‘द भ्वाइस अफ अमेरिका’मा तहल्का मचाएकी परिजिता एलओडीमा आउँदै


काठमाडौं- ‘द भ्वाइस अफ अमेरिका’ सिजन २२ मा तहल्का मचाएकी परिजिता बास्तोलाले ठमेलस्थित एलओडी नाइट क्लबमा प्रस्तुति दिने भएकी छिन् । उनले आज राति आफ्नो प्रस्तुति दिने भएकी हुन् ।

‘द भ्वाइस’को अडिसन राउण्डदेखि एकाएक चर्चाको शिखरमा रहेकी नेपाली मुलकी परिजिताबारे संसारका धेरै प्रतिष्ठित संचारमाध्यमहरुले समाचार पस्किएका थिए । परिजिताले सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएता पनि कम भोटका कारण उनी फिनालेसम्म पुग्न सकेकी थिइनन् ।

१९ वर्षीय परिजिता बास्तोला अमेरिकाको मेरिल्याण्डमै जन्मेकी हुन् । उनी पिता पंकज बास्तोला र माता बिरा बास्तोलाकी कान्छी सन्तान हुन् । हाल मेरिल्याण्डको सेभेर्ना पार्क भन्ने स्थानमा बसोबास गर्दै आएको बास्तोला परिवार नेपालको झापाबाट २६ वर्षअघि अमेरिका गएको हो ।

उनले आफ्नै थरबाट आफ्नो व्याण्डको नाम राखेकी छिन् जसमा स्थानीय किशोर किशोरी पनि सहयोगी छन् । उनको व्याण्डको नाम ‘बास्तोला ब्याण्ड’ हो ।

उनी ‘द भ्वाइस’मा हुँदा  बेलायतको चर्चित डेलिमेलले द भ्वाइसको सो अडिसनको बारेमा समाचार प्रस्तुत गर्दा मुख्य शीर्षक नै परिजिताको बनाएको थियो ।

उसले शीर्षकमै ‘परिजिता शोमा प्रतिष्पर्धा गर्ने पहिलो नेपाली अमेरिकन भएको र जन लिजेण्डलाई कोचको रुपमा छनौट गरेको’ उल्लेख गरेको थियो । त्यसैगरी विलबोर्डले शक्तिशाली प्रस्तुति भन्दै ‘नेपाली अमेरिकन किशोरी परिजिताको गायकीबाट जजहरु छक्क परेको’ कुरा शीर्षकमै उल्लेख गरेको थियो ।

उनी नेपाली गीतहरु पनि उत्तिकै राम्रो गाउँछिन् । उनले नारायण गोपालदेखि साजनराज बैद्यसम्मका गीतहरु गाएकी छिन् ।

https://www.facebook.com/share/r/EiqLxn5umXonrvXb/?mibextid=xCPwDs

प्रतिक्रिया