जीवन नसुध्रिएपछि प्रहरीको जागिर छाडेर कोरियाको यात्रामा…


काठमाडौं– नेपाल प्रहरीले गत कात्तिक १३ गते सूचना निकाल्दै २२ जना कर्मचारी सम्पर्कविहीन (गैरहाजिर) रहेको जानकारी दियो । सम्पर्कविहीन हुनेमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हबल्दार ४ जना र प्रहरी हबल्दार १५ जना रहेको बताइएको थियो । उनीहरू पटकपटक सूचना टाँस भइसक्दासमेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको थियो ।

ती २२ जनामध्ये एकजना भने हाल दक्षिण कोरियामा रहेको पाइएको छ । उपत्यकामा कार्यरत उनी भाषा परीक्षा उत्तीर्ण गरेर हाल कोरियामा कृषितर्फको काम गरिरहेका छन् । उनले उपत्यकामा काम गरिरहँदा भाषा कक्षा लिएर रोजगार अनुमति प्रणाली (ईपीएस)को परीक्षाको तयारी गरेका थिए ।

‘घरमा आर्थिक अभाव भएर प्रहरीमा जागिर खाएँ तर एउटा जवानको तलबले परिवार धान्न नसकिँदो रहेछ’ नाम नखुलाउने सर्तमा उनले भने, ‘म पहिलोपटकमै ईपीएस परीक्षा पास गरेर यहाँ आए । अहिले महिनाको डेढ लाख बचाइरहेको छुँ ।’
उमेरले २६ पुगेका उनी नेपाल प्रहरीमा प्रवेश गरेको ४ वर्ष मात्रै भएको थियो । आफ्नो सेवा अवधि सकिँदासम्म वैदेशिक रोजगारीमा जाने उमेर सकिने भएका कारण आफूले कार्यालयमा जानकारी नै नगराएर कोरिया उडेको उनले सुनाए ।

उनी त केवल सम्पर्कमा आएका बेपत्ता प्रहरी जवान हुन् । उनीजस्तै धेरै प्रहरीहरु आफ्नो जागिर छोडेर अथवा छाड्ने मनसाय बनाएर यसपटक कोरिया जाने तयारी गरिरहेका छन् ।

ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षामा सहभागी हुन सोमबारदेखि आज शुक्रबारसम्म आवेदन दिन आह्वान गरेको छ । उक्त आवेदन भर्नेहरुमा हाल कार्यरत प्रहरीसमेत छन् ।

काठमाडौंको बागबजारस्थित एक कोरियन भाषा इन्सिच्यूटबाट यो समाचार तयार पर्दासम्म १ हजार २ सय जनाले भाषा परीक्षाका लागि फाराम भरेका छन् । ती मध्ये २७ जना प्र्रहरी कर्मचारी रहेको पाइएको छ ।

फाराम भरेका एक प्रहरी जवानले सेवासुविधा कम भएको र सेवा अवधि लामो भएकै कारण जागिर छाड्ने निष्कर्षमा पुगेको सुनाए । ‘भाषा परीक्षा पास भएपछि प्रहरीबाट राजीनामा दिएर कोरिया जाने योजना छ’ उनी भन्छन्, ‘सेवा–सुविधा कम छ अनि पेन्सन खान २० वर्ष कुर्नुपर्ने हाम्रोमा नियम छ । त्यो २० वर्ष कुर्दा त हामी बुढो भइहाल्छौं । फेरि ४० वर्षसम्मकाले मात्रै कोरिया जान पाउने नियम छ । पास भए उड्ने हो ।’

यस्तै कैलालीको धनगढी उपमहानगरपालिकास्थित हसनपूरमा रहेको एक इन्सिच्यूटमा हालसम्म १५० जनाले फाराम भरेका छन् । ती मध्ये ६ जना प्रहरी रहेको इन्सिच्यूटले जनाएको छ । उनीहरुमध्ये प्रहरीका प्रहरी सहायक निरीक्षक(असई)सहित चार जना छन् । भने, बाँकी २ जना सशस्त्र प्रहरीका जवान हुन् । उनीहरुले सोही इन्सिच्यूटबाट भाषाको कक्षा समेत लिइसकेका छन् ।

यी त उदाहरण हुन्, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि तथा २० वर्षपछि मात्रै पेन्सन पाक्ने व्यवस्थाले तल्लो दर्जामा कार्यरत प्रहरी जवान निरास छन् । सेवा गरेबापत पाउने सेवासुविधाले परिवार धान्नै मुस्किल हुनु र पेन्सन पकाउन २० वर्षसम्म कुनुपर्ने समस्याका कारण नै अहिले प्रहरी बीचमै जागिर छाड्न बाध्य छन् । उनीहरु जागिर छाडेर वैदेशिक रोजगारी विशेषगरि कम खर्चिलो तथा बढी कमाउन सकिने कोरियातिर हानिन थालेको पाइएको छ ।

गत आर्थिक वर्षमा ६३२ जनाले नेपाल प्रहरीबाट राजीनामा दिएको तथ्यांक छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतका अनुसार राजीनामा दिने सबैभन्दा बढी १५६ जना सहायक निरीक्षक (असइ) रहेका छन् ।

यस्तै गत आर्थिक वर्षमा गैरहाजिर हुने प्रहरीको संख्या १५५ रहेको छ । तीमध्ये सबैभन्दा बढी प्रहरी जवान १०२ जना रहेको उनले जानकारी दिए । हाजिर हुन सूचना प्रकाशित गरेपश्चात पनि हाजिर नभएका कारण ती सबैलाई हटाइएको डिआइजी कडायतले बताए ।

त्यस्तै आँकडा सशस्त्र प्रहरी बलमा पनि छ । पछिल्लो ५ वर्षमा २ हजार ५४१ जनाले सशस्त्रको जागिर छाडेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार जागिर छाड्ने बढीजसो बरिष्ठ हवल्दार रहेका छन् ।

उसो त सेवासुविधा कम भएको तथा सेवा अवधि बढी भएर जागिर छाड्ने परिपाटीका कारण नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रयास पनि नगरिएको होइन । ३० वर्षे सेवा अवधि हटाउनका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएका प्रस्तावलाई अर्थले स्वीकृत गरेको थियो तर त्योभन्दा अगाडि फाइल बढ्न सकेन ।

त्यसैगरि जागिर खाएको १६ वर्षमा पेन्सन हुनुपर्ने प्रस्ताव पनि स्वीकृतका लागि गृहले अर्थ मन्त्रालयमा फाइल पठाएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवै संगठनले पेन्सन अवधि २० बाट १६ वर्षमा झार्नुपर्ने भन्दै प्रस्ताव अघि बढाएका थिए ।

तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतदेखि विमलेन्द्र निधि, जनार्दन शर्मा, रामबहादुर थापा हुँदै बालकृष्ण खाँण, रवि लामिछाने र अहिले नारायणकाजी श्रेष्ठसम्मलाई १६ वर्षे पेन्सन अवधि कायम हुनुपर्ने प्रस्ताव दुवै प्रहरी संगठनले गर्दै आएका थिए ।

तर, गृह मन्त्रालयबाट अगाडी बढेर मन्त्रिपरिषद्ले भने उक्त विषयमा निर्णय नगर्दा उक्त प्रस्तावको फाइल थन्किएको छ ।
नेपाली सेनामा भने सिपाहीको २० वर्षे पेन्सन अवधिलाई घटाएर १६ वर्षमा झरिसकेको छ । २०७७ पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले सैनिक सेवा नियमावली, २०६९ लाई संशोधन गर्दै पेन्सन अवधि घटाएको थियो ।

तर नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत जवानको पेन्सन अवधि नघटेका कारण संगठनप्रति आकर्षण घट्दै गइरहेको छ । विशेषगरि सहरी क्षेत्र तथा भाषा कक्षा लिन पहुँच भएका क्षेत्रमा कार्यरत प्रहरीहरुले आफ्नो रहनसहन उकास्न भन्दै कोरिया तथा अन्य मुलुक जाने प्रयास गर्ने गरेका छन् ।

जागिर छाडेर विदेश जाने समस्या निजामती कर्मचारी र शिक्षक सेवातर्फ पनि छ ।  उनीहरु भने बेतलबी बिदा तथा अन्य बिदा मिलाएर रोजगारीको लागि कोरिया तथा अन्य देश प्रवेश गर्ने परिपाटी छ ।

प्रतिक्रिया