लाइन नमिल्दा कडाइ, मिलेपछि स्वाहा !

रूपन्देहीमा पछिल्लो समय तस्करी बढेको गुनासो


रूपन्देही – केही समय अगाडि रुपन्देही आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार केसीको पहिलो प्रतिबद्वता जिल्लामा तस्करी रोक्ने थियो।

जिल्लाको कमाण्ड सम्हालेको भोलिपल्टबाटै उनले सञ्चारकर्मी, व्यापारी, उद्योगी, दलका नेता–कार्यकर्तासँग भलाकुसारी गर्दै तस्करी नियन्त्रण गर्ने पहिलो काम भएको बताएका थिए।

‘तस्कर’ पक्राउ गरेर ठेगान लगाउने प्रतिबद्धता जनाएअनुरुप मातहतका युनिट परिचालन गरे। जिल्लामा हलचल भयो। यस्तो सक्रियताले केही समय यस्तो कारोबारमा संलग्न निरुत्साहित बनेको देखियो।

प्रशासन तातेपछि तस्करीमा संलग्न लाइन मिलाउन सक्रिय भए। उनीहरु पनि के कम? कडाइबारे गुनासो गर्न शक्ति केन्द्र धाउन थाले। तालमेल मिलाउन दबाब दिन थाले।

तस्करी नियन्त्रणमा सक्रिय प्रहरीले दुःख दिएको आरोप लगाउन थाले। एसपी केसीको त्यो दाबी छोटो समयमै तुहिएको छ। पछिल्लो समय प्रहरीको सेटिङमा ठुलो तस्करी हुने गरेको छ। केसीको प्रतिबद्धताविपरीत जिल्लामा तस्करी हुँदा समेत प्रहरीले कुनै चासो नदेखाएको नागरिकहरु बताउँछन्।

सिमावर्तीका बासिन्दा यस क्षेत्रका व्यावसायी भने ‘तस्करीको लाइन’ नमिल्दासम्म कडा प्रतिवद्धता सुनिन्छन्। जब लाइन मिल्छ, त्यसपछि प्रशासनलगायत सरोकारवाला ‘तैं चुप, मै चुप’ हुने गरेको गुनासो बाहिर आएको छ।

क्यानडा तथा अन्य तेस्रो मुलुक हुँदै नेपाल भित्रिने केराउमध्ये ५० प्रतिशतभन्दा बढी भारत निकासी हुने गरेको छ। बजारमा अहिले हरियो केराउ ८० देखि ९० रुपैयाँ प्रतिकिलोमा उपलब्ध छ।

भारतमा यही मटरको मूल्य भारतीय एक सय रुपैयाँसम्ममा बिक्री हुने हुनाले यस्को तस्करी बढेको हो। सुरक्षा निकायले लाइन नमिल्दासम्म समान समात्ने र लाइन मिलेपछि लाभ लिएर सामान छाड्ने गरेको स्रोतले बतायो।

भारतसँग सीमा जोडिएका रुपन्देहीका सबैजसो नाकाबाट तस्करी हुने गरेको छ। अहिले सबैभन्दा बढी तस्करी हुने नाका सेमलपानी, मर्चवार, कर्महवा, दुर्गौलिया, मेउडिहवा, बुचीबर्मा, लुम्बिनी हुन्।

यहाँबाट मोबाइल, कपडा र हार्डवेयर बढी मात्रामा तस्करी हुने गरेको छ। यी नाकाबाट मटरसमेत तस्करी हुने गरेको छ। यस्तै, बेलहिया, बोगटी, करौता, कक्रहवा, भगवानपुर, कालिदह नाकाबाट पनि तस्करी हुने गरेको छ।

रुपन्देहीका सबैजसो नाकाबाट तस्करी हुने गरेको रुपन्देहीकै एक प्रहरीले अनलाइनन्यूजलाई जानकारी दिए। तस्करी गर्नेमध्ये रहमोद मुसलमान, समीर मुसलमान, खली यादव सबैभन्दा ठूला तस्कर हुन्। उनीहरुले सेटिङमै कपडा, मोटरपार्ट्स, हार्डवेयर तस्करी गर्दै आइरहेका छन्।

यस्तै छोटु, महावीर, अफरोज खाँन, प्रेम, शैलेश, लल्लु, हैदर अली, शैलेन्द्र, वीरेन्द्र, मोविन, मास्टर, सुवास, अमरजित, अब्दुल, सीताराम, प्रकाश नामका तस्करहरुले पनि प्रहरीसँगको सेटिङमा तस्करी गर्दै आएका छन्।

रुपन्देहीमा भारतबाट नेपालतर्फ सबैभन्दा बढी तस्करी हुने भनेको कपडा र मोबाइल, हार्डवेयर र सूर्ति हो। यस्तै, मोटर पार्टस्, ब्याट्री, काजु किसमिस, चिनी, किराना सामानलगायत तस्करी हुन्छ।

नेपालबाट भारततर्फ मरिच, छोडा, केराउ, कवाड तस्करी हुँदै आएको छ। सीमा क्षेत्रमा तस्करहरुले गोदाम नै बनाएका छन्। नेपाली भित्रिने तस्करीको सामान भैरहवा, बुटवलका बजारमा मात्रै होइन, पोखरा, काठमाडौंसम्म पुग्ने गरेको छ।

यसरी तस्करी हुँदा एसपी केसी मौन छन्। उनले तस्करहरुलाई समात्नुभन्दा पनि सेटिङमा मिलाएर छाड्ने गरेको स्रोतको दावी छ।

प्रतिक्रिया