एआईजीको प्रस्तावित थप दरबन्दी पाँच पुर्याउने सरकारको तयारी
एआईजी दरबन्दी थपबारे मन्त्रिपरिषदमा सैद्धान्तिक सहमति
काठमाडौं – नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पुग्ने आकांक्षीहरु बढेपछि सरकारले कम्तीमा पाँचवटा दरबन्दी थप्ने तयारी गरेको छ।
सरकारको निर्देशनमा प्रहरी प्रधान कार्यालयले २३ पुसमा एआईजीको तीनवटा दरबन्दी थप गर्ने प्रस्तावसहितको संगठन सुपरिवेक्षण तथा व्यवस्थापन (ओएन्डएम) प्रतिवेदन गृह मन्त्रालयमा पठाएको थियो।
सिट थोरै र उम्मेदवार धेरै भएपछि दुईवटा थप्न सरकारले तयारी गरेको हो। गृह मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अझै थप दुईवटा दरबन्दी थपेर प्रस्ताव तयार गर्न निर्देशन दिइसकेका छन्।
प्रधानमन्त्री देउवाको निर्देशनपछि प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरूले प्रधानमन्त्री र सत्ता साझेदार दलका नेतामार्फत आफ्नो बढुवाका लागि दबाब दिने र लबिङमा लागिपरेका छन्।
यसअघि तीनवटा मात्र दरबन्दी थप्ने प्रस्तावको प्रतिवेदन प्रधान कार्यालयले पठाएपछि गृहकार्य सुरु भइसकेको थियो। उक्त प्रस्ताव गृहबाट मन्त्रिपरिषद बैठकमा समेत पुग्यो। स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा समेत एआईजीको दरबन्दी थपबारे सैद्धान्तिक सहमति भएको थियो।
तीनवटा दरबन्दीको लागि सरकारले तीनजना डिआईजीको नाम कन्र्फम गरिसकेको थियो। जसमा डिआईजीहरु धीरज प्रताप सिंह, रवीन्द्र धानुक र उत्तमा सुवेदीको नाम सिफारिस गरेको थियो।
तर, आफूले रुचाएको व्यक्तिको नाम छुटेपछि गृहमन्त्री बालकृष्ण खाँणपत्नी मन्त्रु खाँणले समेत एआईजीको दरबन्दी थप्न दबाब दिएको बताइन्छ। स्रोतका अनुसार एआईजीको प्रस्तावित थप दरबन्दी तीनबाट पाँच पुर्याउनको लागि खाँणले गृहमन्त्रीलाई दबाब दिएकी हुन्।
मन्जु खाँणले समेत एकजना डिआईजी आफ्नो कोटाबाट एआईजी हुनुपर्ने अडान राखेकी छिन्। स्रोतका अनुसार मन्जुले ईश्वरबाबु कार्कीलाई जसरी भएपनि एआईजी बनाउनुपर्ने भन्दै गृहमन्त्री र प्रधानमन्त्रीलाई दबाब दिएकी छन्। कार्की पनि मन्जु खाँणलाई भेटेरै आफूलाई जसरी भएपनि एआईजी बनाइदिन भन्दै लबिङ गरेका छन्।
आर्थिक चलखेलमार्फत एआईजी बढुवामा कार्यक्षमतामा कमजोर मानिएकाहरुले लविङ गरिरहेका कारण कार्यक्षमतामा अगाडि रहेका सिंह, धानुक र सुवेदी बढुवामा छुट्न नहुने प्रहरी अधिकारीहरु नै बताउँछन्। कार्की हालका प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीका ब्याची हुन्।
जबकी कार्कीले आउँदो १९ वैशाखमा आईजी क्षेत्रीसँगै अवकाश पाउँदैछन्न्। त्यसकारण पनि आईजीको ब्याचका डिआईजीहरूलाई बढुवा गर्न नहुने दबाब गृहदेखि बालुवाटारसम्म पुगेपनि गृहमन्त्री पत्नी हाबी भएसँगै कार्र्की एआईजी बन्न लागिपरेका छन्।
यस्तै वसन्त पन्त र वसन्त लामा समेत एआईजीको दौडमा छन्।
प्रहरी प्रधान कार्यालयले एआईजी तहमा नयाँ दरबन्दी थपका लागि सिफारिस गरेको यो तेस्रो पटक हो। प्रधान कार्यालयले यसअघि भदौ र कात्तिकमा पनि दरबन्दी थपको प्रस्ताव गृहमा पठाएको थियो।