फूलपातीबाट स्याटालाइट यात्रामा समर लभ


काठमाडौं– सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ले यही फूलपातीबाट स्याटालाइट यात्रा थाल्ने भएको छ । निर्देशक मुस्कान ढकालले फिल्म दसैंको अवसर पारेर फूलपातीबाट डिसहोममार्फत् सार्वजनिक हुने जानकारी गराए । ढकालका अनुसार फिल्म डिसहोमको च्यानल नम्बर ८ मा हेर्न सकिनेछ ।

हलमा प्रदर्शन भएको लामो समयपछि फिल्म स्याटालाइटमा आउन लागेको हो । ढकालले दसैंमा फिल्म हेर्ने दर्शकको परम्परालाई जिवन्त राख्न टिभीमै भए पनि रिलिज गर्न लागेको जानकारी गराए ।

‘दसैंमा नेपाली फिल्म हेर्ने दर्शक परम्परा रही आएको छ । यो साल महामारीका कारण नयाँ फिल्म रिलिज हुन सकेका छैनन् । दसैं खल्लो नहोस् भनेर हामीले टिभीमै भए पनि रिलिज गर्ने निर्णय गरेका हौं,’ मुस्कानले भने । दर्शकले २ सय २५मा सपरिवार फिल्म हेर्न सक्नेछन् ।

डिसहोमको प्रदर्शनपछि फिल्म म्याक्स प्लेयर र नेट टिभीमा पनि रिलिज गर्ने तयारी भइरहेको छ । मुस्कानले फिल्म तत्कालै युट्युबमा भने रिलिज नहुने जानकारी गराएका छन् ।

सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी आदि कलाकारको अभिनय रहेको फिल्म गत सालको माघ २५ मा हलमा रिलिज भएको थियो । फिल्ममा सञ्जय लामाको छायांकन र पुष्पन प्रधानको संगीत रहेको छ ।

प्रतिक्रिया