नेपालको सेयर मार्केट कालोबजारियाको हातमा जाँदै, शंकर ग्रुप लबिङमा


काठमाडौं– नेपालको अर्थतन्त्रलाई आफूअनुकूल चलाउदै आएको शंकर ग्रुप सेयर बजारमा घुसेको छ । कालोबजारी गर्दै आइरहेको र सरकारी कर छल्दै गरेको शंकरले नेप्सेमार्फत कारोबार हुँदै गरेको सेयर बजारलाई विस्थापित गर्ने उद्देश्यसहित नयाँ कम्पनी खडा गरेर त्यसभित्र पस्न खोजेको हो । कागजपत्रलाई प्राप्त सूचना अनुसार हिमालय स्टक एक्सचेन्ज नामको कम्पनी खोलेर सेयर बजारलाई आफूअनुकूल चलाउन शंकर ग्रुप लागेको छ ।

ग्रुप अघिल्लो प्रचण्ड सरकारको पालादेखि नै विभिन्न शक्ति केन्द्रहरुमा आफ्नो कम्पनीमार्फत सेयर कारोबार गर्न अनुमति लिने लबिङमा छ । यसको अगुवाइ गरिहेका छन् शंकर ग्रुपका उपाध्यक्ष शुलभ अग्रवाल । उनले संस्थापक सेयर दिने भनेर व्यापारीहरुबाट करोडौं रकम उठाएका छन् । यसरी उठाएको रकम नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्त गर्नका लागि खर्च गर्ने योजना उनको छ ।

आफू अनुकुलको बोर्ड अध्यक्ष नियुक्तिका लागि शुलभ अग्रवाल आफै सुटकेश बोकेर शक्ति केन्द्रहरुको दैलोमा छन् । आफू अनुकुलको अध्यक्ष नियुक्त भएपछि हिमालयन स्टक एक्सचेन्जले कारोबार अनुमति पाउने उनको आकलन छ ।

गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि अध्यक्ष पद रिक्त छ । अध्यक्ष नभएकै कारण गत पुसपछि प्राथमिक निष्कासन (आईपीओ), थप निष्कासन प्रक्रिया (एफपीओ), ऋणपत्रलगायत धितोपत्रको अनुमति प्रक्रिया रोकिएको छ । गत माघमा सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनकुमार श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । अर्थ सचिव मधुकुमार मरासीनी र विज्ञ सदस्य उदय निरौला सदस्य रहेको उक्त समितिले ६ महिनासम्म पनि अध्यक्ष छनौट गर्न सकेन ।

त्योबेला बोर्डका निर्देशक डा.नवराज अधिकारी र मुक्ति श्रेष्ठसहित नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, तत्कालीन बिमा समिति (नेपाल बिमा प्राधिकरण) का अध्यक्ष चिरञ्जीवी चापागाईँ र सन्तोष नारायण श्रेष्ठ सर्ट लिस्टमा परेका थिए । तर, सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ बाहेक सर्टलिष्टमा परेका बाँकी तीन अन्तरवार्तामा सहभागी नै भएनन् । अन्तरवार्तामा उम्मेदवारहरू नै सहभागी नभएपछि अध्यक्ष छनौट प्रक्रिया नै प्रभावित बनेको थियो ।

कानुन बमोजिम तीन जनाको नाम सिफारिस गर्न नसकेपछि सिफारिस समितिले अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । अध्यक्ष छनौटको बीचमै पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार पनि ढलिसकेको छ ।

नयाँ सरकार बनेपछि नेपाल धितोपत्र बोर्ड अध्यक्ष हैसियतमा महेश बराललाई जिम्मेवारी दिइएको छ । बरालले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल समक्ष गत बिहीबार पद तथा गोपनीयताको सपथ लिई पदबहाली गरेका हुन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनी अध्यक्ष तोकिएका हुन् ।

यस्तो छ शुलभको योजना
हिमालय स्टक एक्सचेन्जबाट ३ सय करोड अधिकृत पुँजी राखेर शंकर ग्रुपले कारोबार सुरु गर्न खोजेको छ । सुरुमा कारोबार गर्न स्विकृति पाएपछि दशगुना बढी मूल्य राखेर सेयर बेच्ने योजना उसले बनाएको छ । संस्थापक सेयर दिने भनेर दर्जनौं कम्पनीहरुलाई आश्वासन दिएको शंकर ग्रुपले अधिकृत पूँजीसमेत आश्वासन दिएकै व्यक्ति तथा कम्पनीहरुबाट उठाउने तयारी गरेको छ । ‘सुरुमा संस्थापक भन्ने, तर पछि दशगुना थपेर प्रिमियम सेयर दिने उसको भित्रि योजना छ’, हिमालयन स्टक एक्सचेन्ज कम्पनीनिकट स्रोतले भन्यो ।

हालसम्म सरकारी धितोपत्र तथा संस्थागत धितोपत्रहरुलाई तरलता प्रदान गर्न साथै सो सम्बन्धि हुने खरिद बिक्री कार्यमा सहजता र सुविधा उपलब्ध गराउनका निमित्त नेपालको एक मात्र धितोपत्रको दोस्रो बजारको रुपमा नेपाल स्टक एक्सचेन्ज(नेप्से) छ । यसले धितोपत्रहरुको सूचीकरण गरि विनिमय कार्यमा सघाउ पुर्‍याउछ ।

विस २०३३ साल असार २२ गते सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापना भएपछि नेपालमा औपचारिक रुपमा धितोपत्रहरुको कारोबारको प्रचलन सुरु भएको हो । पछि धितोपत्र कारोबार ऐन २०४० प्रारम्भ भएको र २०४९ सालमा उक्त ऐनको पहिलो संशोधन गराई २०५० मा सेक्युरिटी खरिद बिक्री केन्द्रलाई नेपाल स्टक एक्सचेन्जमा परिणत गरिएको थियो ।

नेपाल स्टक एक्सचेन्जले पहिलो पटक २०५० माघ ३० बाट नेप्से सूचांकको सुरुवात गर्यो । त्यसबेला नेप्से सूचांक १०० कायम गरिएको थियो । जसलाई नेप्सेको आधार बिन्दु पनि भनिन्छ । नेप्सेले धितोपत्र बजारको मापन गर्न विभिन्न उपकरणहरु प्रयोग गर्ने गर्दछ । जसमध्ये नेप्से सूचांक, सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स, सेन्सेटिभ फ्लोट र क्षेत्रगत परिसूचक रहेका छन् ।

नेपाल स्टक एक्सचेन्ज धितोपत्र बजार सञ्चालन नियमावली २०६४ र नेपाल धितो पत्र बोर्डको अनुमति बमोजिम सञ्चालित छ ।
वर्षौदेखि एक द्वारमार्फत हुँदै आइरहेको सेयर बजारको कारोबार निजी क्षेत्रबाट पनि सञ्चालन गर्ने उद्देश्यले हिमालयन स्टक एक्सचेन्ज कम्पनीलाई शुलभ अग्रवालले अघि सारेका छन् ।

शुलभको विवादित हिमालयन रि–इन्योरेन्स
हिमालय स्टक एक्सचेन्जलाई सेयर बजारमा प्रवेश गराउन अग्रसर शुलभ आफैंमा विवादित हुन् । उनी यसअघि हिमालयन रि–इन्स्योरेन्स कम्पनी सञ्चालन गर्दासमेत विवादमा थिए । उतिबेला पनि यसरी नै शक्ति केन्द्रहरुमार्फत लबिङ गरेर उनले इन्सोरेन्स कम्पनी हात पारेका थिए ।

शुलभकै सक्रियतामा जन्मेको इन्स्योरेन्स कम्पनी न्वारन नहुँदै विवादित बनेको थियो । विवादको जड थिए, सिमेन्ट उद्योगी मुकुन्द तिमिल्सिना । मुकुन्दलाई शुलभले इन्स्योरेन्सको संस्थापक सेयर दिने भनेर लगानी गर्न उस्काएको भएपनि पछि त्यसो हुन सकेन । त्यसमा भाँजो हाले, कालोबजारिया शुलभले नै ।

गत बैशाखमा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर किनबेचको विषयमा संस्थापक लगानीकर्ता शंकर ग्रुपका उपाध्यक्ष सुलभले बढी मूल्य लिएर मुकुन्दलाई सेयर बेचेपछि विवाद सुरु भएको थियो । जुन अहिलेसम्म टुंगिएको छैन ।

मुकुन्दलाई हिमालयन रि–इन्स्योरेन्सको प्रतिकित्ता १ सय रुपैयाँमा सेयर दिन सहमति भएको थियो । सो सहमतिको उल्लंघन गर्दै शंकर ग्रुपका उपाध्यक्ष अग्रवालले ७ सय रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ८ सय रुपैयाँ मूल्य कायम गरी सेयर बेचेका थिए । शुलभले आफूबाट २८ करोड रुपैयाँ बढी लिएको बताउँदै तिमिल्सिना आफू ठगिएको भन्दै न्याय पाउन अहिले पनि सरकारी अड्डा धाइरहेका छन् ।

के हो शंकर ग्रुप ?
शंकर ग्रुप नेपालमा आफैंमा एक विवादित व्यवसायिक घराना हो । शंकरलाल आग्रवाल अध्यक्ष रहेको सो ग्रुपको उपाध्यक्ष शुलभ अग्रवाल हुन् भने प्रवन्ध निर्देशक शाहिल आग्रवाल छन् । शुलभ र शाहिल दाजुभाई हुन् भने शंकर बुवा ।

शंकर ग्रुप मातहत रहनेगरी दुई ठूला कम्पनी जगदम्बा होल्डिङ्गस् र जगदम्बा ग्रुप अस्तित्वमा छन् । जगदम्बा होल्डिङ्गस् अध्यक्ष शुलभ अग्रवाल छन् भने जगदम्बा ग्रुपको नेतृत्व शहिल अग्रवालले सम्हालेका छन् । यी दुई कम्पनीमार्फत सिमेन्ट, स्टिल, वायर, अटोमोबाइल, हस्पिटालिटी, स्प्रिड, ट्रेडिङ, इन्सोरेन्स, टोबाको, एग्रो लगायतका कारोबार सञ्चालनमा छन् ।

जगदम्बा, ऋद्धिसिद्धि, सौर्य र शुभश्री सिमेन्ट, प्रोटोन गाडी, टिभिएस मोटरसाइकल, बलेफी, लोअर मोदी, अपर बलेफी हाइड्रो, होटल हिलटन, मोइट, डन एन्जल(रक्सी), बम्बै डाइङ फाइबर, सिको घडी तथा हिमालयन रि–इन्सोरेन्सको कारोबार दुई कम्पनीहरुमार्फत हुँदै आइरहेको छ ।

खतरामा वित्तिय संस्थाहरु
आर्थिक वर्ष २०७७/७८ मा नेपालमा सञ्चालित व्यावसायिक घरानामा सबैभन्दा बढी ऋण लिनेमा शंकर ग्रुप अगाडि देखिएको छ । क्रेडिट रेटिङ कम्पनीहरूको विवरणलाई हेर्दा शंकर ग्रुपले ७५ अर्बभन्दा बढी ऋण लिएको भेटिएको थियो ।

यस्तै शंकर ग्रुपले अर्थ मन्त्रालयलाई प्रभावित गरेर वार्षिक करोडौं रुपैँया राज्यबाट छुट लिँदै आइरहेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मासिक १० करोड बढीको बिजुली खपत गर्ने उद्योगलाई न्यूनतम दुई देखि १५ प्रतिशत छुट दिने घोषण गरेका थिए । त्यो बेला शंकर ग्रुपको जगदम्बा स्टिलसहित ६ उद्योगलाई फाइदा हुने गरी अर्थमन्त्री शर्माले स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुटको घोषणा गरिदिएका थिए ।

सोहीसमयमा शंकर ग्रुपले नै बजेट बनाउदा अर्थ मन्त्रालयको गोप्य टोलीमा आफ्नो मान्छे छिराएर करका दररेटहरुमा ठुलो हेरफेर गर्न लगाएका थिए । जुन, पछि ‘अर्थ मन्त्रालयभित्र मुसा पस्यो सिसिटिभीको तार मुसाले खायो’ ले प्रख्यात बनेको थियो ।

यसैगरी कोरोनाकालमा शंकर ग्रुपका उपाध्यक्ष शुलभ अग्रवाल थर्मल गनको कालोबजारीमा पक्राउ परेका थिए । कोभिड– १९ ले सारा संसारमा त्रास छरिरहेका बेला उनी भने ३ हजार पर्ने थर्मल गन १५ हजारमा आफैं खुद्रा रुपमा बेच्दै हिँडेका बेला पक्राउ परेका थिए ।

उनी सवार २०९ एच सिसि नम्बरको निलो नम्बर प्लेटको गाडी, गाडीभित्र दर्जनौ थर्मल गनसहित उनलाई प्रहरीले पक्राउ गरेको थियो । २५ लाख ५० हजार धरौटीमा छुटेपछि उनीमाथि सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले समेत अनुसन्धान गरेको थियो ।

२०७७ सालमा पनि शंकर ग्रुपका कम्पनीले राजस्व छली गरेको, गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको र कालोबजारी गरेको भन्दै सरकारका तीन नियामक निकाय सम्पति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र गुणस्तर तथा नापतौल विभागले छानबिन र कारबाहीलाई एकैपटक अघि बढाएको थियो । ती कारबाहीपछि शक्तिकेन्द्र रिझाएर सामसुम पारिएका थिए ।

जगदम्बा स्टिल्सद्वारा उत्पादित १६ एमएमको टीएमटी बार फलामे डन्डी पनि शंकर गु्रपअन्तर्गतकै हो । डन्डी गुणस्तरहीन प्रमाणित भई त्योबेला ग्रुप कारबाहीमा परिसकेको छ ।

 

 

प्रतिक्रिया