महिलालाई नेतृत्वमा पुग्ग धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री


काठमाडौं- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले महिलालाई नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छिन् ।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा शुक्रबार उनले राजनीतिक तथा अन्य क्षेत्रमा पनि नेतृत्वमा पुग्न महिलका लागि धेरै चुनौती रहेको बताएकी हुन् ।

‘महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान छन् र यससम्बन्धी मान्यताहरु पनि विकास भएका छन्, तर पनि महिलालाई नेतृत्वमा पुग्न भने अझै धेरै चुनौती छन्’, उनले भनिन् ।

लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुले झन् धेरै समस्या झेल्नुपरिरहेको तर्क गरिन् ।

‘संसारमा महिला वर्गको राजनीतिक, सामाजिक, आर्थिक र कानूनी अवस्थाको विश्लेषण गर्दा हाल संसारमा ११ प्रतिशतभन्दा कम राष्ट्रप्रमुख र १० प्रतिशतभन्दा कम सरकारप्रमुखहरू महिला छन्’, उनले भनिन्, ‘महिलाहरू रोजगारीको ६० प्रतिशत अनौपचारिक अर्थतन्त्रमा केन्द्रित छन् र औसतमा पुरुषभन्दा तीन गुणाभन्दा बढी समय अवैतनिक सेवा र घरेलु काममा महिला रहेका छन् ।’

राणाले कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेको बताइन्। महिलाले विश्वव्यापी रूपमा पुरुषले पाएका कानुनी अधिकारको ६४ प्रतिशत मात्र अधिकार उपभोग गर्न सकेको अवस्था रहेको उनको भनाइ छ ।

उनले नेपालमा पूर्ण लैङ्गिक समानता अहिलेसम्म हासिल हुन नसकेको भए पनि महिला सहभागिता बढ्दै जानु सकारात्मक रहेको धारणाा राखिन् ।

प्रतिक्रिया