‘सडकमा बित्छ घरबारविहीनको रात’
काठमाडौं- मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुईँमा कार्टुन र बोरा बिच्क्याएर उनी प्रायः खुला आकाशमुनि रात बिताउँछन् । तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउँछन्।
बोल्दाबोल्दै बिर्सने मनस्थितिमा पुगेका उनीलाई आफू सडकमा आउनुको कारण एक वाक्यमा टुग्याउछन्। “चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो”, उनी भन्छन्, “घर र ठेगाना सडकबाट सुरु भएर सडकमै टुङ्गिन्छ ।”
घाम अस्ताउने पश्चिमतिर भन्ने मात्रै थाहा छ उनलाई । परिवार र आफन्तको लेखाजोखा उनले कहिल्यै गर्दैनन् । दिनमा भारी बोकेर दुई/चार रुपैयाँ कमाउने र बेलुका खाना खाएर सडकमा बास बस्ने उनको दैनिकी हो । उनी भन्छन्, “न्यानो ओछ्यान बिर्सिएको वर्षौँ भयो । आफ्नो विगतको तीतोपल सम्झिन चाहन्न ।” जाडो याममा अत्यन्त कठिन हुनेहुँदा कसरी चिसो कटाउने भन्ने चिन्ताले लाग्ने उनी बताउँछन् ।
सडकमा रात बिताउन पनि घरबारविहीन सडक मानवलाई सजिलो छैन । गोरखा जिल्लामा जन्मिएको बताउने सानोकान्छा घर्तीको धेरैजसो रात ठमेलका सडक पेटीमा बित्ने गर्दछ । “गरिब देखेर सबैले हेप्छन्, चोर्छ भन्दै पेटीमा पनि बस्न दिँदैनन्”, उनी भन्छन् । उनी कहिले आफ्नै साथीहरूबाट लखेटिन्छन् भने कहिले सर्वसाधारण र व्यापारीबाट । सडक पेटी कब्जा गरेर बस्ने उनकै समूहबिच हातथाप हुन्छ । अलि सुकिलो र पानी ओत लाग्ने भुइँ रोज्ने टाठाबाठा हुन्छन् ।
साठी वर्षीय घर्ती भने कहिलेकाहीँ त्यही चिसो भुइँ पनि रोजेर पाउँदैनन्। भुईँमा पनि बास बस्न पनि ठुलो सङ्घर्ष गर्नुपर्ने उनको गुनासो छ । “आफूमाथिको दुर्व्यवहार कसलाई सुनाउने ? कुनै निकाय छैन । त्यसैले चुपचाप भई दुर्व्यवहार सहन बाध्य हुन्छ”, उनी भन्छन् । सडक पेटीमा रात बिताउने पुरुषको सङ्घर्ष जति छ त्योभन्दा बढी महिलाका व्यथा छन् ।