कैलालीमा ‘ड्रग्स’को नशामा लठ्ठिएकी युवतीको बलात्कारपछि हत्या, ११ महिनापछि दुईजना पक्राउ


कैलाली-  कैलालीको धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी बिमा थापामगरको जबरजस्ती करणीपछि हत्या भएको खुलेको छ । डडेल्धुराको अमगरगढी नगरपालिका–२ की थापामगरको सामुदायिक वनमा २०८० मङ्सिर ६ गते शव फेला परेको थियो ।

धनगढी उपमहानगरपालिका–४ मा बसोबास गर्दै आएकी ३१ वर्षीया थापामगरको २०८० कात्तिक २९ गते राति लागुऔषध सेवन गर्दै जबरजस्ती करणीपछि हत्या भएको खुलेको हो । कैलाली प्रहरीले घटनाको ११ महिनापछि मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय जनक देउवालाई आइतबार सार्वजनिक गरेको छ ।

जनक देउवाको घरमा २०८१ कात्तिक २९ गते बुधवार राति मुस्कान भन्ने बिमा थापा मगरलाई बोलाएको र धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय संजीव चौधरी र जनक देउवाले लागुऔषध सेवन गर्दै पालैपालो शारीरिक सम्बन्ध राखेको खुलेको छ ।

प्रहरीको अनुसन्धान अनुसार उनीहरूको कुटपिटबाट थापामगर बेहोस भएकी थिइन। बेहोस थापा मगरलाई देउवा र चौधरीले स्कुटरमा राखेर सरस्वती सामुदायिक वनमा फालेका थिए ।

उनीहरूले लागुऔषध सेवन गरेर मृत्यु भएको बनाउन लागुऔषधका पाकेटसमेत शव फालेको स्थानमा छोडेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुमध्ये चौधरीलाई सीमावर्ती भारतीय बजार गौरीफन्टा र देउवालाई धनगढीबाटै पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जानकारी दिए । दुवै जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइने एसपी बिष्टले बताए ।

प्रतिक्रिया