‘सेटिङ’ मा सवारी लाइसेन्स बनाउने १२ जना बिचौलिया पक्राउ


विराटनगर— सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने बहानामा सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ खार्जीस्थित यातायात कार्यालय अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

सार्वजनिक गुनासोपछि निगरानी बढाएको प्रहरीले, यातायात कार्यालय विराटनगरमा बिचौलियाहरू सक्रिय भएर लाइसेन्स प्रक्रियामा अनुचित लाभ लिइरहेको भेटेपछि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

पक्राउ परेकाहरूमा विराटनगर–३ का सञ्जीव कोइराला, राजेश खड्का, गौरव कुमार माझी, राजु कोइराला, दुहबी नगरपालिकाका युवराज लम्साल, विराटनगर–५ का अनिल बस्नेत, विराटनगर–४ का राजीव मण्डल, सुनसरीको बर्जु गाउँपालिकाका प्रवीण कुमार थान्दार, कटहरी गाउँपालिका–१ का भागवत राजवंशी, बुढिगंगा गाउँपालिका–२ का उदय कार्की, बुढिगंगा–१ का सुनिल दाहाल र विराटनगर–३ का अजय कुमार मण्डल रहेका छन् ।

प्रहरीका अनुसार, पक्राउ परेकाहरूले यातायात कार्यालयका कर्मचारी र उच्च पदस्थ अधिकारीहरूसँग चिनजान रहेको भन्दै सेवाग्राहीलाई लाइसेन्स सजिलै बनाइदिने आश्वासन दिन्थे । ट्रायल परीक्षामा गल्ती भए पनि पास गराइदिने प्रलोभन देखाई उनीहरूले रकम असुल्ने गरेको उजुरी आएपछि प्रहरी कारबाहीमा उत्रिएको हो। हाल पक्राउ परेका सबै व्यक्तिहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया