चिकित्सा र नर्सिङ अध्ययनको कोटा बढ्ने, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नति


काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छ। अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै चिकित्सा शास्त्र, नर्सिङ लगायतका प्राविधिक क्षेत्रमा जनशक्ति अभाव हुन नदिन अध्ययन कोटा वृद्धि गरिने घोषणा गरे। उनले कोटा वृद्धिका लागि आवश्यक मापदण्ड परिमार्जन गरिने पनि जानकारी दिए।

स्वास्थ्य क्षेत्रमा सरकारले ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यस अन्तर्गत काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारका नमुना परीक्षण गर्न सक्ने अन्तर्राष्ट्रियस्तरको प्रयोगशालामा स्तरोन्नति गरिनेछ। यसका लागि पूर्वाधार विकास, उपकरण तथा जनशक्ति व्यवस्थापन गरिने भएको छ। ‘यसबाट नमुना परीक्षणका लागि विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ,’ अर्थमन्त्री पौडेलले बताए।

त्यस्तै, बर्दिबास, सुर्खेत, बुटवल र डडेल्धुरामा मेडिकल कलेज निर्माणका लागि ५६ करोड रुपैयाँ छुट्याइएको छ। विपन्न समुदायका विद्यार्थीहरूका लागि चिकित्साशास्त्र छात्रवृत्तिमा २ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

शिक्षा क्षेत्रमा पनि विभिन्न सुधार कार्यक्रम ल्याइएको छ। प्रत्येक जिल्लामा एउटा नमूना विद्यालयलाई २५ लाख दिने, शिक्षक दरबन्दी पुनरावलोकन गर्ने र स्नातक उत्तीर्ण युवालाई स्वयंसेवक शिक्षक बनाउने योजना बजेटमा समेटिएको छ। दीवा खाजा कार्यक्रमका लागि १० अर्ब १९ करोड र सेनिटरी प्याड वितरणका लागि १ अर्ब २९ करोड छुट्याइएको छ।

प्रतिक्रिया