क्यानाडामा नेपाली संस्कृतिको प्रवर्द्धनमा विश्व-बिना


काठमाडौं – विश्व बर्मा र बिना बर्माले नेपाली भूमि छाडेको ३३ वर्ष पुग्यो । तर, नेपाल र नेपालीप्रतिको मोह भने झनझन् बढ्दो छ ।

काठमाडौको चाबाहिलका विश्व र सिफलका बिना कार्कीविच सन् १९८९  मा प्रेमविवाह भयो । आर्मी परिवारमा हुर्किएकी बिनालाई प्रेम विवाह गर्नु त्यति सहज भने थिएन । तर, उनको प्रेमको अघि आर्मी परिवार भित्र हुने कडिकडाउ अनुशासनले हार खायो । विश्वसँगको प्रेमलाई उनले विवाहबन्धनमा परिणत गरिछाडे ।

बिहेको दोस्रो वर्षमा बिनाको कोखबाट छोरीको जन्म भयो । छोरीको जन्मपछि भने बर्मा दम्पत्ती उच्च शिक्षा हासिल गर्न अमेरिका उडे । बर्मा दम्पत्ती छोरीसहित सन् १९९१ मा अमेरिका उडेका थिए । उच्च शिक्षा अमेरिका हासिल गरेका उनीहरु त्यहाँबाट क्यानाडा हानिए ।

६ वर्ष अमेरिका बसेका विश्व र बिना स्न १९९७ मा क्यानाडा पुगेका हुन् । अहिले क्यानाडा उनीहरु स्थायी बासी भइसकेका छन् । तर नेपाल र नेपालीप्रतिको उनको मायामा भने कुनै कमी छैन । बरु बर्मा दम्पत्तीले विदेशी भूमिमा बसेर नेपाल र नेपालीको पहिचान विश्वसामु परिचित गर्ने अभियान नै थालेका छन् ।

त्यो बाहेक क्यानाडा पुगेर समस्यामा परेका नेपालीको सेवा/उद्धारमा समेत बर्मा दम्पत्ती सक्रिय छन् । उनीहरुको क्यानाडाको टोरन्टोमा काठमाडौं नामको रेष्टुरेन्ट समेत सञ्चानलमा छ ।

टोरन्टोमा खोलिएको नेपालीको त्यो पहिलो रेष्टुरेन्ट हो । बर्मा दम्पत्तीले कयौँ नेपालीलाई क्यानाडामै रोजगारी समेत दिएका छन् ।

नेपाली संस्कृति जोगाउन एनसीसीएस

क्यानाडामा व्यावसाय शुरु गरेर बस्न थालेका बर्मा दम्पत्तीलाई व्यावसायको साथसाथै क्यानाडा पुग्ने नेपालीको सेवाका लागि एउटा संस्था खोल्ने योजना बुने ।

गैरनाफामूलक संस्था सञ्चालन गर्ने उदेश्यले उनीहरुले सन् २००० मा ‘नेपाली क्यानेडियन कमिटी सर्भिस’ एनसीसीएस नामको संस्था सञ्चालनमा ल्याए । त्यसको अध्यक्ष बने विश्व बर्मा ।

संस्थाको प्रमुख उद्देश्य क्यानाडा पुगेका नेपालीलाई सहयोग गर्ने बाहेक नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउन नेपालको धार्मिक, सांकृतिक कलालाई हरेक वर्ष क्यानाडामै प्रर्दशन गर्ने थियो । सोही अठोटले सुरु गरेको सस्थाले पहिलो पटक सन् २००५ मा ‘हिमालय मेला’ आयोजना ग¥यो ।

क्यानाडाको टोरन्टोमै आयोजना गरिएको हिमालय मेलामा नेपालको पहिचान झल्किने संस्कृति तथा पर्व मनाइएको थियो । २००५ देखि निरन्तर क्यानाडामै मनाईदै आइएको हिमालय मेलाको १६ औं सस्करण यही शनिबार २६ साउन अर्थात अगस्त १० मा मनाइने भएको छ ।

१६ औं हिमालय मेलाका लागि नेपालबाट चर्चित गायीका अन्जु पन्तदेखि तिलक मल्लसमेत सहभागी हुन क्यानाडा जाँदैछन् ।

मेलामा नेपालको महिचान झल्किने सास्कृतिक झाँकीदेखि विभिन्न तस्बीरहरु प्रर्दशनमा राखिने छन् । हिमालय मेलाले नेपालको पर्यटन प्रर्वद्धनको साथै कला संस्कृतिलाई अन्तराष्ट्रिय बजारमा प्रचार गर्न ठूलो भूमिका खेल्ने अध्यक्ष विश्व बर्माले बताए ।

१६औं हिमालय मेलामा क्यानाडामा बसोबास गर्ने नेपाली समूदाय तथा विभिन्न क्षेत्रबाट हजारौं नेपालीको उपस्थिति रहने बर्माको भनाइ छ ।

प्रतिक्रिया