

‘हनिट्रयाप’: नेपालमा सुन्दर युवतीले विच्छ्याएका ‘प्रेमजाल अपराध’

काठमाडौं– अपराधका शैली परिवर्तन हुने क्रममा नेपालका थुप्रै व्यक्ति प्रेमजालभित्र अपराधको चंगुलमा परेका पर्याप्त उदाहरण फेला पर्न थालेका छन्। अन्तर्राष्ट्रिय अपराधमा मात्र सुनिने ‘हनिट्रयाप’ सुसुप्त ढंगले बढ्न थालेको पाइएको छ।
प्रहरीले झापाको बिर्तामोड–४ का एक व्यापारीलाई ‘हनिट्रयाप’ मा पार्दै ४० लाख रकम फिरौती माग्ने एक युवतीसहित चार जनालाई नियन्त्रणमा लिएर कारबाही चलायो, गत बर्ष।
सामाजिक सञ्जालमार्फत् सम्पर्क गरेर प्रेम गर्ने बहाना गर्दै आफ्नो स्वार्थ पूरा गर्ने र फिरौती माग्ने उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडले नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया बढाएको थियो।
बिर्तामोड–४ का २९ वर्षीय मेराज, बिर्तामोड चारपाने बस्ने २० वर्षीया ऋतु फियाक लिम्बु, भारत पश्चिम बंगाल दार्जिलिङ खोरीबारीका सुजन शंकर र बिर्तामोड–४ का प्रकाश दासलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
झापाका एक व्यापारीलाई फसाउनका लागि सुन्दर युवती ऋतु फियाकको प्रयोग आपराधिक समूहले गरेको थियो। ऋतुले ती व्यवसायीलाई जया खान बन्दै इमो र मोबाइलमा फोन गरिन्। प्रेमका मिठा कुरा मात्र गरिनन् शारिरीक सम्बन्धका लागि अपिलको संकेत दिइन्। व्यापारीलाई कोठामा बोलाइन् अनि यौनजन्य गतिविधिमा सक्रिय बनाउन थालिन्। अभियुक्तहरुले भिडियो रेकर्ड गरी कुटपिट गर्दै फिरौती माग गरे। उनीहरुको समूहले सुरुमा ती व्यापारीसँग ५० लाख माग गरेका थिए तर कुरो ४० लाखमा मिल्यो।
प्रहरीले पत्तो लगाएको यो घटनाका अभियुक्तहरूलाई शरीर बन्धक बनाई आपराधिक आर्थिक लाभ उद्योग गरेको तथा लागू औषध वारदातमा मुद्दा दर्ता गरी कारबाही चलायो।
नियन्त्रणमा लिइएकी सञ्जु क्षेत्री भन्ने सुजन शंकर २०७४ सालमा दुई जना महिलालाई जवरजस्ती शरीर बेच्ने धन्दामा लगाएकोले मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेका अभियुक्त समेत रहेको खुलेको थियो।
नेपालमा यस्ता घटना नयाँ भने नरहेको विभिन्न विवरणले पुष्टि गरेका छन्। प्रहरी अधिकारीहरू भन्छन्,‘हनिट्रयापमा अनेक हिसाबले पारिएका घटना फेला परेका छन्। तर यसको नामाकरण त्यसरी गरिएको थिएन।’
प्रेमजालको पासोमा परेर कतिपयले आफ्नो घरबार देखि जीवन नै समाप्त पारेका घटना पर्याप्त छन् । खासगरी सम्पत्ति भएका घरका युवा, पुरूषहरू यसरी प्रेम जालको पासोमा परी बर्बाद भएको देख्ने प्राय छन्।
सतहमा आएका र प्रहरीले अनुसन्धान चलाएका केही उदाहरण छन्। त्यसमध्ये महानगरीय अपराध महाशाखाले एक व्यवसायीलाई ब्ल्याकमेलिङ र एक्सर्टशन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो । गोरखा पालुङटारका ३१ वर्षीय वद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङकी २५ वर्षीया इन्दिरा उप्रेतीले व्यवसायीसँग अन्तरङ्ग भिडियो बनाएर पैसा असुल्न खोजेको उनीहरुमाथि चार्ज थियो। अहिले रिहा भइसकेको सूचना अनलाइनन्युज सेभेनले पाएको छ।
ललितपुरको कुपण्डोल क्षेत्रमा बस्ने एक जना व्यवसायीलाई उनीहरुले ब्ल्याकमेलिङ गरेका थिए। इन्दिरा उप्रेतीले फेसबुकमा निशा अधिकारीको नामबाट तीन व्यापारीलाई फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन् । पछि कुराकानीको क्रममा उनले व्यवसायीसँग मोबाइल नम्बरसमेत लिएकी थिइन् ।
उप्रेतीले व्यवसायीलाई फोन गरी ‘तपाईंको अफिसमा भेट्न आउँछु, कुराकानी गर्नुछ’ भन्दै ‘निशा अधिकारी’ बनेर पुगिन्। व्यापारी मख्ख परे। उनले आफ्नो वास्तविक नाम ईन्दु भएको र घर झापा जिल्लाको बुधवारेमा पर्छ भनेर परिचय दिएकी थिइन् ।
त्यसअघि नै उनले ती व्यवसायीले थाहा नपाउने गरी मोवाइलको भिडियो क्यामेरा अन गरी सोफामा राखेर त्यहाँ भएको सबै कुरा रेकर्ड गरेकी थिइन् । त्यसपछि व्यवसायीको नजिक हुँदै छेउमा गई अङ्गालो मारी चुम्बन गरिन्।
उनी त्यहाँबाट गएपछि आफूलाई ‘गणेश लामा’ बताउने व्यक्तिले ती व्यवसायीलाई इमोबाट फोन गरी सो अन्तरङ्ग पलको भिडियो रेकर्ड आफूसँग रहेको भन्दै रकम बार्गेनिङ गरेका थिए। यस विषयमा प्रहरीलाई उजुरी दिएपछि अनुसन्धान गर्दा घटनामा वद्रीनाथ लामिछाने र इन्दिरा उप्रेतीको संलग्नता रहेको खुल्न आएको थियो ।
०६७ सालमा प्रेमीका बनेर लुटपाट गर्ने समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौं र सोह्र खुट्टे प्रभागको टोलीले उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
प्रेमीका बन्ने सञ्चिता कार्की, नुवाकोट त्रिशुलीका नितेश गुरूङ, सोलुखुम्बुका पेम्बा सेर्पा, बौद्धका तेञ्जिङ लामा र क्षेत्रपाटीका राजन श्रेष्ठलाई पक्राउ गरियो । उनीहरूको समूहले लैनचौरमा कोहिटीका सुनिल तुलाधरलाई लुटेको थियो । क्षेत्रपाटीको रिक्रियसन फाइनान्सका सञ्चालक तुलाधर फायर क्लब ठमेलबाट फर्किर्ने क्रममा सञ्जिता कार्कीले लैनचौरसम्म छाड्न लिफ्ट मागेकी थिईन् ।
‘यस्तो आपराधिक घटना त फिल्ममा मात्र हेर्ने गरिएको थियो। तर प्रहरीले कारबाही चलाएपछि सुन्दर देखिने युवतीको मोहजालले खरानी बनाउँछ भन्ने कुरामा सचेत हुन आवश्यक देखियो’, समाजशास्त्रीहरू भन्छन्,‘प्रेमकै कुरो हो भने पनि हतार र चाँडो आकर्षणका कुराको पछाडि के छ भनेर घोत्लिन आवश्यक छ।’
दाङका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या ‘हनिट्रयाप’कै एउटा उदाहरण मान्छन् प्रहरी अधिकारीहरू। घटनाका मुख्य अभियुक्तहरू तुलसीपुर–६ बस्ने टीकाराम घर्ती, उनकी छोरी पूजा घर्ती र मानबहादुर भण्डारीलाई पक्राउ गरेको थियो । मिलोमतोमा नै यो घटना भएको थियो ।
अपहरणमा परेका श्रेष्ठको शव प्रहरीलेसल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ मा पर्ने झिम्पेको जंगलमा फेला परेको थियो । अपहरण र हत्यामा संलग्न भएको आरोपमा भर्खरै पक्राउ परेकी पुजाले व्यापारी श्रेष्ठसँग लामो समयदेखि प्रेमको जालमा पारेको अनुसन्धानका क्रममा खुल्यो।
राम्रै आम्दानी गर्ने वैदेशिक रोजगारीमा रहेका युवालाई सामाजिक सञ्जालमा साथी बनाएर, प्रेमी बनाएर पनि लुटपाट गरिन्छ । गोरखा स्थायी घर भएका ३१ वर्षीय शक्तिमान विक कतार बस्दै आएका थिए । कतारमै काम गर्दै गरेका विक सामाजिक सञ्जाल फेसबुकमा अभ्यस्त हुँदा पिया थापासँग नजिकिए । अनलाइन च्याटमै उनलाई पियाले ‘नेपाल आउ, बिहे गरेर यतै बसौँला, यतै काम गरौँला’ भनिन् । शक्तिमान पियाको मिठो बोलीमा फसे। अन्ततः पियासँग घरजम गरी बस्ने मिठो सपना बोकेर शक्तिमान २०७२ माघमा कतारबाट नेपाल आए । शक्तिमान काठमाडौं आएर पियालाई खोज्न थाले। तर शक्तिमानले पियालाई सजिलै भेट्न पाएनन् । केही दिनपछि उनै पियाले केही युवकहरू परिचालन गरी उनलाई अपहरण गर्न लगाइन् । अपहरण गरी शक्तिमानसँग भएको धनमाल सबै लुट्न लगाइन् । उनले प्रहरीमा उजुरी दिए।
प्रहरीले पिया र ललितपुर इमाडोलका उनका वास्तविक प्रेमी सन्तोष घिमिरेलाई पक्राउ गरेको थियो ।उनीले १४ फागुन २०७२ मा विकलाई कोटेश्वरबाट अपहरण गरी लुटेको स्वीकार गरे। पियाले उनका वास्तविक प्रेमी सन्तोष घिमिरेसँग मिलेरै प्रेमको नाटक गरी अपहरणको योजना बनाएकी थिइन्। पक्राउ परेका घिमिरे पिया ‘लिभिङ टुगेदर’मा थिए।
हनिट्रयापको अर्थ
हनिको अर्थ मिठो र ट्रयापको अर्थ जाल मिलेर ‘हनिट्रयाप’ बनेको हो। यसको अर्थ मिठोजाल हो। यसमा फँस्ने मानिसले कस्तो अवस्थामा आफू पुग्दैछु भन्ने अन्दाज समेत गर्न सक्तैनन्। सुन्दर महिलाले हाइप्रोफाइल वा आम्दानी गर्ने मानिसलाई यसमा फँसाउछन् र सडकमा पुराउने गर्छन्।
लुटपाटका लागि मात्र नभएर कतिपय राष्ट्रिय सुरक्षाका गोप्य जानकारी लिनका लागि सुरक्षा अधिकारीलाई पनि ‘हनिट्रयाप’को माध्यमबाट फसाउने गरिँदै आएको छ । नेपालमा यस्तो घटनाको जानकारी अहिलेसम्म नआए पनि भारतमा भने सैनिक अधिकारीहरू यसरी फँसिसकेका छन् । खासगरी भारतीय स्थल र जल सेनाका अधिकारीहरू ।
पाकिस्तानी गुप्तचर संस्थाकी महिलासँग प्रेमजालमा फँसेका कर्णेलले सेनाका गुप्त जानकारी दिएको आरोप लागेको थियो । उनलाई पक्राउ गरी कारबाही समेत गरियो ।
हनिट्रयाप रुसबाट सुरु भएको थियो। अमेरिकाका गोप्य जानकारी हात पार्नका लागि सीआइए अधिकारीबाट सूचना चुहाउन रुसले राम्री युवतीहरू खटाउने गर्दथ्यो। जसमा अधिक सफलता मिलेको भन्ने चर्चा रुसमा भयो। कुटनीतिक, सुरक्षा संयन्त्रका वैधानिक जानकारीका लागि अवैध हिसाबका मिसनका रूपमा सुरु गरिएको हनिट्रयाप नेपालसम्म आइपुग्दा अपराधको एउटा नयाँ श्रृङ्खला बनिदियो।
एक जना पूर्वप्रहरी अधिकारी भन्छन्,‘नेपालमा सामाजिक अपराध बढ्दो छ। अझ विदेशमा राम्रो आम्दानी गर्ने मानिसको खोजीनीति गरेर आपराधिक गिरोहले महिलालाई परिचालन गर्न थालेका छन्।’

