स्वास्थ्यमन्त्री यादवले गरिसके सबै अंग दान


काठमाडौं-  नवनियुक्त स्वास्थ्य मन्त्री उपेन्द्र यादव पनि मृत्युपश्चात डढेर जाने अंगलाई दान गर्न आग्रह गरेका छन् । विश्व मिर्गौला दिवसको अवसरमा बोल्दै उनले खेर जाने अंगलाई दान गर्दा अरुको जीवन जोगिने बताएका हुन् ।

‘अघिल्लोपटक स्वास्थ्यमन्त्री हुँदा मैलै सबै अंग दान गरिसके । यहाँहरुले पनि आफ्ना अंग दान गरेर अरुलाई नयाँ जीवन दिनसक्नु हुन्छ’ उनले भने ।

विश्व मिर्गौला दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सो अवसरमा काठमाडौंको दशरथ रंगशाला परिसरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहितका संघसंस्थाले विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेका थिए । दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल, पदयात्रा र अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो ।

कार्यक्रममै बोल्दै राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएकाहरुको अंग झिकेर दान गर्नसक्ने कानुनी प्रावधानबारे धेरैलाई जानकारी नभएको बताएका छन् । जनचेतनाको अभावका कारण मृत्यु भइसकेपछि खरानी भएर खेर जाने अंग दान नभइरहेको उनले बताए ।

उनले मस्तिष्क मृत्यु भएका मानिसको अंग झिक्न मिल्ने कानून बनेको लामो समयसम्म पनि न्यून अंग संकलन भइरहेको बताएका छन् । ‘मरेपछि पनि अंग काटेर दान गर्न हिच्किचाउँछन् । यसमा चिकित्सकले पनि सम्झाउन आवश्यक छ । उहाँहरु पनि हिच्किचाउँछन्’ उनले भने, ‘कलेजो, मृर्गौला प्यानक्रियाज लगायतका अंग दान गर्न अंग प्रत्यारोपण इकाइ तथा समन्वय इकाई छ । कसैले अंग दान गर्न चाहेमा त्यहाँ सम्पर्क गर्न सक्नेछन् ।

यस्तै वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्ले मृर्गौला पीडित बिरामीमा मात्रै सबैको ध्यान गएकाले यो रोगको रोकथाम हुन नसकेको बताएका छन् । उनले मृर्गौला बिग्रिसकेपछि मात्रै उपचार खोज्नुले यो रोगको रोकथाम हुन नसक्ने बताए ।
‘नेपालमा करिब ३ करोड जनसंख्या छ । त्यसमध्ये ३० लाखमा मृर्गौलासम्बन्धी केही न केही समस्या छ । ३ लाखको मृर्गौला बिग्रिन थालेको छ । यस्तै ३० हजारको नराम्रोसँग बिग्रिएको छ भने ३ हजार व्यक्तिलाई अन्तिम अवस्थामा आएर डायलासिस र प्रत्यारोपण चाहिन्छ’ उनले भने, ‘हाम्रो ध्यान त्यो ३० हजारमा गएको छ । तर ३ करोडमा गएको छैन ।’

उनका अनुसार उच्च रक्तचाप, मधुमेहका, खानपान तथा स्वास्थ्यप्रति गरिने व्यवास्ताका कारण मृर्गौलाका बिरामी बढ्दै गइरहेका छन् । यी कुरामा सर्तक भए धेरै मात्रामा मृर्गौला सम्बन्धी रोग रोकथाम हुने उनले दाबी गरे ।

आम नागरिकले मृर्गौला लगायतका अन्य अंगदान गर्न तयार हुनुपर्ने आवश्यकता रहेको उनको भनाई छ । विभिन्न दुर्घटनामा परेर हजारौं अंग खेर गइरहेको उल्लेख गर्दै उनले मृतकका आफन्त अंग दान गर्न तयार भए धेरैले नयाँ जीवन पाउने बताए ।

प्रतिक्रिया