुब्बा सो–सरहको जागिरमा रहेका पूर्वअसईले १६ बर्ष प्रहरीमा काम गर्दा पाएको सेवा सुविधा र मिशनसमेतको रकम जोड्दा ४० लाख समेत जम्मा पार्न मुस्किल हुन्छ, अन्य सम्पत्तिको त कुरै छैन । तर, केसीसँग एक करोड मूल्य पर्ने त गाडी मात्रै छ, करोडौंका शेयर लगानी पनि छन् ।

केसीको सम्पत्ति विवरण अख्तियारले नै छानबिन गरेका कतिपय अस्वभाविक आम्दानीकर्ताको जस्तै देखिएको छ । यसरी अस्वभाविक आम्दानी गर्ने मध्येका मालपोत कार्यालयका लेखापाल युगल किशोर ठाकुरलाई अख्तियारले पक्राउ गरेको थियो । जसले ८ बर्षमा नै तीन करोड भन्दा बढीको सम्पत्ति जोडेका थिए ।

यस्तै, यातायात व्यवस्था कार्यालय कोशी इटहरीका लेखापाल सुरेश अधिकारीसँग झन्डै ६ करोड रुपैंया रहेको भनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारमा नै लामो समय बसेका केसीको सम्पत्ति विवरणको पनि खोजीनीति हुनुपर्ने बताइन्छ ।

‘यस्तो अस्वभाविक आम्दानी कहाँबाट कसरी भयो भन्ने विषयको खोजीनीति हुन्छ । त्यस्ता विषयमा उजुरी परेको खण्डमा छानबिन हुनेछ’, अख्तियारका एक जना अधिकारी भन्छन्,‘भ्रष्टाचार गरेको वा बदनियतपूर्ण हिसाबले कमाएको ठहर भएमा कारबाही प्रक्रिया अघि बढ्छ ।’

केसीमाथि लागेको अभियोगका विषयमा बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

प्रतिक्रिया