संखुवासभा सामूहिक हत्याः अनुसन्धानमा नयाँ ‘ट्विस्ट’, भेटियो १५ तोला सुन र ५ लाख नगद


काठमाडौं – संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनाको सामूहिक हत्या प्रकरणमा प्रहरीले घटनास्थलको अनुसन्धान थालेको छ।

अनुसन्धानको क्रममा नयाँ तथ्य फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले घटना घटेको घरबाट १५ तोला सुन र ५ लाख नगद फेला परेको घटना बाहिर आएको छ।

घर खानतलासी गर्ने क्रममा घरबाट १५ तोला सुन र ५ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। प्रहरीले आर्थिक पाटोबाट अनुसन्धान सुरु घटनालगत्तै नगद र सुन फेला पारेपछि अनुसन्धान झनै जटिल बनेको छ।

‘धानमाल चोरीको लागि सामूहिक हत्या गरिएको हुन सक्ने आशंका गर्दै अनुसन्धानलाई तिव्रता दिएपनि पैसा र सुन भेटिएपछि अनुसन्धान थप जटिल बन्दै गएको छ,’ घटनास्थल पुगेका एक अनुसन्धान अधिकतृले भने।

हत्या गरिएका ६ जनाको ‘लाश जाँच प्रकृति मुचुल्का’ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर घटनास्थलको अनुसन्धान गरिरहेको छ।

सोमबार मृत फेला परेका मादी–१ उम्लिङका ५२ वर्षीय तेजबहादुर कार्कीसमेत ६ जनाको टाउकोमा चोट देखिएको छ। संघीय प्रहरी इकाइ कार्यालय धरानबाट घटनास्थलमा खटिएका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले भने, ‘सबको टाउकोमा चोट देखिएको छ।’

ह्यामर जस्ता गह्रौं वस्तुले हिर्काएर सामुहिक हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। घटनास्थल अनुसन्धान गर्न जमर्न सेफर्ड जातका लैला र पिपु नामका कुकुर परिचालन गरिएको प्रहरीले जनाएको छ।

‘ट्रयाकर डग’ले गरेको संकेत र सम्भावित सवै कोणबाट अनुसन्धान भइरहेको एसपी दाहालले बताए। मादी नगरपालिका–१ घर भएका तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

तेज बहादुरकी आमा ८४ वर्षीया पार्वती, पत्नी कमला र बुहारी रञ्जनाले सुनका गहना लगाएका थिए। उनीहरुले लगाएको सबै गहना शवसँगै फेला परेको एसपी दाहालले बताए।

मृतकहरुको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ। शव घरबाहिर चार ठाउँमा फेला परेको छ।

८ वर्षीय बालकको शव घरभन्दा पर बारीमा फेला परेको हो। रञ्जन कार्कीको शव खोलामा र ५२ वर्षीय तेज बहादुरको शव सडकमा फेला परेको थियो।

परिवारका एकजना सदस्य जिवित फेला परेका छन्। बौद्धमान कार्की सकुशल फेला परेका हुन्।

त्यस्तै अनुसन्धनकै लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) बाट समेत विषेश टोली घटनास्थल तर्फ गइसकेको छ। सोमबार विहान अन्दाजी २ बजेतिर अज्ञात समूहले एकै परिवारका ६ जनाको हत्या गरेपछि ९ बजे इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थललाई सिल गरेर राखेको थियो।

प्रतिक्रिया