

गर्भवती श्रीमतीलाई घुम्न लगेर एक्साभेटरले गाडेपछि…

इलाम- इलामको फाकफोकथुम गाउँपालिकामा गर्भवती श्रीमतीको रहस्यमय रूपमा बेपत्ता भएको घटनाले आतंक मच्चाएपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो । प्रारम्भमा श्रीमान् उमेश गिरीले १९ वर्षीया श्रीमती विमला कट्टेल हराएको भन्दै प्रहरी चौकी आमचोकमा निवेदन दिएका थिए । तर अनुसन्धान अघि बढ्दै जाँदा वास्तविकता झन् भयावह रूपमा बाहिर आयो ।
प्रहरी अनुसन्धानका क्रममा उमेश गिरीकै संलग्नता रहेको प्रमाण फेला परेपछि उनलाई नियन्त्रणमा लिइयो । प्रहरीका अनुसार गिरी, एक्साभेटर चालक थिए । उनले फागुन २९ गते आफ्नै श्रीमतीलाई घुम्न जाने बहानामा धार्नेखोप पुर्याए । त्यहाँ उनले विमलालाई मुक्का प्रहार गरी लडाए, त्यसपछि घाँटी थिचेर हत्या गरे । घटनालाई लुकाउन उनले आफ्नै एक्साभेटर प्रयोग गरी खाल्डो खनेर शव गाडेका थिए ।
घटना गम्भीर बन्दै गएपछि प्रहरीले गहिरो अनुसन्धान गर्दै जाँदा चैत्र १५ गते फाकफोकथुम गाउँपालिका वडा नम्बर २ धार्नेखोपस्थित दाहाल गोलाईमा गाडिएको विमलाको शव फेला पार्यो ।
पक्राउ परेका उमेश गिरीलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ ।

