सिस्ने खोला बाढीमा कार हाल्ने चालक बचाउन दाङ प्रहरीको बदमासी!

उच्च अदालतको आदेशपछि चालक पुर्पक्षका लागि थुनामा


काठमाडौं – सवारी ज्यान मुद्दामा उच्च अदालत तुलसीपुरले एक जना चालकलाई दश लाख धरौटी तोकेको छ।

घोराही उपमहानगरपालिका– १३ का ४३ वर्षीय चालक नरबहादुर पुनले १६ भदौको राति घोराही–४ स्थित सिस्ने खोलाको बाढीमा ३–०१०२४ च ४४४० नम्बरको कार हालेपछि बाढीले बगाउँदा चार महिलाको मृत्यु भएको थियो।

बाढीले कार बगाएपछि नेपालगन्जबाट तीजको लागि किनमेल गरेर घरतर्फ फर्किरहेका घोराही–१५ की ३३ वर्षीया राधा कुँवर, घोराही–१३ की राधाकी दिदी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही–१५ की ४३ बर्षीया विमला केसी र घोराही–१३ की ४० वर्षीया रितामाया पुनको मृत्यु भएको थियो।

चालक पुन भने घाइते भएका थिए। घटनापछि चालक पुनका विरुद्ध जिल्ला अदालतमा सवारी ज्यान मुद्दा चलेको थियो।
जिल्ला अदालत दाङले ९ कात्तिकमा प्रतिवादी चालक पुनसँग एक लाख धरौटी माग गरेको थियो।

तर, प्रतिवादी चालक पुन जिल्ला अदालतको आदेश बढी भएको भन्दै उच्च अदालत तुलसीपुरमा अपिल गर्न पुगेका थिए।

उल्टै उच्च अदालतले उक्त मुद्दामा सुनवाई गर्दै पुस १ गते चालक पुन जिल्ला अदालतको फैसला रद्द गर्दै धरौटी रकम कम तोकिएको भन्दै १० लाख रुपैयाँ धरौटी तोकेको हो।

उच्च अदालतका शाखा अधिकृत गोकर्ण वलीका अनुसार अदालतले तोकेको १० लाख नगद धरौटी वा सो बराबरको जमानत बुझाउन नसकेपछि चालक पुन पुर्पक्षका लागि थुनामा गएका छन्।

चालक पुनको मुद्दाको किनारा लाग्न बाँकी नै छ।

डिएसपीको निर्देशनमा मुद्दा फाँटका इन्स्पेक्टरबाट बदमासी

दुर्घटनापछि मुचुल्का प्रतिवेदन तयार पार्दा जिल्ला प्रहरी कार्यालय दाङको मुद्धा फाटका प्रहरीबाटै बदमासी भएको पाइएको छ।

मुद्धा फाटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहनजङ्ग बुढाको मिलेमतोमा गलत मुचुल्का तयार गरिएको थियो। आर्थिक प्रलोभनमा परेर बुढाले चालक बचाउन उनले जानिजानी गलत प्रतिवेदन बनाएर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेलाई झुक्याएका थिए।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्द रिजालको निर्देशनमा प्रहरी निरीक्षक बुढाको मिलेमतोमा चालक बचाउन गलत मुचुल्का बनाएको खुलेको हो। सवारि ज्यान मुद्धामा मिलेमतोमा काम भएको पुस्टि भएको छ।

कमजोरी गरेको पत्ता लागेपछि प्रहरीले पुन मुचुल्का प्रतिवेदन तयार गरेर अदालत पेश गरेको हो। ‘गाडी बीचमा पुगेपछि एकाएक बाढी आएको भन्ने शब्द प्रहरीको मुचुल्कामा छ,’ बहस गरेका एक अधिवक्ताले भने, ‘त्यो प्रहरीले गरेको बदमासी थियो।’

जानजान आर्थिक प्रलोभनमा परेर मिलेमतोमा फितलो प्रतिवेदन बनाएर दोषी उम्काउन मुद्दा फाँटकै इन्स्पेक्टरसहित प्रहरी अधिकारीले बदमासी गरेको थाहा पाएपछि एसपी काफ्लेले ती प्रहरी अधिकारीलाई अन्यत्र सरूवा गरेका छन्।

ती प्रहरी अधिकारीलाई कारबाही स्वरूप सरूवा गरेपछि आएका मुद्दा फाँटमा प्रहरी अधिकारीले तथ्य कुराको रिपोर्टसहित मुचुल्काको प्रतिवेदन अदालतमा पेश गरेका थिए।

‘खोलामा ठूलो बाढी पहिलैदेखि आइरहेको भन्ने कुराको पुष्टी खोलाको पूर्व पट्टि रोकिएका टिपर एथेष्ट प्रमाण थियो,’ ती प्रहरी अधिकारीले भने, ‘तर, मुद्दा फाँटका प्रहरीको मिलेमतोमा फितलो प्रतिवेदन पठाउनु अपराध थियो।’

खोलामा बाढी आएको देखेर रोकिराखेको टिपर चालकलेसमेत स्कार्पियो चालक पुनलाई बाढी ठूलो भएको भन्दै गाडी नहाल्न सचेत गराएका थिए। जानीजानी भेलमा असावधानीपूर्वक गाडी हालेको मृतकका आफन्तको वयान र प्रमाणबाट खुलेको ती अधिवक्ताले भने।

घटनास्थलनजिकै घोराही बजार आउन वैकल्पिक बाटोसमेत थियो। चालक पुनले सावधानीका लागि त्यो बाटो जान छोडेर टिपरसमेत रोकिराखेको भेलमा गाडी हाल्ने काम गरेको ती अधिवक्ताले तर्क गरे।

‘चालककै लापरबाहीले गर्दा चार जनाको मृत्यु भएको देखियो,’ ती अधिवक्ताले भने, ‘चालकले परिस्थिति आँकलन गर्न नसक्नु ठूलो कमजोरी देखिन्छ।’

प्रतिक्रिया