मेयरका छोराविरुद्ध डेढ करोड ठगी मुद्दा दर्ता!

पक्राउ पुर्जीको तयारी, एमालेले मिलाउन नसकेपछि जाहेरी दिएको एक महिनापछि प्रहरी सम्पर्कमा पुगेका हुन् पीडित!


काठमाडौं – डेढ करोड ठगी गरेको आरोपमा दाङ तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा अनुप पाण्डेविरुद्ध प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ।

निर्माण व्यवसायीसमेत रहेका पाण्डेविरुद्ध घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले जाहेरी दिएपछि मुद्दा दर्ता भएको हो।

जाहेरी दिएको एक महिनापछि पीडित व्यवसायी बस्नेतले पैसा नपाएको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय, दाङमा पुगेर मुद्दा दर्ता प्रकृया अघि बढाएका हुन्।

मुद्दा दर्ता भएसँगै पाण्डेलाई पक्राउ गर्न जिल्ला अदालतबाट पुर्जीको तयारी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पुर्जीका लागि प्रहरी अदालत गइसकेको छ।

बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन्। पीडित व्यवसायी प्रहरी सम्पर्कमा आएकाले प्रक्रियाअनुसार मुद्दा अघि बढ्ने प्रहरीको भनाइ छ।

घोराही–तुलसीपुर सडक निर्माणको क्रममा आफ्नो टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको रकम एक करोड ४४ लाख रुपैयाँ नदिएको भन्दै पाण्डेविरुद्ध ठगी मुद्दामा अनुसन्धान गर्न उजुरी दिएका हुन्।

‘पटकपटक पैसा माग्दा पनि सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हुँ,’ उनले भने। आफू बाध्य भएर कानुनी उपचार खोज्न प्रहरीमा जानु परेको उनले बताए।

पैसा आउला भनेर पर्खे पनि सम्पर्कमा नआई झुलाउने, भाग्ने र शक्तिकेन्द्रको धम्की दिने गरेको पनि व्यवसायी बस्नेतले बताए। बस्नेत सोमबारमात्रै पार्टीको जिल्ला नेतृत्व, इन्चार्ज, पदाधिकारीसहित मुद्दा दर्ताका लागि प्रहरीमा पुगेका थिए।

व्यवसायी बस्नेतले पैसा दिलाइदिन पार्टीका जिल्ला इन्चार्ज नरुलाल चौधरी, जिल्ला अध्यक्ष हुकुम बस्नेत, उपाध्यक्ष राममणि पाण्डे, सचिव मनोहर बुढाथोकीलाई ताकेता गर्दै आएका थिए।

पटक–पटक भन्दा पनि पैसा नतिरेपछि पीडित व्यवसायी बस्नेत नेकपा एमाले महासचिव शंकर पोखरेल समक्ष समेत पुगेका थिए। महासचिव पोखरेलले पनि भनेको भाकामा पैसा तिर्न नसकेपछि व्यवसायी बस्नेत प्रहरीमा पुगेका हुन्।

घोराही–तुलसीपुर सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लि.ले अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो।

समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनी तथ्यले पाण्डेसँग सम्झौता तोडेको थियो।

प्रतिक्रिया