निषेधाज्ञा खुकुलो भएपछि कोरोना भाइरस फेरि फैलिने सम्भावना कस्तो छ?


काठमाडाैं – कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिन थालेपछि काठमाडाैं उपत्यकामा गत वैशाख १६ गतेबाट सुरु गरिएको निषेधाज्ञा पटक पटक थपियो। तर केही सातायता तुलनात्मक रूपमा निषेधाज्ञा खुकुलो भएको छ।

अस्पतालहरूमा केही साताअघि चाप घटेको र एकदमै गम्भीर बिरामीको सङ्ख्या पनि कम भइरहेको विवरण सार्वजनिक भइरहेको छ। उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले सोमवारबाट सर्वसाधारण नागरिकलाई हिँडडुल र किनमेल गर्न थप सहज बनाइदिएका छन्।

तर यसरी खुकुलो बनाउँदा केही घटे जस्तो देखिएको सङ्क्रमितको सङ्ख्यामा अस्वाभाविक परिवर्तन हुन सक्ने आशङ्का पनि व्यक्त भएको छ।

सर्वसाधारणको आवागमन खुकुलो पारिएको अवस्थामा कतिपयले विभिन्न स्थानबाट मानिसहरू कोरोना भाइरसको ‘हटस्पट’ मानिएको काठमाडाैं उपत्यका फर्किँदा जोखिम बढ्न सक्ने बताइरहेका छन्। तर चिकित्सकहरू अहिले नै त्यस्तो भनिहाल्न मिल्ने अवस्था नरहेको बताउँछन्।

अहिले काठमाडाैं उपत्यकामा सङ्क्रमित हुनेहरूको सङ्ख्यामा देखिएको कमीको कारण ‘चेन ब्रेक’ अर्थात्‌ कोरोना भाइरस सङ्क्रमणको विस्तार रोकिएको हो वा धेरैभन्दा धेरै मानिसको शरीरमा एन्टिबडी विकास भएर हो भन्ने कुराको सङ्केत क्रमशः देखिँदै जाने उनीहरूको भनाइ छ। दुवै अवस्थामा एकाएक धेरै नै सङ्ख्यामा सङ्क्रमितहरू वृद्धि हुने सम्भावना भने ‘न्यून रहेको’ उनीहरू बताउँछन्।

आउजाउ बढ्दा कोभिड फैलिन्छ कि फैलिँदैन?

सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी सुरक्षित बनाउने जनस्वास्थ्यका नीतिहरू धेरै लागु नगरिएको अवस्थामा काठमाडाैंमा अझै सङ्क्रमितहरू फेला परिरहेको र गतिविधि बढ्दा सङ्क्रमण अझै बढ्न सक्ने बताउँछन्।

उनका अनुसार हाल उपत्यकावरपर वा अन्य विभिन्न स्थानका गाउँघरतिर सङ्क्रमण उच्च दरमा बढे जस्तो देखिएको छ।

काठमाण्डू

‘अनि त्यहाँबाट मानिसहरू यता आउँदा अलिकति सङ्क्रमण बढ्छ नै। तर त्यो कति धेरै हुन्छ भन्न चाहिँ गाह्रो छ,’ उनले बीबीसीसँग भने।लामो समयदेखि जारी गरिएको निषेधाज्ञा क्रमशः खुकुलो पार्दै लानुको विकल्प नभएको उनको भनाइ छ।

‘तर खुकुलो गर्दै जाँदा हामीले सङ्क्रमण बढेको थाहा पाउँछौ कि पाउँदैनौ त? त्यस्तो कुरा थाहा पाउने हामीले संयन्त्र बनाएका छौँ कि छैनौँ? त्यो कुराहरू हामीले सोच्नुपर्ने थियो,’ उनले प्रश्न तेर्स्याउँदै भने।

‘खुकुलो बन्दै जाँदा सङ्क्रमण थपिने र केही हदसम्म स्पाइक (वृद्धि) देखिने अवस्था रहे पनि धेरै मानिसहरू सङ्क्रमित भइसकेको अवस्थामा सानो उभार आए पनि त्यो धेरै दिगो भने हुँदैन होला। किनभने सङ्क्रमित बनाउन सक्ने मानिसको सङ्ख्या एकदमै कम छ,’ काठमाडाैं उपत्यकाको अवस्थाबारे सुवेदीले भने।

अहिले सर्वसाधारणले नै आफूलाई शङ्का लागेको अवस्थामा कोभिड परीक्षण गराइरहेका छन्। सरकारले भने परीक्षण गरिदिएको छैन। यस्तो अवस्थामा मानिसहरूलाई परीक्षण गर्न अलि सहज अनि सुलभ बनाइदिनुपर्ने चिकित्सकहरू बताउँछन्।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन पनि मानिसहरू देशका विभिन्न स्थानबाट काठमाडाैं उपत्यका आउँदैमा समस्या उत्पन्न नहुने आफ्नो ठम्याइ रहेको बताउँछन्।

‘भाइरसको स्वरूप उत्परिवर्तन भएर नयाँ भेरिअन्ट, त्यो पनि एन्टिबडीलाई छल्न सक्ने खालको रहे अर्को लहर तान्न सक्छ। नत्र त दोस्रो लहर कम हुँदै गएको छ। काठमाडाैंमा धेरै मानिसहरूमा एन्टिबडी बनिसकेको भए गाउँबाट मानिसहरू आउँदैमा समस्या हुँदैन,’ उनले भने। बीबीसी

प्रतिक्रिया