
एउटालाई कमजोर देखाएर आफू बलियो हुन खोज्ने संस्कृति नै कांग्रेसको भाइरस होः काफ्ले
काठमाडौं — नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले एक कांग्रेसीले अर्को कांग्रेसीलाई होचो देखाएर आफू अग्लो हुनखोज्ने प्रवृत्तिले पार्टी कमजोर भएको टिप्पणी गरेका छन् ।
राजधानीमा शुक्रबारदेखि सुरु भएको संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै काफ्लेले सभापति गगन थापालाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘पहिला मेचीको कांग्रेसलाई दुख्दा महाकालीको कांग्रेसलाई दुख्थ्यो । त्यसैले कांग्रेस बलियो थियो,’ उनले भने, ‘आज एक कांग्रेसलाई पर्दा अर्को कांग्रेसले खुच्चिङ गर्ने संस्कृतिको विकास भएको छ । यो कसले गर्यो ?’ कांग्रेसले यसको चिन्तन गर्नुपर्ने बेला आएको उनले बताए ।
अहिले एउटा कांग्रेसलाई होचो देखाएर अर्को अग्लो हुनखोज्ने प्रवृत्ति रहेको पनि उनले बताए । ‘एउटालाई कमजोर देखाएर आफू बलियो हुनखोज्ने संस्कृति अहिले कांग्रेसको भाइरस हो । त्यो भाइरस १५ औं महाधिवेशनमा ठेगान लगाउनुपर्ने बेला छ,’ उनले भने ।



कागजपत्र |
