


चितवनमा जंगली च्याउ खाँदा एउटै परिवारका चारसहित पाँच जना बिरामी

चितवन- चितवनको भरतपुर महानगरपालिका–२९ लामागाउँमा जंगली च्याउ खाँदा एउटै परिवारका चारसहित पाँच जना बिरामी परेका छन्। शनिबार जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरू बिरामी भएका हुन्।
बिरामी पर्नेमा ८२ वर्षीया पुन्टी गुरुङ, उनका छोरा ४० वर्षीय धनबहादुर गुरुङ, बुहारी ३५ वर्षीया मनमाया गुरुङ, चार वर्षीया नातिनी आरिया गुरुङ र छिमेकी ४५ वर्षीया सानुमाया परियार छन्।
चितवन प्रहरीले दिएको जानकारी अनुसार बिरामीमध्ये धनबहादुर र मनमायाको अवस्था गम्भीर छ भने अन्य तीन जनाको अवस्था सामान्य रहेको छ। सबैको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार उनीहरूले चिनेको भन्दै जंगलबाट ल्याएर पकाएको च्याउ खाएका थिए। च्याउ विषालु भएको आशंकामा थप परीक्षण तथा अनुसन्धान भइरहेको छ। स्वास्थ्यकर्मीहरूले जंगली च्याउ नचिनेर खाँदा स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्।

