बलम्बु प्रहरीको नियन्त्रणमा रहेका युवकको मृत्यु, घटना गुपचुप राख्ने योजना!


काठमाडौं – महानगरीय प्रहरी प्रभाग, बलम्बुको नियन्त्रणमा रहेका एक युवकको मृत्यु भएको छ। लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका सुनसरीका ओम प्रकाश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना २८ पुसको हो।

गत २८ पुस बुधबार साँझ साढे ६ बजेको समयमा लागूऔषध ब्राउन सुगरसहित बलम्बुबाट खटिएको प्रहरी टोलीले श्रेष्ठसँगै चार जनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार अपरेशनकै क्रममा श्रेष्ठले ब्राउन सुगर निलेका थिए। उनीहरुलाई नियन्त्रण लिन खोज्दा श्रेष्ठले ब्राउन सुगरसहित निलेर प्रमाण नष्ट खर्न खोजेको प्रहरीको आरोप छ। स्रोतका अनुसार तीन ग्राम ब्राउन सुगर निलेपछि श्रेष्ठलाई वान्ता गराउन लगाइएको थियो।

त्यसपछि ओभरडोजका कारण श्रेष्ठको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको बलम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेशचन्द्र कोइरालाले बताए ।

तर, प्रहरीले श्रेष्ठको मृत्यु गुपचुप राखेर परिवारलाई सोहीदिन राति नै बुझाइएको थियो । इन्स्पेक्टर कोइराला भन्छन्, ‘श्रेष्ठको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनको परिवारलाई शव बुझाइसकेका छौं। दाहसंस्कार समेत भइसकेको छ।’

विश्वस्त स्रोतका अनुसार श्रेष्ठको मृत्यु बलम्बु प्रभाग परिसरमै भएको हो। राति ९ बजेको समयमा मृत्यु भएपनि बलम्बु प्रहरीले श्रेष्ठलाई १० बजेको समयमा आफ्नै गाडीमा राखेर नजिकैको ओम समाज अस्पताल पुर्याएको थियो।

ओम समाज अस्पतालले मृत घोषित गरेपछि श्रेष्ठलाई त्यसपछि वीर अस्पताल लगिएको स्रोतको दाबी छ। त्यहिँबाट मृतकका दाजुलाई सम्पर्क गरेर शव बुझाइएको बताइएको छ। यदि समयमा श्रेष्ठले उपचार पाएको भए बाँच्ने आधारहरु प्रशस्त देखिन्छ।

ब्राउनसुगर निलेको थाहा पाएपछि प्रहरीले तत्कालै अस्पताल लगेर उपचार गराउनुपर्थ्यो । तर, त्यसो नगरी उल्टो उनलाई बलम्बु प्रभागमै लगेर राखियो। जब गाह्रो भएर ढले, त्यहिँ श्रेष्ठको मृत्यु भयो। अनि मात्र बलम्बु प्रहरीले अस्पताल लैजाने नाटक रच्यो।

यसरी नियन्त्रणमा लिएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले घटनाबारे सार्वजनिक नगरेर गुपचुप राख्नुले काठमाडौं प्रहरीप्रति प्रश्न उब्जिएको छ। श्रेष्ठको मृत्युलगत्तै काठमाडौं प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरी आफैं बलम्बु पुगेका थिए।

एसएसपी गिरीले तत्कालै वीर अस्पताल लैजान निर्देशन दिएपछि मात्र श्रेष्ठलाई उपचारको लागि भन्दै वीरमा लगिएको नाटक गरिएको हो। थानकोट वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डे, एसएसपी गिरी र इन्स्पेक्टर गिरीले घटना गुपचुप राख्न खोजेपनि बाहिर पाँच दिनपछि मात्र आएको हो।

जबकी घटनाबारे श्रेष्ठको मृत्यु कसरी भएको भनेर बुझ्न खोज्दा एसएसपी गिरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीसँग सम्पर्क गर्न भन्छन्। उनी घटनाबारे केही नबोल्ने बताउँछन्। यता एसपी मैनालीलाई सोध्दा आफूलाई केही पनि थाहा नभएको बताउँछन्।

त्यस्तै इन्स्पेक्टर कोइरालाले मृत्यु भएको पुष्टि गरेपनि के कसरी मृत्यु भएको भन्नेबारे केही बताउन चाहेनन्। उनले पनि एसपी मैनालीसँग सम्पर्क गर्न भने।

घटनाबारे छानबिन गर्न काठमाडौं प्रहरीले बलम्बुमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा छानबिन समिति गठन गरेको छ। तर, ती असईलाई समेत सम्पर्क गर्दा घटनाबारे आफूलाई केही थाहा नभएको बताए।

श्रेष्ठसँगै पक्राउ परेकालाई छाडियो

श्रेष्ठसँगै ब्राउन सुगरसहित परेका अन्य तीन जनालाई सोही दिन राति छाडिएको छ। ‘यो केस बाहिर नल्याउने सर्तमा उनीहरुलाई छाडिएको हो,’ स्रोत भन्छ, ‘उनीहरुसँगै पक्राउ परेका श्रेष्ठको मृत्यु भएपछि अब मुद्दा चलाउन गाह्रो हुने भएकाले उनीहरुलाई छाडिएको हुनसक्छ।’

उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरिरहेको थियो। उनीहरुको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद भएको थियो।

यस विषयमा पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) हेमन्त मल्ल ठकुरीका अनुसार ब्राउन सुगरको डोज सबैको एउटै हुँदैन। ‘कसैलाई थोरै डोजले पुग्छ भने कसैलाई धेरै डोज चाहिन्छ,’ उनी भन्छन्।

आफ्नै मात्रामा खाइरहेको बेला प्रहरीले समातेपछि डरले धेरै खाएको हुनसक्ने मल्लको भनाइ छ। ओभरडोजका कारण श्रेष्ठको मृत्यु भएको हुनसक्ने मल्लको बुझाइ छ। एकजना मान्छेले बढीमा चारसय मिलिग्राम ब्राउन सुगर सेवन गर्ने मल्लले बताए।

प्रतिक्रिया