


सिभिल अस्पतालमा डिजिटल सर्जरीको सुरुवात, घुँडा प्रत्यारोपण अब कम्प्युटरमार्फत

काठमाडौं – सरकारी स्वास्थ्य सेवामा प्रविधिको प्रयोगले नयाँ युगमा प्रवेश गर्दै निजामती कर्मचारी अस्पतालले नेपालमै पहिलोपटक न्याभिगेशन (कम्प्युटराइज) प्रविधिबाट घुँडा प्रत्यारोपण सेवा सुरु गरेको छ।
सोमबार नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले औपचारिक रूपमा सेवा उद्घाटन गर्दै यसलाई सरकारी अस्पतालमा अत्याधुनिक प्रविधिको थालनीको रूपमा वर्णन गरे।
हाडजोर्नी तथा प्रत्यारोपण विशेषज्ञ डा. सुमनबाबु मरहट्ठा अनुसार, न्याभिगेशन प्रविधि प्रयोग गर्दा अप्रेसनको क्रममा कम्प्युटरले नै हड्डी कति काट्ने, कहाँसम्म काटियो भन्ने सूचना सटीक रूपमा दिन्छ। यसले शल्यक्रियालाई नजिकबाट अनुगमन गर्नुका साथै त्रुटिहरूबाट बच्न सहयोग गर्छ। “मानव त्रुटिको सम्भावना कम हुने भएकाले यो प्रविधिबाटको उपचार थप सुरक्षित र प्रभावकारी छ,” डा. मरहट्ठाले भने।
सरकारले तीन करोड रुपैयाँ लगानीमा खरिद गरेको यो उपकरण दुई वर्षअघि नै जर्मनीबाट ल्याइएको भए पनि आवश्यक सामाग्री ढिलो आउँदा हालमात्र सञ्चालनमा आएको हो। प्रारम्भिक चरणमा दुई बिरामीको सफल घुँडा प्रत्यारोपण भइसकेको अस्पताल स्रोतको जानकारी छ।
भारत, अमेरिका लगायतका देशमा अभ्यास भइसकेको यो प्रविधिबाट अब नेपालमै पनि उपचारको गुणस्तरमा ठूलो सुधार हुने अपेक्षा गरिएको छ।

