डिआईजी बढुवामा कडा प्रतिस्पर्धा!


काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस भएसँगै दर्जनौं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी) को लबिङ गरिरहेका छन्। उनीहरु शक्तिकेन्द्र धाउन थालिसकेका छन्।

कतिपय त बढुवाको लागि पैसा बोकेर नेताहरुको घरमा समेत पुग्ने गर्छन्।

यसअघि आर्थिक चलखेलमार्फत कुनैपनि हालतमा डिआईजीमा बढुवा भएरै छाड्ने दावी गर्दै हिँडेका एकजना एसएसपी पुनः आर्थिक चलखेलमा लागेको बताइन्छ। तर, यसपटक बालुवाटारले पैसाको मामिलामा कडाइ गरेको स्रोतको दाबी छ।

ती एसएसपी हुन् नल प्रसाद उपाध्याय। उपाध्यायले यसअघि नै बढुवामा पर्न तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट व्यक्तिलाई ३० लाख दिएको स्रोत बताउँछ। तर, बढुवामा नपरेपछि दिएको रकममध्ये १५ लाख उनले फिर्ता लिएको बताइन्छ।

यसरी आर्थिक चलखेलमा लागेका एसएसपी उपाध्याय प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलका ब्याची हुन्। उनी पुनः आर्थिक चलखेलमार्फत एसएसपीबाट डिआईजी बढुवा हुन खोजिरहेका छन्। तर, आर्थिक चलखेलमा बालुवाटारले कडाई गरेपछि…

उपाध्याय नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नातेदार समेत हुन्। उपाध्यायको व्यवहार र कार्यकुशलता मन नपरेको कारण उपप्रधानमन्त्री तथा रक्षामन्त्री हुँदा पोखरेलले विश्वराज पोखरेललाई अघि सारेको प्रहरी संगठनभित्र चर्चा छ।

पहिले नै डिआईजीको दरबन्दी थपेरै भएपनि बढुवा हुन्छु भन्दै दौडधुपमा लागेका उपाध्याय मात्र होइनन्, प्रहरी संगठनमा यस्ता थुप्रै छन्। पैसा बुझाएर प्रमोशन हुन खोज्ने प्रहरी अधिकृतहरु यतिबेला पनि नेताहरुको घरदैलोमा पुग्न सक्छन्।

तर, बालुवाटारले पैसाको मामिलामा कडाई गरेपछि उपाध्यायको योजना विफल हुनसक्ने सम्भावना रहेको छ। पैसा बुझाएर प्रमोशन हुन खोज्ने जो कोहीलाई पनि बालुवाटारले नटेर्ने स्रोत बताउँछ।

प्रतिस्पर्धामा को को छन् एसएसपीहरु?
अहिले डिआईजीमा बढुवा हुनेहरु नै प्रहरी महानिरीक्षक (आईजी) बन्ने हुँदा अहिलेको बढुवा निकै पेचिलो बन्ने देखिन्छ। यसरी तीन ब्याचीबीच डिआईजी बढुवाको प्रतिस्पर्धा हुने देखिन्छ।

०५१ मा भर्ना भएको टोलीबाट डिआईजीको लागि एसएसपीहरु दिपक थापा, बसन्त बहादुर कुँवर, टेकप्रसाद राई र सन्दीप भण्डारी, भीम ढकाल, उमेश जोशी, श्याम ज्ञवालीहरु लविङमा लागेका छन्।

त्यस्तै बढुवाको दौडमा अशोक सिंह, जनक भट्टराई, केदार ढकाल, विष्णु केसी, कुबेर कडायत, सुदीप गिरी, राजेश बास्तोला, यज्ञविनोद पोखरेल पनि शक्तिकेन्द्र धाइरहेका छन्।

तर दिपक थापा, सन्दीप भण्डारी, अशोक सिंह, बसन्त बहादुर कुँवर, भीम ढकाल, टेक प्रसाद राईमध्येबाटै डिआईजी बढुवा हुने सम्भावना प्रबल छ। यी मध्ये कार्यक्षमता र पहुँचका आधारमा थापा पहिलो नम्बरमा देखिएका छन्।

बरियतामा ५ नम्बर भएपनि उनी बढुवाको दाबेदारमा एक नम्बरमै देखिन्छन्। प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्री भक्तपुरकै भएकाले उनको सम्भावना प्रबल रहेको प्रहरी स्रोत बताउँछ।

महानगरीय अपराध महाशाखाको सफल कमाण्ड सम्हालिसकेका एसएसपी थापाले उपत्यकामा भएका ठूला अपराध अनुसन्धानमा सफलता हासिल गरे।

पूर्वआईजीपी सर्वेन्द्र खनाल र हालका आईजीपी क्षेत्रीबाट पनि उनले कार्यसम्पादन मूल्यांकनमा नम्बर राम्रो पाएकाले एसएसपी थापाको बढुवा सहज भएको बताइन्छ।

त्यस्तै एसएसपी कुँवरले हाल अपराध महाशाखाको कमाण्ड सम्हालिरहेका छन्। उनले समेत अपराध अनुसन्धानमा राम्रो सफलता हाँसिल गरेका छन्। प्रहरी प्रवक्ताको रुपमा काम गर्दा कुँवरले सूचना सम्प्रेषणमा राम्रो भूमिका निभाएका थिए।

बरियतामा एक नम्बरमा रहेका सन्दीप भण्डारी पनि डिआईजी पदमा बढुवा हुने दौडमा छन्। उनको पनि प्रबल सम्भावना देखिन्छ।

त्यस्तै डिआईजी बढुवाका लागि अशोक सिंह पनि दौडमा छन्। काठमाडौं प्रहरी प्रमुख हुँदा सिंहले काठमाडौंको शान्ति सुरक्षाको विषयमा राम्रोसँग काम गरेको हुनाले उनको पनि प्रबल सम्भावना रहेको छ।

हुनतः सिंह दीपक थापा, सन्दीप भण्डारी र टेकप्रसाद राईको ब्याचीभन्दा जुनियर हुन्। तर, पनि उनले नेपाली काँग्रेसको महाधिवेशन सहज रुपमा सम्पन्न गरेको हुँदा उनी प्रधानमन्त्री शेरबहादुर देउवाको रोजाईमा परेको स्रोत बताउँछ।

प्रतिक्रिया