डिआइजी चन्द पिएर झ्याप भएपछि…


काठमाडाैं-  बेहोसीपछि त होसमा आउँदा क्या दामी भो, यहाँ पिउने म पिलाउनेको पो क्या बदनामी भो… । तर, यहाँ गायक शिव परियारले भनेजस्तो छैन । यहाँ त पिउनेकै बदनामी भइरहेको छ ।

कुरा हो २०५२ सालमा इन्स्पेक्टर पदमा भर्ना भएर हाल कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीको ।

ठकुरी विवादमा परिरहने प्रहरी अधिकारी हुन् । डिएसपी हुँदा जमिम शाह हत्यामा संलग्न भारतीय अपराधीसँग उनको कनेक्सन देखिएको थियो । तर त्यसबेला प्रहरी नेतृत्वमा सुदूरपश्चिममा उच्च अधिकारी भएकाले उनी जोगिए । पछि एसपी भएर उनी कैलालीमा बसे । त्यहाँ पनि उनी बारम्बार विवादमा परेका थिए ।

डिआइजीमा बढुवा भएपछि उनको पोष्टिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको थियो । सुरुदेखि नै कमजोर देखिएका उनी त्यहाँ पनि अछुतो रहन सकेनन् । यतिसम्मकी उनले एयरलाइन्स कम्पनीसँग निःशुल्क टिकट मागेको घटना बाहिरिएको थियो । उनले नेपाल वायुसेवा निगमलाई आफूसहित परिवारका लागि बैंकक घुम्न सित्तैमा टिकट मागेका थिए ।

यस्तै भिजिट भिसामा भाग खोजेपछि विमानस्थलका अन्य निकायसँग उनको टकराब बढेको थियो । त्यही मनमुटाव बढेर विमानस्थलमा कर्मचारी प्रहरीबीच कुटाकुट नै भएको थियो । घटनापछि बनेको छानबिन समितिले उनको कमजोरी औँल्याएको थियो । त्यहीँ क्रममा उनले राजीनामा पनि दिएका थिए । तर पछि राजीनामा फिर्ता लिएर उनी काममा फर्किएका थिए ।

प्रहरी वृत्तमा कमजोर कमाण्ड भएका प्रहरीका रूपमा चिनिएका उनले फेरि कर्णालीमा उपद्रो मच्चाएको खबर बाहिरिएको छ । हिजो (मंगलबार) राति कार्यालय बाहिरबाट मदिरा पिएर आएपछि होहल्ला गरेका थिए । त्यसपछि उनी कार्यालयबाटै भागेको स्रोतले जानकारी दिएको छ ।

कार्यालयबाट निस्केपछि मदिराकै नसामा उनी काठमाडौं जान्छु भन्दै सुर्खेत देउती प्रालिको क.प्र. ५७२९ नम्बरको रात्रीबसमा चढेका थिए । त्यो खबर पाएपछि कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माको टोलीले उनलाई सुब्बाकुना चोकबाट फर्काएको स्रोतले बताएको छ ।

मदिराले मात्तिएका उनले कार्यालय फर्केपछि पनि ‘दानवी रुप’ परिवर्तन गरेनन् । डीआइजी चन्दले राति नै धमाधम प्रहरी जवान तथा हवल्दारहरुको काज सरुवा समेत निकालेको बताइएको छ ।

स्रोतका अनुसार डिआइजी अर्जुन चन्द ठकुरी पछिल्लो २ हप्ताबाट लगातार मदिरा पिएर प्रहरी कर्मचारीहरुलाई दुःख दिँदै आएका छन् । उक्त जानकारी प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त कुँवरसम्मै पुगेको बताइन्छ । आइजीपी कुँवरले उनीमाथि कारबाहीको डन्डा चलाउने तयारी गरिरहेको बताइएको छ ।

यो बारेमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक(डिआइजी) दानबहादुर कार्कीलाई जिज्ञासा राख्दा उनले आफूलाई कुनै जानकारी नभएको बताए ।

प्रतिक्रिया