

अफिम तस्करको आक्रमण: मकवानपुरमा प्रहरीको पेस्तोल लुटियो

मकवानपुर – मकवानपुरको कैलाश गाउँपालिका–६ मा लागु औषध तस्कर समूहले प्रहरीमाथि आक्रमण गरी पेस्तोल लुटेका छन् । सोमबार इलाका प्रहरी कार्यालय पालुङका हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगराती अफिम कारोबार भइरहेको सूचनाका आधारमा दुम्सीखर्क जंगल पुगेका थिए ।
अफिम तस्करहरूलाई पक्राउ गर्ने प्रयासमा लाग्दा, तस्करहरू आफ्नो सामान छाडेर भागेका थिए। प्रहरीले घटनास्थलबाट अफिम र मोटरसाइकल नियन्त्रणमा लिएर फर्कने क्रममा, स्थानीयको ठूलो समूहले उनीहरूलाई घेरा हाली कुटपिट गरेको प्रहरीको भनाइ छ । सोही भीडबाट प्रहरीको पेस्तोल लुटिएको छ ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा थप सुरक्षा टोली परिचालित भए पनि लुटिएको हतियार फेला परेको छैन ।
प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको छ । मकवानपुरमा अफिम तस्करीको बढ्दो समस्या र सुरक्षा चुनौतीको यो घटना पछिल्लो गम्भीर उदाहरण बनेको छ ।

