कांग्रेसमा ‘सुकिलामुकिला’ प्रवृत्तिविरुद्ध क्रान्ति


नेपाली लोकतान्त्रिक आन्दोलनका सर्वोच्च नेता वी.पी. कोइरालालाई केही दशकपहिले नै पार्टीपंक्तिको आचार तथा विचारमा आएको भ्रष्टताका बारेमा सोधिएको थियो। यस प्रवृत्तिबाट पार्टीलाई कसरी जोगाउने भन्ने सवालमा सोधिएको प्रश्नमा उहाँले भन्नुभएको थियो पार्टीलाई भर्खरै सहजै यसबाट मुक्त गर्न सकिदैन । बरु, नेपाली काँग्रेस यीनै सुकिला मुकिला वर्गको हातमा पुग्ने र पार्टी पंक्तिमा व्यापकअ सन्तुष्टि र निराशाको अवस्था सिर्जना हुनेछ । नेता कोइराला तत्कालीन अवस्थामा निराश सुनिएता पनि भविष्यमा पार्टीलाई बचाउनका लागि इमान्दार कार्यकर्ताले क्रान्ति गर्नु पर्ने कुराको भविष्यवाणी गर्नुभएको थियो । अहिले नेपाली काँग्रेस पूर्णरुपमा त्यहि सुकिला मुकिला भनिएको वर्गको कब्जामा पुगेको छ । अब वर्तमानमा आईपुग्दा नेपाली काँग्रेस पार्टीलाई बचाउनका लागि मात्रै नभएर राष्ट्रिय एकता तथा सार्वभौम सत्ताको संरक्षण गर्नका लागिपनि पार्टीमा आबद्ध लाखौं कार्यकर्ताले क्रान्ति गर्नु पर्ने बेला आएको छ ।

नेपाली काँग्रेसले लोकतन्त्रको आन्दोलनमा सधैं अग्रेणी भूमिका खेल्यो । यसको अस्तित्वको अर्थ नै लोकतन्त्रको प्रर्वद्धन र यही राजनीतिक संस्कारको विकासमा रहेको छ ।विडम्बना, सुकिला मुकिलाहरुको हैकममा पार्टी पुग्दा विस्तारित हुँदै गएको राजनैतिक भ्रष्टाचार तथा संस्कारमा आएको क्षयीकरणका कारण विधानको कार्यान्वयन गर्न नसकिने अवस्था बनेको छ । सत्ता सञ्चालन गर्दा अनेक प्रकारका भ्रष्टचारका काण्डहरुमा पार्टीको नेतृत्व नै मुछिएका अनेकन घटनाहरु छन् । खास गरि नेता वी.पी. कोइरालाको निधन तथा खुलाबजार अर्थतन्त्र अंगालेको समय पछि पार्टीमा आन्तरिक असन्तुष्टि,विग्रह तथा राजनीतिक संस्कारमा तिव्र पतन हुँदै गएको अवस्था छ । बहुदलका लागि जनआन्दोलनको नेतृत्व गरेको पार्टीले बहुमत प्राप्त गरे पछि पार्टीभित्र एक अर्काको विरुद्धमा मोर्चा खोल्ने तथा अन्तरघात गरेर आफ्नै पार्टीका नेताहरु एकअर्कालाई सिध्याउने खेलमा लाग्दा ०४८ सालमा प्राप्त बहुमतको सरकारले जनअपेक्षा अनुरुपको काम गर्न सकेन भने अझै पार्टी विचारबाट पर धकेलिंदै जाँदा विचाररहित गुटउपगुटहरुको लडाई व्यापक बन्दै गयो ।

राजनीतिमा नयाँ पुस्ता विचार, निष्ठा तथा त्यागले राजनीति गर्ने हो भन्दा पनि जसरी भएपनि धनजम्मा गर्ने अनि त्यहि धनका आधारमा पार्टीमा हावीहुने महत्वाकांक्षाले अगाडि बढेको देखिन्छ ।

प्रमुखतःपार्टीमा आएको समस्याका कारण नै हो ०५१ सालको मध्यावधि निर्वाचनमा जान देश बाध्य बन्यो । त्यसको परिणाम स्वरुप पार्टीभित्र तथा जनमानसमा व्यापक निराशा छायो । बहुदलको अभ्याससँगै भ्रष्टचार निवारण र सुशासनको अपेक्षा गरिएको थियो । ती उद्देश्य प्राप्त गर्न सकिएन भने, अझै, पार्टीका उच्चपंक्तिका नेताहरु अनेकन भ्रष्ट आचारमा लिप्तभएका कुराहरु जनताका सामु सार्वजानिक हुन थाले । यहि निराशाका माझ कम्युनिष्टहरु आफ्नो संगठनलाई आलोचना तथा आश्वासनका आधारमा विस्तार गर्न सफल भए । परिणाम स्वरुप हिंसाको प्रयोग गर्ने र अहिंसालाई रणनीतिक रुपमा प्रयोग गर्ने दुवै खाले कम्युनिष्टहरुको वर्चस्व देशमा बढ्दै गयो ।

जनताले नेपाली काँग्रेसलाई फेरी ०५६ सालमा बहुमतको सरकार चलाउने अवसर दिए ।तर, त्यहि पुरानो सत्ता लोलुपता तथा वैचारिक विचलनको रोग तिव्र हुँदा आन्तरिक कलह बढ्यो । पार्टीले फुटको समेत सामना गर्नु पर्ने अवस्था आयो । त्यसका साथसाथै पार्टीका सभापति तथा प्रधानमन्त्री र अन्य नेतृत्व पंक्तिसमेत घोटालामा मुछिएका घटनाहरु सार्वजानिक भए । नेतृत्वपंक्ति सुविधा भोग बन्दै जाँदा अनेक प्रकारका सांस्कृतिक विचलनका घटनाहरु घटित हुन थाले । यसरी, छिट्टै नै भ्रष्टचार पार्टी पंक्तिमा संस्थागतनै हुनगएको देखियो । विस्तारै भ्रष्ट आचार भएका व्यक्तिहरुको बोलवाल बढ्दै गयो ।वर्तमानसम्म आउदा कालो धन थुपारेर पार्टीका कार्यकर्ताको नैतिकता खरिद गर्ने र हैकम चलाउने प्रवृत्ति पार्टीको मुख्य प्रवृत्ति जस्तो हुनगएको छ । अहिले पार्टीमा वैचारिक तथा सांगठनीक संकट आउनुमा मुख्य कारण यहि प्रवृत्ति हो । नेता कोइरालाले संकेत गर्नु भएको सुकिला मुकिलाहरुको प्रवृत्ति वा अहिले भन्ने गरिएको दलाल प्रवृत्ति यहि नै हो । यस प्रवृत्तिका घोतकहरु विदेशी शक्तिकेन्द्रहरुको दलाली गर्दै पार्टीमा विचार तथा निष्ठामा रहने कार्यकर्ताहरुका विरुद्धमा षड्यन्त्र गरेर उनीहरुलाई किनारा लगाइ अनैतिक ढंगले हावी हुँदै जाने परिस्थिति पछिल्लो दुई दशकमा झनै व्यापक बनेको छ ।

यस प्रवृत्तिका मानिसहरुले देशको राजनीति पूर्ण रुपमा कब्जा गरि सकेकाले नेता वी.पी. कोइरालाले भने झै यसका विरुद्धमा अब विचार र त्यागले प्रेरित कार्यकर्ताहरु एकजुट भई क्रान्ति गर्नु अत्यन्त जरुरी भएको छ । अहिंसा, प्रेम र विवेकले स्थापित गर्नु पर्ने यस एकताबद्ध क्रान्तिद्वारा नै नेपाली काँग्रेस पार्टी तथा राष्ट्रिय राजनीतिको शुद्धिकरण सम्भव छ । यस क्रान्तिका मार्फत पार्टी र राष्ट्रलाई बचाउनु पर्ने अवस्था आएकाले आसन्न महाधिवेशनमा नेपाली काँग्रेसका तमाम कार्यकर्ताहरुले संस्थापक नेता कोइरालाले भने झैं सक्षम नीति तथा नेतृत्वको चयन गर्न आवश्यक भएको छ ।

यस सुकिला मुकिला प्रवृत्तिका कारण अहिले समाजमा पैसा कमाउने मानिसको प्रतिष्ठा छ । पैसाको श्रोत खोजिदैन । बरु, श्रोतविना नै पैसा कमाउने मानिस चलाख तथा अरुभन्दा‘तिक्ष्ण’मानिने गरिन्छ । यसरी समाजमा आएको सांस्कृतिक पतनको असर पार्टीमा पनि देखिनु स्वाभाविक थियो । पार्टीका तल्लादेखि उपल्ला निकायसम्म पैसाकै आधारमा पद तथा जिम्मेवारीको बाँडफाँड हुने परिस्थिति बनेको छ भने चुनावमा पार्टीले दिने टिकटहरुको पनिखरिद विक्रि हुने गरेको कुरा सार्वजानिक नै छन् । सिद्धान्तविहिन सत्ता केन्द्रित राजनीतिका कारण पैसा हुनेले मात्र चुनाव जित्छ भन्ने भ्रमले मान्यता पाएको छ । चुनावमा कालो धनको प्रयोग गरि गुण्डागर्दी तथा जनताको भोटको क्रयविक्रय हुने घटनाहरु सामान्य भईसकेको अवस्था छ ।

विस्तारै भ्रष्ट आचार भएका व्यक्तिहरुको बोलवाल बढ्दै गयो ।वर्तमानसम्म आउदा कालो धन थुपारेर पार्टीका कार्यकर्ताको नैतिकता खरिद गर्ने र हैकम चलाउने प्रवृत्ति पार्टीको मुख्य प्रवृत्ति जस्तो हुनगएको छ । अहिले पार्टीमा वैचारिक तथा सांगठनीक संकट आउनुमा मुख्य कारण यहि प्रवृत्ति हो ।

यसरी पार्टीमा पैसाको आडमा जे पनि सम्भव हुने देखिएका कारण नैतिक संकट उत्पन्न भएको छ भने इमान्दार र सक्षम मानिस पार्टीको कार्यकर्ता बन्ने कुरामा उदास हुनु स्वाभाविक जस्तो हुन गएको छ । राजनीतिमा नयाँ पुस्ता विचार, निष्ठा तथा त्यागले राजनीति गर्ने हो भन्दा पनि जसरी भएपनि धनजम्मा गर्ने अनि त्यहि धनका आधारमा पार्टीमा हावीहुने महत्वाकांक्षाले अगाडि बढेको देखिन्छ । जति नयाँ पुस्ता राजनीतिमा आउँछ उति त्यो पुस्ता भ्रष्ट आचारणको हुने विडम्बना हाम्रो राजनीतिमा देखिएको छ । यो नै वर्तमानको सबैभन्दा ठूलो राजनैतिक चुनौति भएको छ ।

नेपाली काँग्रेसले क्रान्ति गर्नका लागि वैचारिक तथा नैतिक नेतृत्व स्थापना गर्न जरुरी छ । त्यसका लागि सर्वप्रथम पार्टीको स्थापनाकालीन सिद्धान्त समाजवादको पुर्नव्याख्या जरुरी छ । समाजवादको संर्किण भौतिकवादी दृष्टिकोणले यस विश्वव्यवस्थाले उत्पन्न गरेका समस्याहरुको समधान गर्न सक्दैन । यस विश्वव्यापिकरणको समयमा स्थानीय भनिएको कुनै पनि समस्या विश्वव्यवस्थासँग जोडिएकाले नेपालको समस्या समधानका लागि पनि विश्व प्रणालीको ज्ञान तथा विकल्प भएको नेतृत्वको आवश्यक छ । चलन चल्तीका विचारहरुले विश्वव्यापी व्यवस्था र यसले निम्त्याएका समस्याहरुको समधान गर्न नसक्ने भएका कारण अबको नयाँ विचारले वर्तमान सामाजिक उत्पादनको उद्देश्यलाई परिवर्तन गर्दै अगाडि बढ्नु जरुरी छ । त्यसकारण अहिलेको पूँजीवादी उत्पादनको उद्देश्य नाफालाई परिवर्तन गर्दै आत्मनिर्भरता बनाइनु आवश्यक भएको छ ।

उद्देश्यसँगै सामाजिक लक्ष्य जुन संग्रह तथा त्यसको भोग वा भनौं धनी बन्ने छ त्यसको ठाउँमा चेतनाको विकास तथा बुद्धत्व हुनुपर्दछ भन्ने मान्यतालाई सैद्धान्तिकरण गरेर बहसमा आएको प्रबुद्ध समाजवादको विचार नै अबको राजनीतिलाई डोर्याउँने मार्गचित्र हुनु पर्दछ । यस विचारलाई अहिले नेपाली काँग्रेस बागलुङ माफर्त केन्द्रिय महाधिवेशनमा प्रस्तुत गर्ने प्रयास भई रहेको छ । यस प्रस्तावमा सामाजिक समस्याहरुको विश्लेषण, वैचारिक पुनव्र्याख्याका लागि तत्कालीन तथा दिर्घकालीन उद्देश्य, संगठनको पुनर्संरचना तथा पार्टीको ऐतिहासिक समिक्षा सामेल गरिएको छ । यस प्रस्ताव बहसकालागि अनलाइन मिडिया तथा पुस्तकका रुपमा बजारमा उपलब्ध भई नै सकेको छ ।

प्रतिक्रिया