ओली–देउवा भेटको भित्री कथा!


तस्बिरः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको ट्विटरबाट।

काठमाडौं – नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन केपी शर्मा ओली प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग विश्वासको मत माग्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगे।

माओवादीले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा दर्ता गरेलगत्तै प्रधानमन्त्री ओली सभापति देउवालाई भेट्न दलबलसहित बुढानिलकण्ठ पुगेका हुन्। नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सुवास नेम्वाङ, विष्णु पौडेल र विष्णु रिमालसहित देउवा भेट्न बुढानिलकण्ठ पुगेका थिए।

माओवादी केन्द्रको निर्णयपछि यतिबेला प्रधानमन्त्री ओली समर्थन जुटाउन दौडधूपमा लागेका छन्। तर, संसदमा विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई काँग्रेसले ‘धन्यवाद’ भनेर बिदा गरेको छ।

प्रतिपक्षी काँग्रेसको साथ माग्दै देउवा निवास पुगेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नमिल्ने जवाफ दिएपछि प्रधानमन्त्रीसहितको टोली रित्तो हात फर्किएको छ। भेटमा देउवाले विपक्षी पार्टीले सत्तापक्षलाई विश्वासको मत दिन नमिल्ने बताए।

‘तपाईं औपचारिकताका लागि आउनुभो, त्यसका निम्ति धन्यवाद। काँग्रेस प्रतिपक्ष पार्टी हो। प्रतिपक्ष पार्टीले सत्तापक्षलाई विश्वासको मत दिँदैन्,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने।

देउवाको जवाफपछि प्रधानमन्त्री ओलीले डेढ वर्षभित्रमा चुनाव गराउने भन्दै साथ दिन पुनः आग्रह गरे। ‘हामी आन्दोलनका सहयात्री पनि हौँ, ढिलोमा डेढ वर्षमा चुनाव गराउँछु, साथ दिनुस्,’ ओलीले देउवालाई भनेका थिए।

तपाईंले गराउने चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित हुने ग्यारेन्टी के भनेर देउवाले प्रश्न सोधेपछि ‘ठीकै छ’ भन्दै प्रधानमन्त्रीसहितको टोली बुढानिलकण्ठबाट निस्केको थियो। ‘अर्ली’ चुनाव गराउने ओलीको भनाइको बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतका नेताहरुले प्रतिवाद गरेका थिए।

ओलीका यी दुवै प्रस्ताव देउवाले नमानेकाले उनले तत्कालै संसद विघटनको निर्णय गर्नसक्ने तर्कसमेत गर्न थालिएको छ। काँग्रेसका नेताहरुले बोलीमा यसो भनेपनि व्यवहारमा लोकतान्त्रिक गतिविधिको धज्जी उडाएको भन्दै लुम्बिनी र गण्डकीको उदाहरण दिएका थिए। काँग्रेस नेताले गण्डकी र लुम्बिनीको उदाहरण दिँदा ओली मौन बसेका थिए।

कांग्रेसका तर्फबाट भेटमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री डा. प्रकाशशरण महत सहभागी थिए।

गत २३ फागुनयता सरकारलाई दिएको समर्थन फिर्ता नलिएको माओवादी केन्द्रले बुधबार प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयलाई बुझाएको थियो।

प्रधानमन्त्री ओलीले ३ दिनअघि मात्रै प्रतिनिधिसभाको विशेष बैठक बोलाएर आगामी २७ बैशाखमा विश्वासको मत लिने घोषणा गरेका थिए। प्रधानमन्त्री ओलीको यो घोषणालाई काँग्रेस, माओवादी लगायतका दलले अराजनीतिक र असंवैधानिक कदमका रुपमा लिएका छन्।

प्रतिक्रिया