

पहिला मतपत्र च्यातियो, ज्ञानेन्द्र शाहीलाई हानियो अनि अहिले सुरेन्द्र पाण्डेलाई लखेटियो

काठमाडौं– नेपाल प्रहरीका पूर्वआईजी अच्युतकृष्ण खरेल भन्थे,‘चितवन निक्कै डरलाग्दो जिल्ला हो। त्यहाँ त सानो विषय पनि राजनीतिकरण भइहाल्छ।’
उनले यो विषय आजभोलीको सुनाइरहेका थिएनन्। जब प्रहरी निरिक्षकमा उनी छानिएर चितवनको जिल्ला प्रमुखका हैसियतमा पञ्चायतकालमा पुगेका थिए।
‘त्यो जिल्ला कस्तो भने ७५ मध्येका ७६ जिल्लावासी भएको ठाउँ जस्तो’, उनले कुनैबेला स्मरण गरेका थिए,‘सानो विषयलाई पनि राजनीतिकरण गरिहाल्ने र सम्हाल्न कठिन हुने।’
हुन पनि राजनीतिका हिसाबले कम्युनिस्टको बाहुल्य भएको जिल्ला हो। रवैया पनि उनीहरूले नै देखाउँछन्। गृहमन्त्री रामबहादुर थापा बादल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे मात्र होइन, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै पनि गृह जिल्ला हो।
चितवन बबन्डर मच्चाउनका निम्ति कमजोर जिल्ला होइन। पहिलो चरणमा स्थानीय तहको चुनाव हुँदा पराजित हुने लयमा पुगेकी रेणु दाहाललाई जिताउने जिल्ला पनि हो।
मत गणनाका क्रममा मतपत्र नै च्यात्ने, टोक्ने गरेका कार्यकर्तालाई प्रशिक्षित गरिएको र त्यसस्तै सुरिला कार्यकर्ता भएको जिल्लाका रुपमा परिचित गराइन थालियो।
शालिकराम पुडासैनी भन्ने एक जना पत्रकारले आत्महत्या गरेको जिल्ला जहाँ कार्यक्रम प्रस्तोता रवी लामिछानेसहितलाई पक्राउ गरि लगियो। त्यसबेला ठूलो आन्दोलन मात्र होइन, लाठी मुंग्रा नै बर्साउने, ढुंगामुडा भएको जिल्ला हो। त्यसबेला पनि प्रतिरोधका निम्ति नेकपाका कार्यकर्ताको ठूलो सहभागीताको चर्चा चलेको थियो।
यसै पनि चितवनमा कम्युनिस्ट कार्यकर्ताको रवैयालाई लिएर निक्कै टिप्पणी भएकै थियो। ज्ञानेन्द्र शाहीलाई मरणसान्न हुनेगरी पिटिएको घटनालाई स्मरण गर्दा कम्युनिस्ट कार्यकर्ता कति सुरीला होलान् भन्ने पक्कै स्पष्ट चित्र देखिएको थियो।
अहिले आफ्नै नेता सुरेन्द्र पाण्डेलाई कार्यक्रमबाट लखेट्नेसम्मका हर्कतमा चितवनका कम्युनिस्ट कार्यकर्ता उत्रिनु भनेको त्यहाँ उर्बर कार्यकर्ता छन् कि बर्बर छन् भन्ने प्रश्न स्वभाविक बनिरहेको छ।
पाण्डेले हठात् प्रतिक्रिया दिए– प्रधानमन्त्री केपी शर्मा ओलीलाई बा भन्ने र उनका मन्त्रीका ज्वाँई पर्नेहरूले हो–हल्ला मच्चाएका थिए। अर्कातिरबाट त्यस्तो केही नभएको भन्ने प्रतिक्रिया पनि आएको छ।
चितवन जस्तो संवेदनशील जिल्लामा नेकपाभित्रको आन्तरिक विवादको विरोधको स्वर सुरु हुनु भनेको सुखद लक्षण नभएको कतिपयको बुझाई छ। तर आफ्ना कार्यकर्ताबाटै लखेटिनुपर्ने, विरोधको आवाज सुन्नुपर्ने पाण्डेले त्यस्तो के भनिदिए?
स्थानीयहरू भन्छन्– पार्टीमा केन्द्रका रहेको विवादलाई कार्यकर्ता भेला जस्तो एउटा कार्यक्रममा आएर देखाउन खोजियो। यसकारण उनको बिरोध गरिएको थियो। भिडिओहरूमा देखिन्छन्– पाण्डे विरोधीहरूले पार्टी एकता जिन्दावाद भनिरहेका छन्। त्यो हो–हल्ला अघि मदन भण्डारी फाउन्डेशन मार्फत गुटको कार्यक्रम भइरहेको भन्ने चर्चा पाण्डेले गरेका थिए।

