

तस्करसँग लाइन मिलाउने प्रहरीलाई मधेश प्रदेशका डिआईजीको संरक्षण !

काठमाडौं – दुई दिनअघि आर्थिक कारणले विवादमा मुछिएको भन्दै प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईलाई फिर्ता बोलायो।
‘विवादित छवि’ र कार्यसम्पादन कमजोर भएको हुनाले प्रसाईलाई सर्लाहीको इन्चार्जबाट हटाइएको प्रहरी प्रधान कार्यालयको भनाइ छ। आर्थिक लेनदेनको कुरा उठ्नासाथ प्रधान कार्यालयले चासो राख्ने गर्छ।
हुनपनि पछिल्लो समय मधेस प्रदेशमा कार्यरत अधिकांश प्रहरी कर्मचारीहरु आर्थिक लेनदेनमा मुछिने गरेका छन्। त्यस्तै सर्लाही जिल्ला पनि मधेश प्रदेशमै पर्छ।
सर्लाहीमा मात्र होइन, मधेस प्रदेशको अधिकांश जिल्ला इन्चार्जहरु आर्थिक लेनदेनमा मुछिने गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले अनलाइनन्युज७लाई बताए।
ती अधिकृतले भने, ‘सबै जिल्ला इन्चार्जहरु त्यस्तो पनि हुँदैनन्। तर केही जिल्ला इन्चार्जहरु पैसाको लागि जस्तोसुकै काम गर्न पनि पछि हट्दैनन्। उनीहरुले पैसा उठाउनको लागि विशेष टोली नै परिचालन गर्ने गर्छन्।’
सर्लाहीपछि जिल्ला प्रहरी कार्यालय बाराका एसपी दिलिप सिंह देउवाले वर्तमान सरकारलाई नै बदनाम गराउँदै हिँडेको पाइएको छ। उनले प्रधान कार्यालयले सरुवा गरेको व्यक्तिलाई पुनः ल्याएर पैसा उठाउनको लागि प्रयोग गरेको स्रोतले बतायो।
स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजू राणा र स्वकीय सचिव भानु देउवाको आडमा एसपी देउवाले तस्करीको लाइन खुलाउनुको साथसाथै तस्करीबाट आएको रकमबाट एमाले पत्रकारहरुलाई पालेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार र नेपाली कांग्रेसलाई नै बदनाम गराउँदै एसपी देउवा हिँड्ने गरेको बारा जिल्लाका कांग्रेसी नेताहरुको गुनासो छ।
एपसी देउवाले तस्करीबाट रकम असुल्न रौतहट घर भएका एमाले नेता प्रभु साहका नातेदार फतुवा बिजयपुर नगरपालिका-१ बैरगनिया निवासी बिन्दा साह कलावरका छोरा प्रहरी जवान संजय जैसवाललाई प्रयोग गर्दै आएका छन्।
केही दिन पहिला प्रहरी प्रधान कार्यालयले जैसवाललाई बारामा घुमुवा बसेर तस्करसँग व्यापक रकम असुली गरेको गुनासोको आधारमा ढल्केमा रहेको नेपाल प्रहरीको दंगा नियन्त्रण गणमा सरुवा गरेको थियो।
क्राइम ब्रान्चमा बसेर रकम असुली उठाउने गरेका जैसवाललाई दंगामा नपठाएर एसपी देउवाले बारामै रोकेर तस्करसँग रकम असुली गराउने कार्यमा पुनः खटाएको पाइएको स्रोतले बतायो।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको आदेशमा जैसवाललाई गत चैत १३ गते बाराबाट रवाना दिएर दंगामा हाजिर हुन पठाइएको थियो।
तर, प्रधानमन्त्री देउवापत्नी आरजू र स्वकीय सचिव भानुको धाक लगाउँदै एसपी देउवालाई दंगामा बाराबाट रवाना दिएर पठाइएका जैसवाललाई बीच बाटोबाट बोलाएर घुमुवामा परिचालन गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी अधिकृत भन्छन्, ‘मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक संकलन कार्यमा खटाउँदै आएका जैसवाललाई दंगा नियन्त्रण गणमा पठाउने आईजीको आदेशको अवज्ञा गरेको छ।’
एसपी देउवाले जैसवाललाई अहिले पर्साको वीरगञ्जमा बसेर बाराबाट तस्करी गर्ने तस्करसँग रकम उठाउने काममा लगाएको ती अधिकृतले बताए। काज सरुवा गरेको पत्र बारामा पठाइएपनि एसपी देउवाले जैसवालाई चैत १० गतेको मितिमा निवेदन दिएर १० दिनको बिदा दिएका छन्।
आईजी क्षेत्रीले आगामी १९ वैशाखमा अवकाश पाउँदैछन्। अवकाश मिति नजिँकिदै गएको हुनाले तिमीलाई कसैले केही गर्न नसकिने भन्दै मधेस प्रदेशका प्रहरी प्रमुखको निर्देशनमा एसपी देउवाले जैसवाललाई बिदा दिएको पाइएको हो।
मधेश प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) हुन् उमेश रन्जितकार। तिमीले गर्दै आएको कामहरु गर भनेर डिआईजी रन्जितकारले निर्देशन दिएपछि जैसवाललाई दंगामा नपठाउन घुमुवामा राखिएको हो।
त्यतिमात्र होइन, डिआईजी रन्जितकारले समेत प्रदेशबाट छुट्टै टोली परिचालन गरेर पैसा उठाउने गरेको समाचार अनलाइनन्युज७ले यसअघि नै प्रकाशित गरिसकेको थियो।
डिआईजी रन्जितकार हालका आईजी क्षेत्रीका ब्याचमेट हुन्। ब्याचमेट भएकै कारण आईजी क्षेत्रीले रन्जितकारलाई केही गर्न नसकेको प्रहरी प्रधान कार्यालयभित्र चर्चा छ।
रन्जितकार त्यसो त नेकपा एमालेसँग नजिक छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीपत्नी राधिका शाक्यको नाम जोडेर आफूलाई सालो बताउँदै आउने गरेका छन्।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) शोभम राणा र प्रहरी नायब निरीक्षक (सई) सागर राणा परिचालन छन्। इन्स्पेक्टर राणाको दरबन्दी सप्तरी भएपनि उनी २ वर्षदेखि पर्सामा छन्।
त्यस्तै सई राणा १६ वर्षदेखि वीरगञ्ज र बारामा मात्रै बस्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय पर्सामा ३५० भन्दा बढी प्रहरी कर्मचारीहरु विगत १५ वर्षदेखि काजमा रहेका छन्।
पर्सा जिल्लामा दरबन्दी भएका कर्मचारीहरुलाई पर्सा जिल्ला आउन धौधौ परिरहेको अवस्थामा यहाँबाट अन्यत्र सरुवा भइसकेका अधिकांश प्रहरी कर्मचारीहरु विगत १५ वर्षदेखि पर्सामै काजमा खटिदै आएपछि प्रहरी प्रधान कार्यालयले चासो राखेको छ।

