

कांग्रेस नेतृ आरजुद्वारा भूमिहीनलाई धनी पुर्जा वितरण

कैलाली – कैलालीमा भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कैलालीको धनगढी उपमहानगरपालिका–९ का १९ भूमिहीन दलितलाई आज (शुक्रबार) जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरेकी हुन्।
सो अवसरमा नेतृ राणाले कांग्रेसले भूमिहीन परिवारलाई बसोबासका लागि जग्गा उपलब्ध गराउने बताइन्। पहिलो चरणमा भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको उनले जानकारी दिइन्।
राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले लामो समयदेखि रोकिएको जग्गाधनी दर्ता प्रमाणपत्र वितरण सुरु भएको बताए। धनगढी–९ का १९ घरपरिवारबाट पुर्जा वितरण थालिएको र चाँडै अन्य वडामा पनि वितरण हुने बताए।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्टलगायतको उपस्थिति थियो।

