


कालिकोटमा टाउको दुखेको बिरामीलाई आइरन चक्की दिइएपछि…

कालिकोट- कालिकोटको खाँडाचक्र नगरपालिका–३ स्थित आधारभूत स्वास्थ्य तथा सरसफाइ केन्द्रमा अव्यवस्थापन, सेवाप्रति बेवास्ता र औषधिको चरम अभाव देखिएको भन्दै स्थानीयले सोमबार ताला लगाएका छन्।
स्वास्थ्य केन्द्रमा टाउको दुखेको र खोकी लागेको बिरामी औषधि लिन गएका बेला कार्यालय सहयोगीले ‘आइरन चक्की’ दिएपछि स्थानीय आक्रोशित भएका हुन्। बिरामीलाई यसरी असम्बन्धित औषधि दिइएको घटनाले नागरिकको ज्यानसँग खेलवाड भएको भन्दै उनीहरूले केन्द्रमा ताला लगाएका हुन्।

स्थानीयका अनुसार स्वास्थ्य केन्द्रका कर्मचारीहरू करिब दुई हप्ता अघिदेखि कार्यालयमा अनुपस्थित छन्। नियमित समयमै सेवा नदिने, औषधि वितरण नगर्ने, र बिरामीलाई धम्क्याउनेजस्ता गतिविधि भइरहेकाले सेवाग्राहीहरू निराश छन्।
“पावर र पहुँच देखाउँदै पटक–पटक बिरामीलाई धम्क्याउने र हेपाहा व्यवहार गर्ने गरिएको छ,” एक स्थानीयले भने, “सरकारले निःशुल्क उपलब्ध गराएका औषधि समेत नागरिकलाई उपलब्ध नगराउनु गम्भीर लापरवाही हो।”
घटनापछि स्थानीय खगेन्द्र पाँडे, खमबहादुर पाँडे, पुनाधि पाँडे, सर्पराज पाँडे, लिलामणि पाँडे, निक्किन्छ पाँडे, बरफबहादुर शाही, गुरु शाही र रम्भा पाँडे लगायतले सामूहिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै दोषी कर्मचारीमाथि छानबिन गरी कारबाहीको माग गरेका छन्।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरवाहीलाई सहन नहुने भन्दै स्थानीयले अब नियमित सेवा र उत्तरदायी स्वास्थ्यकर्मीको व्यवस्था नभएसम्म ताला नखोल्ने चेतावनी दिएका छन्।

