सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन !


काठमाडौं – सहकारी ठगीबारे छानबिनका लागि गठित संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

यसअघि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो भने सम्बन्धित मन्त्रालयमा पठाएको थियो । गृह मन्त्रालयमा कार्यान्वयनका लागि निर्देशन आएसँगै गृहमन्त्री लेखकले कार्यान्वयनका लागि निर्देशन दिएका हुन् ।

गृहमन्त्री रमेश लेखकले निर्देशन दिए लगत्तै प्रहरीले सहकारी ठगी प्रकरणमा पूर्वडीआईजीसमेत रहेका गोरखा मिडिया प्रालिका तत्कालिन सञ्चालक छविलाल जोशीलाई नियन्त्रणमा लिएको छ ।

उनलाई पक्राउ गरेसँगै गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउका लागि प्रहरी परिचालन गरेको छ ।

‘सहकारी ठगी बारेको संसदीय समितिको रिपोर्ट कार्यान्वय गर्न निर्देशन छ,’ स्रोतले भन्यो, ‘उहाँलाई आजै पक्राउ गर्ने तयारी छ । त्यसका लागि प्रहरी परिचालन गरिएको छ ।’

संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालिन प्रवन्ध निर्देशक लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको थियो।

प्रतिक्रिया