कहाँ छन् दुर्गा प्रसाईं ?


काठमाडौं— फरार भएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारत पुगेकाे खुलेकाे छ । काठमाडौंमा हिंसात्मक प्रदर्शन भएपछि उनी प्रहरीको खोजी सूचीमा परेका थिए ।

चैत १५ गते काठमाडौंमा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेपछि उनले काठमाडौं छाडेको स्रोतले जनाएको छ ।

प्रहरी अनुसन्धान अनुसार, प्रदर्शनपछि प्रसाईं ललितपुरको इमाडोलस्थित आफ्नो गुरु पुष्कर खतिवडाको घर पुगेका थिए । सोही राति फर्सीडोल हुँदै चितवनको ठोरी नाका पार गरेर भारत पुगेको प्रहरीले दाबी गरेको छ । स्रोतका अनुसार, उनी भारत पुगेको पुष्टि गर्ने प्रमाणसमेत फेला परेको छ ।

नेपाल प्रहरीले भारतीय सुरक्षाकर्मीहरूसँग समन्वय गरी उनलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले यसबारे भारतीय प्रहरीसँग छलफल थालेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रसाईंलाई जुनसुकै हालतमा पक्राउ गर्न निर्देशन दिइसकेको स्रोत बताउँछ । यसबीचमा प्रसाईंले आइतबार (चैत १७) भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंकै एक मन्दिरमा सुरक्षित रहेको दाबी गरेका छन् ।

सो प्रदर्शनमा दुईजनाको मृत्यु भएको थियो, जसमा पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जन परेका छन् । साथै, दर्जनौं सवारीसाधन तोडफोड, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति, आगजनी र लुटपाट भएका थिए ।

प्रदर्शनमा संलग्न रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र पार्टी महामन्त्री धवलशमशेर जबरा पक्राउ परिसकेका छन् । उनीहरूमाथि राज्यविरुद्धको कसुर, संगठित अपराध र उपद्रवसम्बन्धी मुद्दा लगाइएको छ ।

 

प्रतिक्रिया