गलकोटमा हट्नेछ भुस्याहा कुकुरको समस्या


गलकोटभुस्याहा कुकुरको सङ्ख्या बढ्दै गएपछि बागलुङमा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गरिएको छ । यसका लागि दुई दिने बन्धाकरण शिविर सम्पन्न भएको छ । शिविरमा १६७ कुकुरको बन्ध्याकरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेयले जानकारी दिए । सोमध्ये बिहीबार ७९ कुकुर तथा शुक्रबार ८८ गरी जम्मा १६७ भाले तथा पोथी कुकुरको बन्ध्याकरण गरिएको छ ।

यस्तै २२८ कुकुरलाई रेविज विरुद्धको सुई लगाइएको छ । केन्द्रीय रिफरल अस्पताल काठमाडौँ एवं बागलुङ नगरपालिकाको संयुक्त पहलमा सडकमा छाडाछोडिएका कुकुर तथा घरपालुवा कुकुरलाईसमेत बन्ध्याकरणमा समावेश गरिएकोे छ । कुकुरकै टोकाइबाट कयौँ घाइते भएर पोखरा र काठमाडौँसम्म उपचार गर्न जानुपर्ने समस्या समेत हुँदै आएको छ ।

बन्ध्याकरण शिविरमा रेविज विरुद्धको खोप पनि लगाइएको थियो । वरिष्ठ पशु चिकित्सक  शङ्कर पाण्डे, अर्जुन अर्याल, विकास गिरी, खितबहादुर श्रेष्ठलगायत १० जनाको विज्ञ टोलीले शिविरमा सहजीकरण गरेका थिए ।

शिविर सञ्चालन गर्दा २०० कुकुरको बन्ध्याकरण गर्ने योजना बनाइएको पशु चिकित्सक खितबहादुर श्रेष्ठले जानकारी दिए । एउटा कुकुरले वर्षमा दुई पटक मात्रै ब्यायो भने ६ वटा एउटाले पाउछ, यस्ता कयौँ कुकुर सडकमा छन्, त्यसैले कुकुरको न्यूनीकरण भएपछि रेविज रोग पनि घट्ने भएकाले यो अभियान शुरु भएको हो । श्रेष्ठले भने, ‘बन्धयाकरणले कुकुरको सङ्ख्या तत्कालै नघटे पनि विस्तारै कम भएर जानेछन् । भुस्याहा कुकुरलाई न्यूनीकरण गर्न तथा सन् २०३०सम्म रेविज उन्मूलन गर्नका लागि बन्ध्याकरण थालिएको उनको भनाइ छ ।

यस्तै पशु चिकित्सक अर्जुन अर्यालले बन्ध्याकरण गर्दा कुकुरलाई केही समय पीडा हुने भए पनि लामो समय दुःखाइ नहुने गरी औषधि दिने गरेको बताए । उहाँले एक दिनमा ६० भन्दा बढी कुकुरको बन्ध्याकरणसमेत गरेको जानकारी दिए ।

जिल्लामा बन्ध्याकरण शिविर सञ्चालन गर्नका लागि ती निकायले  पाँच लाख विनियोजन गरेका हुन् । आफ्नो कुकुरलाई बन्ध्याकरण गराउन बागलुङ नगरपालिका१३ पैयूँपाटाबाट आउनुभएका भोलानाथ रिजालले बन्ध्याकरण शिविर राखेर राम्रो काम गरेको बताए ।

धेरै कुकुर पाल्न नसकिने र रेविज विरुद्धको खोप लगाउने भएकाले आफूले कुकुर लिएर आएको उनले बताए । यसबाट कुकुरको सङ्ख्या नियन्त्रण हुने र टोकीहाले पनि रेविज लाग्ने खतरा नरहने भएकोले शिविर महत्वपूर्ण भएको जानकारी दिए । जिल्लाका विभिन्न ग्रामीण भेगमा कुकुरले मानिस तथा पशु चौपायालाई टोकेर घाइते बनाएका घटना पनि समय समयमा आउने गरेका छन् ।

(रासस)

प्रतिक्रिया