संगठनको गोप्य सूचना ‘लिक’ गरेकाे अभियोगमा सशस्त्रका हवल्दार थुनामा


काठमाडाैं – सशस्त्र प्रहरीका एक जना हवल्दार थुनामा पठाइएका छन् । उनलाई संगठनको गोप्य सूचना तथा जनशक्तिको विवरणसम्बन्धी सूचना सञ्चारमाध्यमलाई उपलब्ध गराएको आरोपमा थुनामा पठाइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २५ चण्डिका गण हे.क्वा., पर्वत दरबन्दी भई हाल सशस्त्र प्रहरी बल, नेपाल नं. ४४ गण हे.क्वा., दार्चुलामा काजमा कार्यरत का.मु. वरिष्ठ हवल्दार नरेश सिंह शाहुलाई थुनामा पठाइएको हो ।

उनीमाथि संगठनको गोप्य र संवेदनशील सूचना भाइबरलगायत सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराएको तथा संगठविरुद्ध बेनामी उजुरीसमेत हालेको आरोप थियो । उक्त आरोपको छानबिन प्रतिवेदनपछि शाहुलाई थुनामा पठाइएको हो ।

उनलाई सशस्त्र प्रहरी ऐन, २०५८ को बर्खिलाफ गरेको देखिएपछि सशस्त्र प्रहरी विषेश अदालतमा यही आसार २२ गते मुद्दा दायर गरिएको थियो । सोहीबमोजिम शाहुलाई २४ गते (आज) थुनछेकको बहसको क्रममा सशस्त्र प्रहरी विशेष अदालतको आदेशमा पछि ठहरेबमोजिम हुने गरी हाललाई पूर्पक्षका लागि थुनामा पठाइएको हो ।

आरोप प्रमाणित भएमा निजलाइ सर्वस्वसहित जन्मकैदसम्मको सजाय हुन सक्छ । संगठनको सूचना अनधिकृत रूपमा बाहिर पठाएमा हदैसम्मको कारबाही हुने सशस्त्र प्रहरी ऐनमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया