आधारभूत तहमा पार्टी एकताकै चिन्ता


महोत्तरीउपल्लो तहका नेताहरू आआफ्ना दाबीसाथ अदालत र निर्वाचन आयोग पुगे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता र मतदाता भने पार्टी एकताकै पक्षमा उभिएका छन् । उपल्लो तह (केन्द्र) का नेता  दाहालनेपाल र केपी ओली समूह भनेर चिनिँदै एकअर्कोविरुद्ध सत्तोसरापमा ओर्ले पनि महोत्तरीका आम कार्यकर्ता र मतदाता अझै पार्टी एकताकै पक्षमा उभिएका हुन् ।

हामीले त एकताबद्ध पार्टी निर्माण मात्र सोचेका छौँ, जिल्लाको भङ्गाहा नगरपालिका३ का पुराना पार्टी कार्यकर्ता लक्ष्मीकान्त चौधरीले भने, ‘हामीसँग यो पक्षमा लाग्ने भनेर कुरा नल्याए हुन्छ, हामीले सोचेको एकताबद्ध कम्युनिष्ट पार्टी हो । जनताको तहका यी कुरा सुनेर हामी एक छौँ भन्न नेता आए आपूmहरूको साथ सहयोग अझै यसै पार्टी (नेकपा) ले पाउने चौधरीको भनाइ छ ।

करिब तीन वर्षअघि २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेकपा घोषणा हुँदाको क्षण जीवनकै केही खुशीमध्ये एक बनेको चौधरी सम्झन्छन् । पञ्चायतकालमै तत्कालीन नेकपा (माले)सँग नजिक रहनुभएका चौधरी विसं २०४७ मा तत्कालीन माले र नेकपा (माक्र्सवादी) एकीकरण भएर एमाले बनेदेखि सो दलमा सङ्गठित रहँदै आउनुभएको थियो ।

चाँडै पार्टी एक गर्ने घोषणासहित २०७४ को चुनावमा एउटै मोर्चामा एमाले र माओवादी केन्द्र चुनाव लडे, मधेशमा राजनीतिक हावा प्रतिकूल चल्दा पनि हामीले आफ्नो प्रतिनिधिसभा क्षेत्र (महोत्तरी१) र यसका दुवै प्रदेशसभा क्षेत्रमा शानदार जित हात पार्यौँ, चौधरीले तीन वर्षअघिको चुनाव सम्झँदै भने, ‘त्यो एकताको पक्षको बल थियो, एकतालाई जनताले दिएको समर्थन थियो । लगत्तै २०७५ जेठ ३ मा दुवै पार्टी (एमाले र माओवादी केन्द्र)ले एकीकरण गरेर वचन पुर्याएका सम्झँदै चौधरीले अहिले तीन वर्ष पूरा नपुग्दै रडाको मच्चाउनु दुर्भाग्यपूर्ण रहेको चौधरी बताउछन् ।

विसं २०४७ अघि मनमोहन अधिकारी नेतृत्वको तत्कालीन नेकपा  माक्र्सवादीसँग नजिक रहेका भङ्गाहा९ हरिनमरीका अहिले उमेरले ९० वर्षका जितन यादव पनि नेकपाभित्रको बढेको रडाकोले दुःखी छन् । खै यिनलाई खाइमात लागेको हो कि ? जनताको मायालाई जोगाउन सकेनन्, यादवले विरक्तभावमा भने, ‘जीवनको उत्तराद्र्धमा एकताबद्ध कम्युनिष्ट पार्टीकै काखमा मर्ने इच्छा भाँच्चियो । अझै नेताहरूले बुझेर स्थिति सम्हालिदिए रहर पूरा हुन्थ्यो कि भन्ने झिनो आस बाँकी नै रहेको यादव बताउछन् ।

भङ्गाहा५ सीतापुरका ७५ वर्षीय झौली भण्डारी पनि नेकपाभित्र उपल्लो तहमा मच्चिएको रडाको तल्लो तहसम्म आइपुग्दा विरक्तिएकी छन् । हामीचाहिँ नेकपाका मूलधार हौँ भन्दै केही साथी आएका थिए, एक÷दुई दिनअघि पार्टीकै अर्का नेताविरुद्ध मसाल बाल्ने निम्तो बाँड्दै आएका साथीसँगको कुराकानी सुनाउँदै भण्डारीले भनिन्, ‘मसाल बालेर मुर्दावादको नारा उराल्ने होइन, सुलहको कुरा ल्याउनोस् भनेँ । पञ्चायतकालका अँध्यारा दिनमा तत्कालीन नेकपा (माले) का नेता कार्यकर्तालाई गाँसबास दिएर जोगाएका भण्डारी पार्टीका गुटगुटका नेता आएर एकअर्कोविरुद्ध सत्तोसराप गर्दा मन भक्कानिने गरेको बताउछन् ।

चौधरी, यादव र भण्डारीजस्तै जिल्लाकै बलवा नगरपालिका११ भगवतीपुरका ६५ वर्षीय उत्तिम माझी मुसहरको मन पनि पार्टी विभाजनको कुराले टुटेको छ । हामी गरिब र उपेक्षितलाई नेतृत्व दिन्छ भनेर कम्युनिष्ट पार्टी रोज्यौँ, मुसहरले भने, ‘हामीलाई के देलान् ? आफैँ भागमा रडाको मच्चाउन लागे । पार्टीभित्रको अहिलेको विग्रह नीति, सिद्धान्तको नभई आआफ्ना स्वार्थका लागि नेताहरूले झिकेका बखेडा भएको मुसहरको बुझाइ छ । बलवाकै धमौरा बस्तीका ७० वर्षीय वासुदेव पासवान, भङ्गाहा६ हतिसर्वाका ७५ वर्षीय सीताराम सर्दार बाँतर र सोही बस्तीका ७० वर्षीय इस्लाम राइनको पनि उत्तिम माझी मुसहरकै जस्तो चिन्ता र गुनासो छ ।

जिल्लामा पुस ७ गते नै दुईतिर केन्द्रीय समितिको बैठक गरेयता आआफ्ना पक्षको कुरा लिएर केही नेता कार्यकर्ता जिन्दावादमुर्दावादमा हिँडे पनि यहाँका आम कार्यकर्ता र शुभेच्छुक मतदाता कुनै पक्षमा लागेका देखिन्नन् । आम कार्यकर्ता र शुभेच्छुक मतदातामा अझै पार्टी एक हुने÷ रहने झिनो आस बाँकी नै छ । होइन, यी भोगेर पनि नचेत्ने रहेछन्, २०÷२२ वर्षअघि माले÷एमाले भएर फुट्दा के हविगत भाथ्यो ! २०४७ यता सधैँ कम्युनिष्टलाई मतदान गर्दै आएकी भङ्गाहा४ रामनगरकी ६५ वर्षीया आयशा खातुनले आक्रोश मिश्रित व्यङ्ग्यात्मक भावमा भनिन्, ‘खै केलाई के पच्दैन भन्छन् नि ! यिनलाई हाम्रो माया नपचेको हुनपर्छ ।

नेकपाभित्र उपल्लो तह हुँदै अब जिल्ला र गाउँनगर बस्तीसम्म आइपुगेको विग्रहको कुराले बर्दिवास९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतो, ६५ वर्षीय ब्रह्मदेव महतो र ५० वर्षीय महेन्द्र महतो पनि निरास बनेका छन् । एकीकृत कम्युनिष्ट पार्टी र यसको नेतृत्वको सरकारले जनताका अपेक्षा पूरा गर्ने आस थियो, विगतमा पशुपतिनगर गाविस छँदा दुई कार्यकाल गाविस अध्यक्ष रहिसकेकका नथुनीले भने, ‘यिनले फुटेरै जनतालाई निरास बनाइरहने भए । नेताहरूलाई सद्बुद्धि आए अझै एकता रहनसक्ने महतोको विश्वास छ तर यसका लागि तलका कार्यकर्ताले कुनै एक पक्षमा नलागी निरन्तर एकताको दबाब बढाउनुपर्ने महतो बताउछन् ।

नेकपा विभाजन रोक्न अब कार्यकर्ताले दबाब समितिचाहिँ बनाउन पर्ने आम कार्यकर्ता बताउँछन् । गुटको कुरा लिएर आउनेलाई सह दिने होइन, दुत्कार्नु पर्छ, विगतमा तत्कालीन नेकपा एमालेका दुई कार्यकाल जिल्ला सचिव (प्रमुख) रहिसकेका बर्दिवास१३ का विश्वनाथ सिंह भन्छन्, ‘मालेएमाले मिलन भएको विगत छ नि हामीसँग, अझै एकताकै लागि सबैले प्रयत्न गरे नेता फर्किहाल्छन् कि ! अब पार्टीलाई एक ढिक्का बनाउन नसके एक कालखण्डसम्म जिल्लामा यसले राजनीतिक हैसियत नपाउने नेकपा शुभेच्छुकले पनि नेताहरूलाई चेताउँदै आएका छन् । नेकपाको विभाजनले पार्टीभित्र मात्र नभएर मुलुककै लोकतान्त्रिक गणतन्त्र पनि कमजोर बन्नसक्ने यहाँका वाम बुद्धिजीवी औँल्याउँछन् ।

(रासस)

प्रतिक्रिया