फोरलेनका ठेकेदार अनुप पाण्डेविरुद्ध थप २ करोड ठगीको जाहेरी दर्ता


दाङ – दाङ तुलसीपुरका निर्माण व्यवसायी अनुप पाण्डेलाई प्रहरीले काठमाडौँबाट दाङ ल्याएपछि उनीविरुद्ध ठगीको थप जाहेरी दर्ता भएको छ।

यसैक्रममा दाङको दुधरासस्थित सोनापुर सिमेण्ट उद्योगले पनि ठगीमा जाहेरी दिएको छ। टिप्परसहित सिमेण्टको पैसा नदिएपछि उद्योगले २ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएको हो।

उद्योगका अधिकारी प्रहरी कार्यालयमा आफै आएर जाहेरी दर्ता गराएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए। कानुन सम्मत जाहेरी आएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

एसपी काफ्लेले फोरलेनमा काम गरेर पैसा नपाएका मजदुरलाई निवेदनसहित जाहेरी ल्याउन र पीडित व्यवसायीलाई पाण्डेविरुद्ध प्रमाणसहित प्रहरीमा उपस्थित हुन आग्रह गरेका छन्। उनले पाण्डेविरुद्ध ठगीमा धमाधम जाहेरी आइरहेको बताए।

काठमाडौंको काँडाघारीको एक रेष्टुरेण्टमा लुकिछिपी बस्दै आएको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को प्रहरी टोलीले केही दिनअघि पक्राउ गरेपछि दाङबाट गएको प्रहरी टोलीले उनकै कारबाट जिल्ला ल्याएको थियो।

उच्च अदालत तुलसीपुरले पाण्डेलाई ७ दिन हिरासतमा राखेर घटना अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ।

यसअघि तुलसीपुर मानपुर घर भइ हाल घोराही बस्दै आएका एमालेकै जिल्ला सदस्य तथा घोराही उपमहानगरका इन्चार्ज गेहेन्द्र बस्नेतले ठेकेदार पाण्डेविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा दाङ प्रहरीमा जाहेरी दिएका थिए। उनकै जाहेरीका आधारमा पाण्डे पक्राउ परेका हुन्।

पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन्।

घोराही–तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ।

निर्माण व्यवसायी पाण्डेविरूद्ध बस्नेतले एक महिना अगाडि नै उजुरी दिन प्रहरीमा गएका थिए। तर आवश्यक प्रमाण नपुगेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेको थिएन। त्यसपछि फेरि थप कागजातहरू जुटाएर बस्नेत प्रहरीमा पुगेपछि मुद्दा दर्ता भएको हो।

नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज समेत रहेका बस्नेत केहीदिन अघिमात्र पार्टीको जिल्ला नेतृत्व, इन्चार्ज, पदाधिकारीसहित मुद्दा दर्ताका लागि प्रहरीमा पुगेका थिए। पटक–पटक पैसा माग्दा पनि सम्पर्कमा नआएपछि बाध्य भएर कानुनी उपचार खोज्नु परेको उनले बताए।

निर्माण व्यवसायी पाण्डेले ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा पनि १६ जनाले पाण्डेविरुद्ध उजुरी दिएका छन्। करिब ६ करोड रुपैयाँ ठगी गरेको भन्दै पाण्डेविरुद्ध उजुरी परेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।

पाण्डेविरुद्ध बस्नेतसहित सोनापुर सिमेन्ट उद्योग, व्यवसायी र मजदुरसमेतले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

घोराही–तुलसीपुर सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लि.ले स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो।

तर समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनी तथ्यले पाण्डेसँग सम्झौता तोडेको थियो।

प्रतिक्रिया