यी हुन् जम्मुमा मारिएका सुदीप, यस्तो छ उनको सम्भवतः जीवनकै अन्तिम तस्बिर !


काठमाडौं – शान्तिको प्रतिक गौतमबुद्ध जन्मिएको स्थान लुम्बिनी नजिकैका सुदीप न्यौपानेले छिमेकी मुलुक भारतको जम्मु कश्मिरमा भएको आतंककारी आक्रमणमा ज्यान गुमाएको समाचार सञ्चारमाध्यमहरुले प्रसारण गरिरहेका छन् ।

यसै क्रममा उनले एकदिनअघि मात्र सामाजिक सञ्जाल फेसबुकमा कश्मिरमा रहेको तस्बिर सार्वजनिक गरेको भेटिएको छ । सुदीपले इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्ट र कश्मिर पुगेको तस्वीर स्टोरीमा राखेका छन् ।

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १४ का २६ वर्षीय सुदीप आमा, दिदी र भिनाजुसहित जम्मु कश्मिर घुम्न गएको जनाइएको छ ।

सो स्थानमा ५ जना आतंककारीहरुले सुदीपसहित २६ जनाको गोली हानी हत्या गरेको समाचार बाहिरिएसँगै बुटवलसँगै देश नै पुरै शोकमय बनेको छ ।

आतंककारीहरुले पर्यटकहरुलाई नाम र घर सोधी सोधी हत्या गरेको जनाइएको छ ।

घटनामा रेनु पाण्डे नाम गरिएकी एक नेपाली महिला सामान्य घाइते भएको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सम्भवतः रेनु पनि सुदीपकै टोलीमा गएकी महिला भएको अनुमान गरिए पनि पुष्टी भने भइसकेको छैन ।

सुदीपका आफन्तको अवस्थाका बारेमा भने केही थाहा भएको छैन ।

 

प्रतिक्रिया