पत्रकार महासंघको अनौठो दृष्टिकोणः ‘अनलाईनखबरप्रति समूहगत टिप्पणी प्रेसमाथिको प्रहार’


काठमाडौं । नेपाल पत्रकार महांघले प्रेस स्वतन्त्रताको विषयमा आफ्नो अनौठो दृष्टिकोण आइतबार सार्वजनिक गरेको छ ।

महासंघका महासचिव रोशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजधानीबाट संचालित अनलाईन खबर डटकममा पोष्ट भएको समाचार सामग्रीलाई लिएर ‘एक समूहले’ टिका टिप्प्णी गरेको भन्दै ‘प्रेसमाथि यो प्रकारको नयाँ प्रहार’को महासंघ घोर भत्सर्नां गर्दछ भनिएको छ ।

महासचिव पुरीले समूहगत रुपमा समाचार प्रति टिका टिप्पणी हुने विषयलाई प्रेसमाथिको प्रहार भनेका छन् । स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारको सन्दर्भमा प्रकाशित समाचारलाई अनलाईप्रति भैरहेको नकारात्मक टिका टिप्पणीप्रति पुरीले भत्सर्ना गरेका हुन् ।

अनलाईन खबरले बैशाख २३ गते शुक्रबार ‘भाइरल उम्मेदवार र राष्ट्रिय झण्डाको अपमान’ शीर्षकमा समाचार प्रकाशित भएपछि काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बनेका बालेन शाहका समर्थकले आलोचना र टिप्पणी मात्र होइन, सो अनलाईन ‘अनफलो’ गरी आफ्ना नजिकलाई पनि अनफलो गर्न आग्रह गरेका थिए ।

विज्ञप्तिमा ‘अनलाईन खबरको साख घटाउन जुन प्रकारले प्रविधिको संगठित रुपमा प्रयोग गरियो त्यो कार्य निन्दनीय छ’ भनिएको छ । प्रविधिको प्रयोग गरी मिडियाको सामग्रीप्रति टिप्पणी हुने विषयलाई यसअघि महासंघले कहिल्यै पनि निन्दनिय कार्य भनी प्रतिटिप्प्णी गरेको देखिदैन ।

विज्ञप्तिमा काठमाडौं महानगरको प्रमुखका कुन स्वतन्त्र उम्मेदवारका पक्षमा कुन संगठित समूहले कस्तो कुन प्रविधिको प्रयोग गर्यो भन्ने खुलाईएको छैन ।

यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘प्रविधि नियन्त्रत पत्रकारिता’ले संकेत गरेको एउटा सन्दर्भ प्रविधिको दुरुपयोग गर्दै हुने मिडियामाथिको प्रहार पनि हो भनिए पनि स्वतन्त्र उम्मेदवारको पक्षमा देखिएका समूहबाट ‘के गरेर वा भनेर’ प्रहार गरियो उल्लेख छैन ।

विज्ञप्तिमा ‘कुनै एक व्यक्तिको स्वार्थका लागि पत्रकारिता क्षेत्रलाई दबाब दिने र हतोत्साहित बनाउने कार्य हुनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो’ भनिए पनि त्यस्तो एक ब्यक्ति को हो ?, उनको स्वार्थ के हो हो ? र के कस्तो दबाब दिएको भन्ने विषय उल्लेख छैन ।

विज्ञप्तिमा संप्रेसित समाचारप्रति चित्त नबुझे या गुनासो रहे प्रेस काउन्सिलमा उजुरी दिन सकिने प्रावधान रहेको सम्झाइएको छ । तर कुनै व्यक्तिले मिडियाको सामग्री मन नपराउँदा काउन्सिल जानु पर्छ भन्ने छैन । काउन्सिलमा उजुरी गर्ने वा नगर्ने व्यक्तिको नैसर्गिक र व्यक्तिगत स्वतन्त्रताको विषय हो ।

स्वतन्त्र सञ्चारमाध्यमको साख गिराउने कार्यप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउन महासंघले सरकारसँग माग गरेको छ ।

अब यहाँ प्रश्न उठ्छ कि – मिडियाको सामग्री मन नपर्दा मिडिया मन पराउने वा मन नपराउने त्यसको सामग्री उपभोग गर्ने वा नगर्ने नागरिकको स्वतन्त्रताप्रति सरकारले के भनेर महासंघको के माग पुरा गर्ने हो ?

संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको महासंघले व्यक्ति वा समूहको अभिव्यक्तिमाथि नै आपत्ति जनाउने नौलो अभ्यास देखाएको छ ।

पत्रकार महासंघले कुनै मिडियाको सामग्रीलाई लिएर टिप्पणी गरेको वा मिडियाको प्रयोग गर्ने वा नगर्ने भनी प्रविधिको प्रयोगबाट सार्वजनिक भएको विषयलाई लिएर विज्ञप्ति जारी भएको सम्भवत पहिलो हो ।

व्यक्ति वा समुहले प्रविधिको प्रयोग गरी अनलाईन खबरवाहेकका डिजिटल मिडियाको समग्रीप्रति वा मिडियाप्रति त्यसको प्रयोगकर्ताले टिका टिप्पणीलाई लिएर महासंघले विज्ञप्ति जारी गरेको सम्भवत यो पहिलो हो ।

मिडिया, मिडियाका सामग्री वा कुनै पनि सार्वजनिक विषयमा हरेक नेपाली नागरिकले स्वच्छ आलोचना टिप्पणी वा प्रतिक्रिया व्यक्त गर्न नेपालको संविधानले अधिकार दिएको छ ।

महासंघले अनलाईन खबरको ‘फलोअर घटेको’ विषयमा केन्द्रित भएर विज्ञप्ति जारी गरेको संकेत गरे पनि त्यस विषयमा प्रस्ट्याउन सकेको छैन । स्थानीय तहको निर्वाचनको विषयमा उम्मेदवारको समर्थक वा विरोधीले कुनै मिडियाको उपभोग गर्ने वा नगर्ने विषयमा यस्तो विज्ञप्ति आउनुको पछाडि कुनै दबाब वा प्रभाव त छैन भनेर आशंका जन्माएको छ ।

May be an image of text

 

प्रतिक्रिया