युट्युबरमाथि अक्षयको ५ सय करोडको मानहानी मुद्दा


मुम्बई(एजेन्सी)– बलिउड अभिनेता अक्षय कुमारले हालै भिडियो प्लेटफर्मममा अभिनेता सुशान्त सिंह राजपूतको मामलामा भ्रामक समाचार पोस्ट गरेको भन्दै एक युट्यूबरमाथि कानूनी कारवाहीको प्रक्रिया शुरु गरेका छन् । राशिद सिद्दीकी नामका एक बिहारका युट्यूबरले आफ्नो ‘एफएफ न्यूज’ युट्युब च्यानलमा अक्षय कुमार, आदित्य ठाकरे र मुम्बई प्रहरीको छवि खराब गर्ने किसिमका कैयौं गलत जानकारी र अपमानजनक भिडियो शेयर गरेका थिए । यतिमात्र होइन ती युट्यबरले दिवंगत अभिनेता सुशान्तको मृत्युको मामलामा कैयौं कथित षड्यन्त्रहरुलाई लिएर भिडियो बनाएका थिए ।

राशिदले आफ्नो भिडियोमा कैयौंपटक अक्षय कुमारको नाम लिए र किसिम किसिमका आरोप लगाए । रिपोर्टमा सिद्दीकीले ‘प्याडमेन’ अभिनेता अक्षय अभिनेता सुशान्तले एमएस धोनी जस्तो ठूलो फिल्म पाउँदा खुशी थिएनन् भनेर दाबी गरेका थिए । त्यसपछि उनले सीएम उद्दव ठाकरेका छोरा आदित्य ठाकरे र मुम्बई प्रहरीसँग गोप्य बैठक गरेको अर्को दाबी गरेका थिए । उनले भिडियोमा अक्षयले अभिनेत्री रिया चक्रवर्तीलाई क्यानाडा भगाउन सहयोग गरेको दाबी गरेका थिए । यी सबै भिडियो हेरेपछि अक्षयले युट्युबरका विरुद्ध ५ सय करोडको मानहानी मुद्दा दर्ता गराएका हुन् ।

समाचार अनुसार राशिदले ६ महिनाको अन्तरालमा युट्युबमा ती भिडियो पोस्ट गरेपछि १५ लाख रुपैंयाँ कमाएका थिए । यही बीचमा उनको युट्युब सब्सक्राइब संख्या पनि दुईबाट बढेर तीन लाख पुगेको थियो । आइपीएस अफिसरले सिद्दीकीले अभिनेताको मृत्युलाई पैसा कमाउने माध्यम बनाउको दाबी गरे । उनले अभिनेताको मृत्युको कारण जान्न मानिसहरु व्यग्र प्रतिक्षा गरिरहेका बेला बनाइएका उनको भिडियो भाइरल भएको प्रहरीको बुझाई छ ।

प्रतिक्रिया