

बढी बेरूजु भएका १० संघीय मन्त्रालय सार्वजनिक, अर्थ मन्त्रालयको सबैभन्दा बढी

काठमाडौं- महालेखा परीक्षकको कार्यालयले संघीय सरकारका बढी बेरूजु भएका १० मन्त्रालयको विवरण सार्वजनिक गरेको छ। ६२औं वार्षिक प्रतिवेदनमार्फत महालेखकाले संघीय सरकारका २१ मन्त्रालयमध्ये सबैभन्दा धेरै बेरूजु देखिएका मन्त्रालयहरूको नाम सार्वजनिक गरेका हुन्।
सबैभन्दा बढी बेरूजु देखिएको मन्त्रालय अर्थ मन्त्रालय हो, जसको बेरूजु रकम ३३ अर्ब ७१ करोड १७ लाख रुपैयाँ रहेको छ। दोस्रो स्थानमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरूजु ६ अर्ब ४३ करोड ६४ लाख पुगेको छ।
तेस्रो स्थानमा १ अर्ब ६७ करोड १४ लाख बेरूजुसहित रक्षा मन्त्रालय परेको छ। चौथोमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेको छ, जसको बेरूजु १ अर्ब ५० करोड ६५ लाख रुपैयाँ छ।
परराष्ट्र मन्त्रालय पाचौं स्थानमा रहेको छ, जसको बेरूजु १ अर्ब ५ करोड ३३ लाख छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बेरूजु ६५ करोड ५० लाख रुपैयाँ छ भने शहरी विकास मन्त्रालयको बेरूजु ६२ करोड ९ लाख रहेको छ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु ५० करोड २३ लाख, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ३८ करोड ४९ लाख, र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरूजु २३ करोड ६० लाख रुपैयाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

