राजनीतिमा बिनाको साखः ग्राउन्डमा हात न परिवारको साथ!


काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको विषयमा पूर्वमन्त्री बिना मगर सर्वाधिक आलोचित भइन्। ०७४ फागुनमा मन्त्री नियुक्त हुनासाथ उनको बटमलाइन थियो, मेलम्ची खानेपानी आयोजना काठमाडौंमा ल्याउने। त्यसैलाई मन्त्री पदको गरिमा बनाएकी उनले भनिन्– असारमा आउँछ। आएन। फेरि, असोजमा आउँछ भनिन्, आएन।

यसपछि मेलम्चीका विषयमा उनले बोल्न छाडिन्। तर प्रश्न उठ्न छाडेन। प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले मेलम्ची प्रकरणबारे सोधेका थिए। उनले आफ्नो लक्ष्य र गौरब भएको जवाफ दिए पनि मेलम्चीको पानी आउनुपूर्व नै उनको राजीनामा आयो।

प्रचण्डको सिफारिसमा खानेपानी मन्त्री नियुक्त हुनसाथ उनको आलोचना सुरु भयो। जसका कारण प्रचण्डलाई पनि परिवारवादमा लागेको भनी आलोचित बन्न बाध्य पारेको थियो। प्रधानमन्त्री ओलीले नै कतिपय अन्तरवार्तामा प्रचण्डको हुर्मत लिन सांकेतिक रुपमा भन्ने गरेका थिए,‘सरकारमा साथीभाईका आफन्तका रहर पनि हुन्छन्। अलोकप्रिय हुँदा हुँदै पनि मन्त्रीमा राख्नुपर्ने हुन्छ।’ यो मगरलाई नै केन्द्रित गरेर ओलीको टिप्पणी आएको थियो।

प्रतिनिधि सभा विघटन हुनासाथ राजीनामा दिने ७ मन्त्री मध्य बिना पनि एक हुन्। उनले राजीनामा दिनासाथ लेखेकी थिइन्,‘अब परिवारलाई समय दिनेछु।’ कतिपयले बिनाले मन्त्री हुँदा राजनीतिक धरातल भन्दा पारिवारिक र भावनात्मक समर्थनलाई ‘क्यास’ गर्न नसकेको बताएका छन्। उनी मन्त्री भएको केही समयमा नै परिवारसँगको सम्बन्ध पनि पातलो बन्दै गएको टिप्पणी हुने गरेको थियो।

‘प्रकाश दाहालको पत्नी भएका कारण घटनाक्रमले उनलाई राजनीतिमा राम्रो अवसर दिएको थियो। तर त्यो अवसरलाई उपयोग गर्न सकिनन्। बरु, बाहलावाला सचिवले नै उनीविरुद्ध अभिव्यक्ति दिएर आलोचित बनाए’, उनलाई नजिकदेखि चिन्नेहरू भन्छन्। मेलम्ची प्रकरणमा मन्त्रीको स्वार्थका कारण नै समयमा काम हुन नसकेको भनी तत्कालिन सचिव गजेन्द्र ठाकुरले पत्रकार सम्मेलनमा नै भनेका थिए।

मेलम्ची प्रकरणमा आफ्ना स्वकीय सचिव लगाएर नै इटालियन कम्पनीका प्रतिनिधिलाई पक्राउ गराउनेदेखि अनेक प्रकरणमा बिना बदनाम हुन पुगिन्। यसमा सचिव ठाकुरको पनि मिलोमतो रहेको आशंका गरिएको थियो।

यो आशंकाको कारण थियो, ठाकुर र बिनाको स्वार्थ बाझिनु। जबकि, ठाकुरलाई खानेपानी मन्त्रालयमा ल्याउने ‘च्वाइस’ बिनाकै थियो। ‘मन्त्री र सचिवको स्वार्थ बाझिएपछि मेलम्ची आयोजना अलपत्र परेको हो। मन्त्री आफ्ना मान्छेमार्फत ठेकेदार सताउने, सचिव आफैं मनोपोली गर्ने काम भयो’, खानेपानी मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने,‘बाहिरका मानिसले प्राविधिक काममा हस्तक्षेप गरे, जसलाई बिना मगरले धेरै नै महत्व दिएकी थिइन्।’

किचलो

प्रकाश दाहालको पहिलो स्मृति दिवसका क्रममा खुमलटारमा बिनाले देखाएको एउटा ‘ड्रामा’ले परिवारभित्र उनको सम्बन्ध खुकुलो बन्दै गएको पनि बताइएको थियो। मन्त्रालयमा पनि प्रचण्डले सुझाव दिएका व्यक्ति भन्दा मनोपोली गर्न थालेपछि खुमलटारमा परिवारभित्रै उनको आलोचना व्याप्त थियो।

स्मृति दिवसका क्रममा छापिएको पुस्तकमा बिनाले आफ्नो मात्र नाम र प्रसङ्ग समावेश गरिन्। डिभोर्स नभएकी प्रकाशकी बिना अगाडिकी पत्नी सृजना त्रिपाठीको नाम थिएन। यस विषय सृजनाले बिनाको आलोचना गर्दै छोराको नाम हुने, पत्नीको नाम किन भएन भनेर प्रश्न गरेकी थिइन्।

त्यतिमात्र होइन, औपचारिक कार्यक्रममा सृजनालाई निम्तो दिइएको थियो। जब मञ्चमा उनलाई डाकियो, बिना त्यो मञ्चमा नै नबस्ने भनी कुर्लिँदा रेणु दाहाल र गंगा दाहालले सम्हाल्नु परेको थियो। सृजनालाई बोलाउने कृष्णबहादुर महराका छोरा राहुलले बिनाको गाली खानु परेको पनि चर्चा चलेको थियो।

ग्राउन्डमा के छ?

कञ्चनपुर जिल्लाबाट चुनावमा जितेकी उनको अहिले ग्राउन्ड पनि बलियो नभएको बताइन्छ। प्रचण्डले लेखराज भट्टलाई मन्त्रिपरिषदमा पठाउनुको साटो बुहारीलाई पठाएपछि सुदूरपश्चिम राजनीतिले कोल्टे फेरेको थियो। अहिले भट्ट प्रधानमन्त्री ओलीको दरिलो नेताका रुपमा उभिएका छन्।

‘त्यसबेला प्रकाशको निधन र भावनात्मक मतका कारण बिनाले चुनाव जितेकी थिइन्। अब पार्टी विभाजन हुने हो भने ओली पक्षको ठूलो पंक्ति मात्र होइन, पूर्वमाओवादीको पंक्ति पनि उनीविरुद्ध छ’, स्थानीय नेताहरू भन्छन्,‘मन्त्री भएको बेलामा निर्वाचन क्षेत्रमा केही मात्र समय दिएकी र सामान्य काम गरेकी उनी कहिले पनि राजनीतिक केन्द्रविन्दुमा सुदूरपश्चिमको भावना प्रतिनिधित्व गर्न सफल भइनन्। लेखराज भट्टले गरेका छन्।’

निर्वाचन क्षेत्रका आफ्ना मान्छेलाई पनि राम्रोसँग व्यवस्थापन गर्न नसक्नुमात्र बिनाको कमजोरी रहेन। आफन्तलाई टिप्ने र स्थानीयस्तरमा कुनै पनि कार्यक्रम नलैजाने उनको त्रुटीले ग्राउन्ड कमजोर बनिसकेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया