नेपाल–भारत संयुक्त सैनिक अभ्यासबाट ७ सय सैनिक दीक्षित


काठमाडाैं – मित्रराष्ट्र भारतको पिथौरागढमा आश्विन ०४ गतेबाट संचालन भएको INDO-NEPAL BATTALION LEVEL COMBINED TRAINING “EX. SURYA KIRAN- XV ”  २०७८ आश्विन १६ गते औपचारिक रुपमा सम्पन्न भएको नेपाली सेनाकाे  जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

सेनाका अनुसार, उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानीको नेतृत्वमा ३०० जना र भारतीय सेनाका ४०० जना फौज सहभागी भएका थिए । संयुक्त सैनिक अभ्यासमा विभिन्‍न सैनिक युद्धकला, अभ्यासका साथै विपद एवं कोभिड-१९ जस्ता महामारीको दौरान सुरक्षा फौजको भूमिका आदिका बारेमा अभ्यास गरिएको थियो भने सहभागी फौजहरुले आ-आफ्नो पेशागत अनुभवहरु समेत साटासाट गरेका थिए ।

भारतीय सेना मध्य कमाण्ड सेनापति रथी  एस.एस. महलद्वारा अन्तिम प्रवचन दिइएको उक्त कार्यक्रममा नेपाली सेनाको मध्य कमाण्ड हे.क्वा.का कमाण्ड सेनापति उपरथी  विनय बिक्रम राणा, नं.३ बाहिनी अड्‍डाका बाहिनीपति सहायक रथी कुमार बाबु थापा, दुवै देशका सैनिक सहचारीहरु तथा भारतीय सेनाबाट सहभागी गणका कमाण्डिङ्ग अफिसर Col Nitin Kumar Kaldante लगायतको उपस्थिति रहेको थियो ।

नेपाली सेना र भारतीय सेनाबीच सम्पन्न यस सैनिक अभ्यासले दुई देश वीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशका सेनाको सकलदर्जामा आधारभूत सैनिक सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको बताएको छ ।

प्रतिक्रिया