भारतमा नेपाली महिलाको क्रुर हत्या, फ्रिजमा भेटिए लासका ३२ टुक्रा


काठमाडाैं- भारतकाे बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एक महिलाको हत्यापछि उनको शवलाई ३२ भन्दा बढी टुक्रा पारेर फ्रिजमा राखिएको घटना बाहिर आएको छ । महिला नेपाली भएकाे खुलेकाे छ । हाल उनकाे परिवार झारखण्डमा बस्दै आएकाे थियाे । जानकारीका अनुसार शनिबार बेंगलुरुको व्यालिकवल क्षेत्रमा रहेको फ्ल्याटको फ्रिजमा २९ वर्षीया महालक्ष्मी दासको  शव भेटिएको थियो ।

दुई दिनदेखि दुर्गन्ध फैलिरहेको देखेपछि शनिबार दिउँसो करिब ३ः३० बजे  मृतकका घरधनीले उनकाे परिवारलाई फोन गरेका थिए ।

फ्रिजमा किरैकिरा

घरधनीले फाेन गरेपछि महालक्ष्मीकी आमा र बहिनी फ्ल्याटमा पुगेका थिए । उनहरू त्यहाँ पुग्दा महालक्ष्मीकाे फ्ल्याटकाे अगाडिको ढोका बाहिरबाट बन्द थियाे । कोठाबाट दुर्गन्ध आइरहेको थियो । उनीहरुले १६५ लिटरको सिंगल डोर फ्रिजबाट केही किरा निस्किरहेको देखे । फ्रिज खोल्दा सडेको शव देखेपछि दुवै बेहोस भएका थिए ।

दुर्गन्धले घरधनीलाई पनि चक्कर लाग्यो । उनी तुरुन्तै त्यहाँबाट बाहिर निस्केर प्रहरीलाई बोलाए । प्रहरीले घटनास्थलमा पुगेर शवका अंगहरु आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ ।

मलमा काम गर्थिन् महालक्ष्मी
महालक्ष्मी एउटा मलमा काम गर्थिन् । उनले व्यालिकवलको पाइपलाइन रोडमा रहेको भवनको पहिलो तल्लामा फ्ल्याट भाडामा लिएकी थिइन् । उनी त्यहाँ एक बेडरूमको फ्ल्याटमा एक्लै बस्थिन् । भवन मालिक जयराम सोही भवनको भुइँ तल्लामा बस्छन् ।

महालक्ष्मी पाँच महिनादेखि त्यहाँ बस्दै आएको छिमेकीले बताएका छन् । सुरुका दिनमा उनका दाजु पनि उनीसँगै बस्थे । महालक्ष्मी श्रीमानबाट अलग भइसकेकी थिइन् । महालक्ष्मीका श्रीमान् बच्चासँग नेलमंगलामा बस्छन् ।

सेप्टेम्बर १२ मा भएको थियो हत्या 
प्रहरीले हत्यामा एक वा बढीको संलग्नता थियो कि भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ ।  पश्चिमाञ्चल डिभिजनका एसीपी सतीश कुमारले सेप्टेम्बर १२ मा वा पछि महिलाको हत्या भएको बताएका छन् । उनको मोबाइल सेप्टेम्बर १२ देखि स्वीचअफ थियो । उनीहरुले कल रेकर्ड जाँच गरिरहेका छन् । एक अधिकारीका अनुसार  उनको परिवारका सदस्यहर मध्ये कसैले पनि यति लामो समयसम्म उनीलाई सम्पर्क गर्न खोजेको थिएन ।

महालक्ष्मीलाई पिक-ड्रप गर्ने व्यक्तिको खोजी 
हत्यारा महालक्ष्मीको चिनेको व्यक्ति भएको हुनसक्ने प्रहरीको अनुमान छ । घरबाट कुनै सामान चोरी भएको छैन, न त हराएको छ । महालक्ष्मीलाई मार्नुअघि न त कोही घरभित्र पसेको छ न त कुनै संघर्ष नै भएको छ ।

केही छिमेकीले  महालक्ष्मीलाई लिन बिहान एकजना मानिस आउने र राति घर फर्काउने गरेको बताएका छन् ।  प्रहरीले उनकाे खोजी गरिरहेको छ । ‘पिक एन्ड ड्रप ब्वाइ’ले महालक्ष्मीलाई प्रपोज गरेको कतिपयको भनाइ छ । दुवैबीच अफेयर रहेकाले महालक्ष्मीको परिवारले उनलाई छाडेका  बताइएकाे छ ।

 

प्रतिक्रिया