तुलसीपुर उपमहानगरका मेयरपुत्र पाण्डेमाथि डेढ करोड बढीको ठगी मुद्दा


दाङ – दाङका एक जना निर्माण ब्यबसायीमाथि झण्डै डेढ करोड रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरीमा परेको छ । निर्माण ब्यबसायी गेहेन्द्र बस्नेतले ठेकेदार एवं तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छाेरा अनुप पाण्डेले डेढ करोड बढी रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् ।

बस्नेतले घोराही-तुलसीपुर फोरलेन सडकमा आफ्ना टिप्पर लगाएकाले त्यसको भाडा र इन्धन बापतको रकम १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डेविरुद्ध जाहेरी दिएको बताए । पटक-पटक पैसा माग्न जाँदा पनि नदिएको बताउँदै पाण्डे सम्पर्कमा नआउँदा आफ्नो घर खेत नै लिलामी हुने अबस्था आएकाले आफु बाध्य भएर कानुनी उपचार खोज्नु परेको बस्नेतले बताए ।

पाण्डेले आफु जस्तै दाङका थुप्रै ब्यबसायीलाई ठगी गरेर बिचल्लि पारेको बताउँदै उनले पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालय दाङमा पनि उजुरी दिएको बताए । पाण्डेले पैसा नदिँदा बैंकको ब्याज, टिप्परको किस्ता तिर्न पनि समस्या भएको उनले गुनासो गरे।

धेरै पटक आफुले पैसा आउला भनेर पर्खे पनि सम्पर्कमा नआई झुलाउने, भाग्ने गर्नुका साथै पावर देखाउन खोजेको पनि आरोप लगाए । आउनुपर्ने ठाउँबाट पैसा नआएपछि अहिले आएर ऋणको पनि ब्याज तिर्न ताकेता गरिरहेको अबस्थामा आफुसँग बैंकको ब्याज नै तिर्ने पैसा समेत नहुँदा निकै समस्या परेको पनि बस्नेतले बताए ।

निर्माण ब्यबसायी पाण्डेले आफु थुप्रो ऋणमा रहेको र भारतीय पार्टीले पैसा दिन नसकिएको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका छोरा अनुप फोरलेन सडकका ठेकेदार पनि हुन् । तथ्य इन्जिनियरिङले जिम्मा लिएको फोरलेनको नेपालको मुख्य ब्यक्ति पाण्डे नै रहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय दाङले पाण्डेविरुद्ध ठगिमा जाहेरी परेको पुष्टी गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले पाण्डेविरुद्ध जाहेरी आएको र जाहेरी दर्ता हुने बताए । उनले अन्य पीडितहरूले पनि पाण्डेसहित मुख्य ठेकेदारविरुद्ध जाहेरी दिने तयारी गरिररहेको जनाएका छन् । उनले अदालतबाट पक्राउ पुर्जी आउनासाथ पक्राउ गरेर कानुनी दायरामा ल्याइने पनि बताए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय दाङले पनि पाण्डेविरुद्ध प्रशासनमा दैनिकजसो उजुरी आइरहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी साबीत्रा थापाले मजदुरदेखि ब्यबसायीले पैसा नपाएको गुनासोसहित उजुरी आइरहेको र उजुरी संकलनपछि कानुनी दायरामा जाने बताइन् ।

प्रतिक्रिया